एउटा कथाको खोजीमा छ ऊ । एउटा यस्तो कथा जसले उसलाई नेपाली कथासाहित्यमा चिरस्मरणीय बनाइदेओस् । तर, त्यस्तो भइरहेको छैन । त्यस्तो घटना वा पात्र वा प्लट उसले फेला पारिरहेको छैन । सेकेन्ड क्लासको कथाकार भएर रहेको छ ।
ऊ पात्रलाई बढी जोड दिएर लेख्छ । उसको सोच यही छ– कथा बिनापात्र अघि बढ्दैन । पात्रहरू कहाँबाट खोज्ने ? सही पात्रहरू चाहिए । उसमाथि संवाद पनि आवश्यक छ । मूकपात्रहरूको जमघट कथा हुन सक्दैन ।
पात्रहरूको संकट भइराखेको समय घरमा झगडा चलिरहन्छ । घरमै पनि पात्र छन् । कथाकारसहित यी पात्रहरूमा पैसाको अभाव भइरहन्छ । कथा लेखनले खान पाइँदैन भन्ने घरकाले बुझेका छन् ।
घरको मुलीको दायित्व बोकेकोले कथा मात्रै लेख्ने, त्यसबाट उत्पत्ति केही गर्न सकेको हैन । न नाम कमाएको छ न नगद । घरमा पनि पोज दिएर बसेको हुन्छ, केके न जानेको छु भन्ने भएर ।
नाम चलेकाले कसैले खोज्दै आएको पनि होइन– फलानो कथाकार बस्ने घर यही हो ? निजी घर पनि छैन । पत्नीको दाइ अमेरिका जाने भएपछि घर कुरुवाका रूपमा घरमा राखिछाडेका छन् । घरभाडा तिर्नु पर्दैन, त्यत्ति फाइदा छ ।
घर ठूलै छ भन्ने पनि होइन, ठिक्कको छ । तर, घरको हेरचाह छ । घर जिम्मा लगाएर गएका छन् । भत्कियो, बिग्रियो र फोहोर भयो भने ? बिहानैदेखि सरसफाइ गर, बढारकुँढार, हप्ताको दुईचोटि पोछा लगाऊ र माकुराका जाला सफा गर्दागर्दा पत्नी थकित भएकी छ ।
हैरान हुने बानी पनि छ पत्नीको । छोराछोरीकी आमा, जिउ फतक्क गल्यो भन्छे । चिन्ता छ । चिन्ताले खान रुच्दैन भन्छे । गनगन बढी छ । एक्लै फतफताएर काम अगि सारिरहेकी हुन्छे । अल्छी पनि लाग्दो हो ।
‘अर्काको घरको स्याहार गर्दागर्दा जिन्दगी जाने भो । आफ्नो कहिले हुने हो कुन्नि ?,’ आफ्नो चिन्तनात्मक प्रश्नलाई ओजन दिन बिर्को लगाएर भन्छे, ‘यस जुनिमा त हुने होइन ।’
उसको सधैँको गुनासो यही छ । बच्चाहरू स्कुल गइसकेका छन् र केही राहत छ । राहत यस मानेमा, बच्चाहरू आमाको फतफत सुनेर होमवर्क गर्दागर्दै घोप्टो परेर हाँसिरहेका छैनन् । कहिले ती पनि गम्भीर हुन्छन् । सोध्न थाल्छन्, ‘आमा, आफ्नो घर भनेको कस्तो हुन्छ ?’
पत्नीले उसैलाई सुनाएर भनेकी हो– आफ्नो घर कहिले हुने हो । घर उसको कल्पनामा छैन । संसार एउटा नाट्यशाला हो । दर्शक आउँछन्, जान्छन् र नाटकमा खेल्ने पात्रहरू पनि फेरिइन्छन् मात्र होइन, नाटकै फेरिन्छ । त घरको के चाहना ?
तर, पत्नीका झटाराहरूलाई ऊ खेर जान दिँदैन । तिनले उसका लागि संवादको काम दिएका छन् । पत्नीका धेरै मौलिक संवाद उसले कतिपय कथामा प्रयुक्त गरेको छ । ती सबै संवाद पत्नीका देन हुन् । तर, तिनका बारे उसले कतै पनि उल्लेख गरेको छैन ।
पत्नीका तिताटर्रा यथार्थवादी कथनलाई उसले नोट गर्ने गरेको छ । त्यस्तो नोटले कथाको लाइन वा थिम पनि बनाइदिने गरेको हुन्छ । मतलब पत्नीको चारित्रिक प्रभावले उसका कथामा पारिवारिक दुःखका दृश्य र कथोपकथन धेरै आउने गरेका हुन्छन् । बाध्यता छ ।
ऊ यस्तो खालको पात्र हो, जसका बारे ऊ आफैँले कथा लेख्ने गरेको छ । पात्र पाइँदैन । छरछिमेककालाई पात्र खडा गरेर तिनका बारेमा लेख्ने हो भने अनुमानकै भरमा लेख्नुपर्ने हुन्छ ।
ती छिमेकीले उसलाई कहिल्यै निम्त्याएर एक छाक खाना खुवाएका छैनन् । उसले खुवाउने कुरो भएन । सामर्थ्य छैन । आर्थिक अभावको यस्तो चेपान्त छ, जसले गर्दा ऊ सधैँ समाजबