site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजीकरणका बेलाको दुःख– कम्युनिष्टले उदार नीति मन पराउँदैन थिए (भाग १)

२०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो निर्वाचित सरकारमा म अर्थ मन्त्रालयको जिम्मेवारीमा पुगेको थिएँ, सिंगो ‘पोर्टफोलियो’ अर्थ राज्यमन्त्रीको हैसियतमा । नयाँ राजनीतिक परिस्थितिमा फरक किसिमकै माहोल थियो । निर्दलीय व्यवस्थाबाट बहुदलीय व्यवस्थामा प्रवेश गरेका थियौं । 

नियन्त्रित राज्य पद्धतिबाट उदारवादी लोकतान्त्रिक पद्धतिमा मुलुक अघि बढेको हुँदा त्यसमा संशय गर्ने दक्षिणपन्थी र कम्युनिष्टहरू थिए । निर्वाचित सरकारले बजेट प्रस्तुत गर्दै गर्दा राजदरबारको बजेट काटिन्छ कि भन्ने लागेको रहेछ । त्यतिखेर दरबार स्वयम् अन्योलकै परिस्थितिमा थियो । ‘के हुन्छ ?’ भन्ने शंका देखिन्थ्यो ।

दरबारका निम्ति एक किसिमको परम्परागत तवरमै बजेट छुट्टिएको थियो ।  म अर्थ राज्यमन्त्री हुँदा शशिनारायण शाहजी अर्थसचिव हुनुहुन्थ्यो । उहाँ सक्षम र योग्य व्यक्ति हुनुहुन्थ्यो । उहाँसँगै दरबारका सचिवले सम्पर्क गर्थे र उहाँ पनि सम्पर्क राख्नुहुन्थ्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थ राज्यमन्त्री हुँदा मैले दरबारबाट त्यस्तो दबाब झेलेको वा भोगेको अनुभव भएन । दरबारबाट मलाई सोझै कसैले केही भन्दैनथें । दरबारले परम्परागत प्राप्त गर्दै आएको बजेटमा हामीले धेरै चलाएनौँ ।  संसद्मा बजेट प्रस्तुत गर्नुअघि ‘महाराजधिराज’सामु ‘हाइलाइट’ सुनाउने प्रचलन थियो । मसँग सचिवले भन्नुहुन्थ्यो, ‘मन्त्रीज्यूले महाराजधिराजमा यो–यो विषय यसरी भनिदिनुभयो भने अलिकति प्रष्ट हुन्छ ।’

राजदरबारका निम्ति २०४८ मा अघिल्लो वर्षभन्दा ६० लाख रुपैयाँ बढी नै रकम विनियोजन गरिएको थियो । अरु सुविधाका कुरा बेला बेलामा आउँथे । जस्तो गाडी सुविधाका कुरा आउँथ्यो । गाडीको सन्दर्भमा, महाराजधिराज सरकारको खर्च एउटा सीमा तय गर्दै वृद्धि गर्ने र शाही परिवारका सदस्यका हकमा विस्तारै कटाउँदै लगिएको थियो ।

त्यति धेरै अनुचित तवरमै बजेट बढाउन दबाब दिएको अनुभव मसँग छैन । त्यो त्यतिबेला परिवर्तित माहोलका कारण पनि हुन सक्छ ।

वीरेन्द्रको चासो
राजा वीरेन्द्रसँग भएको के कुरा स्मरणमा छ भने त्यतिबेला विदेशी मुद्राका हकमा द्वैध व्यवस्था थियो । एउटा राष्ट्र बैंकले तोक्थ्यो भने बजारमा अर्को दर थियो । हामीले बिस्तारै यो हट्नुपर्छ भनी ‘करेन्ट अकाउन्ट’मा ‘कन्भर्ट’ गर्‍यौं भनेका थियौं ।

त्यसरी ‘करेन्ट अकाउन्ट’मा ‘कन्भर्ट’ हुँदा राजालाई पनि अलिकति आशंका रहेछ । उद्योग धन्दा फराकिलो र उदार बनाउन निजी क्षेत्रले अझ निर्धक्क भएर उनीहरुलाई उपलब्ध हुने विदेशी मुद्रा पनि सजिलै होस् भन्ने चाहन्थ्यौँ ।

बाहिर यो विषयमा निकै टीकाटिप्पणी भएपछि राजालाई लागेको रहेछ, ‘अब के हुन्छ ?’ मैले राजा वीरेन्द्रँग भने– ‘‘यसबाट दोहोरो नीति हट्ने हो । हामी विस्तारै उदारीकरणको पक्षमा जाँदैछौँ । अर्थतन्त्रको आकार बढ्दै जान्छ । त्यसका लागि चाहिने विदेशी मुद्राको उपयोग, सञ्चिति र संग्रह पनि बढ्दै जान्छ । त्यसैले करेन्ट अकाउन्टमा कन्भर्ट गर्ने कोसिस भएको हो ।’’

नयाँ नीतिप्रति राजालाई आश्वस्त पार्दै भनेको थिएँ, ‘‘यसले ‘सिंगल डिजिट’मा मूल्यवृद्धि हुन्छ । करको दर घटाइरहेका छौँ । उद्योग, व्यापार बढेर जान्छ । रोजगारी बढ्नेछ । विदेशी मुद्रा आर्जन गर्ने नयाँ स्रोत पनि खुल्छ । विदेशी लगानी बढ्यो बढ्यो भने पनि विदेशी मुद्रा भित्रिन्छ । हाम्रो आर्थिक गतिविधि बढ्दैछ । हाम्रो विश्वसनीयता, अन्तर्राष्ट्रिय जगत र दातृ समुदायमा बढ्यो भने पनि हामीले प्राप्त गर्ने अनुदान र ऋण सहयोगको मात्रा पनि बढ्छ ।’’

अन्तर्राष्ट्रिय समुदायको सहयोग नेपालमा बढ्दैछ ।  देशभित्रका उद्यमी व्यवसायीले लगानी बढाए भने विदेशी लगानीकर्ता पनि आउँछन् भन्ने तथ्य÷तथ्यांक सुनाएपछि राजा ‘कन्भिन्स’ भएका थिए । कुनै विषयमा सार्वजनिक तहमा आएका सवालमा राजाको प्रश्न आउँथ्यो ।

त्यो निर्णय हुँदा कम्युनिष्टहरुले पनि मेरो धेरै उधुम आलोचना गरे । उनीहरुले यतिसम्म आरोप लगाए, ‘महेश आचार्यले मुलुकलाई टाट पल्टाउने भयो ?’

तर, मुलुकको हित र अर्थतन्त्रलाई चलाएमान तुल्याउन लिइएको नीतिमा तल–माथि गर्ने अवस्था थिएन ।  मैले अडानमा कुनै फेरबदल गरिनँ । नयाँ नीतिले विदेशी मुद्राको सञ्चिति बढेर आउँछ भन्ने विश्वास थियो । हुन पनि त्यसै भयो ।

हाम्रो आर्थिक क्षेत्रमा नीतिगत सुधारका प्रक्रियालाई तीव्रता दिने र गतिशील बनाउने योजना थियो । हामीले उद्योग धन्दा, व्यापार व्यवसाय सबै क्षेत्रमा आर्थिक गतिविधिलाई तीव्रता प्रदान गर्ने प्रयोजनका निम्ति काम गरेका थियौं । 

प्रशासन संयन्त्रलाई पनि व्यवसायीमैत्री बनाउने हाम्रो अभियान थियो । अर्थतन्त्र त धेरै ‘एक्टर’ले गतिशील तुल्याउने हो । त्यसमा सरकार त एउटा ‘एक्टर’ मात्रै हो भन्ने मान्यताले काम गरेको थियो ।  हाम्रो मान्यता थियो, ‘निजी क्षेत्रको उद्यमशीलता उपयोग नगरीकन मुलुकको आर्थिक विकासको गति तीव्र हुन सक्दैन । नियोजित र नियन्त्रित अर्थ व्यवस्थाबाट मुुलुकले काँचुली फेर्न सक्दैन ।’

सरकारले मात्रै चाहेर गर्छु भन्न सक्ने अवस्था थिएन र हुँदैन पनि । सरकारले निजी क्षेत्रमा भएका पुँजी, स्रोत र जनशक्ति  उपयोग गर्दा मात्र प्रगति गर्न सक्ने ठान्यो । निजी क्षेत्रमा प्रविधिमा पुँजीको प्रयोग गर्न सक्ने सम्भावना हुन्छ । त्यसलाई उपयोग गर्ने अनुकूल नीतिगत परिस्थिति बनाइएको हो ।

सरकारले नीति र कानुन बनाएरमात्रै पुग्दैन । नीतिले उत्साह सिर्जना गर्नुपर्छ । नीतिलाई सहयोगी हुने कानुन र संवैधानिक प्रबन्ध बलियो भयो भने विश्वास सिर्जना गर्छ । यो नीति र कानुनलाई कार्यान्वयन गर्ने प्रशासन संयन्त्र सहज भयो भने अनि मात्रै लगानी गर्न आउँछन् । निजी क्षेत्रको स्रोत, जनशक्ति र प्रविधि प्रयोगको सीमालाई झ्वाट्टै विस्तार गरेर लिएर जान्छ ।

गैरसरकारी क्षेत्रमा काम गर्ने संस्थाहरु पनि अनुकूल ढंगले आउँछन् ।  यो चाहिँ वस्तुनिष्ठ कानुनी, नीतिगत, संवैधानिक, प्रशासनिक कुरा सँगसँगै मनोवैज्ञानिक पाटो पनि छ । लगानी गर्न लगानीकर्तालाई विश्वास पनि हुनुपर्छ । सरकारले गर्ने भनेको लगानी सुरक्षित गर्नु र प्रतिफल प्राप्त गर्नु हो । 

तिनलाई थप लगानी गरी थप आर्जन गर्न सक्छु माहौल सिर्जना गर्नु पनि हो ।  जबसम्म मैले कमाएको सम्पत्ति राज्यले हरण गर्दैन भन्ने माहोल बनेमा मात्रै लगानी बढ्छ । अस्वाभाविक ढंगले कर थोपरिँदैन भन्ने विश्वास दिलाउनैपर्छ ।

हामीले त्यो बेलामा करको दर पनि घटाउँदै लगेका थियौँ । त्यसकारण त्यसबेला संसद्मा भन्न र बोल्न मलाई सजिलो भयो ।

निजीकरणमा कम्युनिष्ट तर्क

निजीकरणका सवालमा कम्युनिष्टहरुले जहिले पनि आफ्नो ‘क्लासिकल पोजिसन’ लिइहाल्थे । कम्युनिष्टहरु राज्य नियन्त्रित परम्परागत सिद्धान्तमा विश्वास गर्ने हुँदा उदार नीतिलाई मन पराउँदैन थिए । उनीहरु भन्थे, ‘सबै संस्थान, उद्योगधन्दा बेच्ने हुनुभयो । टाट पल्टिने भयो देश । अब रोजगारी शून्य हुन्छ ।’

सरकारी संस्थानहरु स्थिति नाजुक थियो । तिनीहरु घाटामा सञ्चालित थिए । तिनले उद्देश्यअनुरुप जनतालाई न त राहत दिएका थिए, न त मुलुकको विकास प्रक्रियामा सारथी नै बनेका थिए । उल्टै ती संस्थान चलाउन सरकारको ठूलो धनराशि खर्च भइरहेको थियो ।

घाटामा सञ्चालित संस्थानका निम्ति राज्यले कतिन्जेल बेहोर्ने सवाल थियो । सरकारले तिनलाई अनुदान उपलब्ध नगराएको खण्डमा चल्नै नसक्ने तथ्य/तथ्यांक सरकारसामु थियो । संस्थानहरुको त्यस्तो दुरावस्था भएको हुँदा सरकारी लगानीको अनुपातमा प्रतिफल ०.१ प्रतिशतको हाराहारीमा थियो ।

अर्थात् सार्वजनिक संस्थानमा जति लगानी भएको थियो, त्यसबाट आम्दानी नगन्य मात्रै थियो भन्ने तथ्यांकले प्रमाणित गर्छ । चरम घाटामा रहेका संस्थानहरु सरकारका लागि एउटा बोझ बन्दै बनेको अवस्था थियो ।

जसरी संस्थानहरु नाफामा थिए र कौडीका भाउमा बेचियो भन्ने ‘भाष्य’ सिर्जना गरियो, तिनले त्यतिखेरको तथ्य/तथ्यांक अध्ययन गरे हुन्छ । के/कति घाटामा थिए भन्ने तथ्यांक महालेखा परीक्षकै प्रतिवेदन अध्ययन गर्दा पनि हुन्छ ।

बाहिर एउटा माहोल बनेपछि बजेटका बेलामा तिनैमा आधारित हुँदै राजा वीरेन्द्रले बेलाबखत सोध्थे । राजा वीरेन्द्र आफैँ अलिकति विषयवस्तु अध्ययन गरेर, प्रश्नहरु तयार गरेर सोध्न सोध्थे ।  निजीकरणका दरबारको चासो त हुने नै भयो । तर, मलाई यो गर्नुहुँदैन भन्ने दबाब आएन । 

कांग्रेसको ०४८ सालको घोषणापत्र हेर्दा पनि समाजवादको परम्परागत व्याख्या छ त्योभन्दा पृथक गएर राज्यलाई अलिकति बलियो बनाउने नीति लिएका हौं ।

दोस्रो चाहिँ निजी क्षेत्रलाई उत्त्साहित गरी तिनैलाई ‘ग्रोथ इन्जिन’ बनाएर आर्थिक विकासको बाटोमा लैजानुपर्ने अवस्था थियो । त्यसमा पत्यार दिलाउन निजी क्षेत्र र अन्तर्राष्ट्रिय जगतलाई एउटा ठूलो सुधारको प्रयोग नेपालमा हुँदैछ भन्ने देखाउन पनि गर्न जरुरी थियो ।

पहिलो बजेट घोषणा गरिसकेपछि जे दबाब आयो, त्यो विश्व परिस्थिति नबुझेकाहरुबाट आयो । यो गर्नुहुँदैन भन्ने थियो । यसो गर्नुहुँदैन भन्ने परम्परागत शैली थियो ।  एमाले नेतृत्वको जस्तो संरचना थियो, त्यो पार्टीभित्र भरतमोहन अधिकारी अर्थतन्त्रको नेता हुनुहुन्थ्यो । एमालेका धेरै नेतालाई यस विषयमा थाहा थिएन । 

उहाँहरुले राजनीतिक रुपमा प्रतिक्रिया जनाउनुभएको हो । अर्को चाहिँ कांग्रेसमाथि निर्मम प्रहार गरिहाल्नुपर्छ भन्ने मनोविज्ञानमा एमाले थियो । 

एमालेले पहिलो निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई त ३० दिनभित्रै ढाल्छु भन्ने सार्वजनिक चुनौती दिएको थियो । सरकारले लिएका नयाँ आर्थिक नीतिसँगै कांग्रेस ‘लोकप्रिय पार्टी’ बन्छ भन्ने भयमा उनीहरू देखिन्थे । 

उनीहरुले सकेसम्म सरकारलाई काम गर्न नदिने अवस्था पनि सिर्जना नगरेका होइनन् । एमालेको आक्रामकता त्यो ढंगको थियो । उहाँहरुको आक्रोश बजेट र आर्थिक नीतिमाथि निर्मम तरिकाले आयो । तर, त्यसले मलाई फाइदा पनि भयो । 

एमालेका साथीहरुले मलाई रोष्टममा धेरै उभ्याउनुभयो । मैले पनि बोल्ने मौका पाएपछि बोलेँ । मैले त्यसपछि संसदीय अभ्यास पनि बुझेँ । पहिलो प्रश्नमा धेरै आक्रामक म हुँदिनथिए, छोटो र नरम जवाफ दिँदै कुरा टुंग्याउँथे । दोस्रोपल्ट मलाई फेरि पूरक प्रश्न सोध्नुहुन्थ्यो, त्यसपछि उहाँहरुले प्रश्न गर्ने अवसर पाउनु हुँदैनथ्यो । दोस्रो जवाफमा मैले धेरै कुरा भन्थेँ ।

राष्ट्रिय सभामा पनि ‘कन्जरभेटिभ’ सांसदहरु हुनुहुन्थ्यो । कतिपय प्राध्यापक पनि हुनुहुन्थ्यो । हामीलाई पढाउँदै आउनुभएका व्यक्ति हुनुहुन्थ्यो । तर उहाँहरुले पढाएकै शास्त्रीय सवालहरु मात्रै केन्द्रित हुनुहुन्थ्यो । विश्वव्यापी परिवर्तनका लहरसँग उहाँहरु भिज्नु भएकै थिएन ।

त्यसो त, पञ्चायतकालमै विश्व बैंक र आईएमएफसँग ऋण सम्झौता गरेर ‘स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम’ लागू भइसकेको थियो । 

बाँकी अर्को भागमा....


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro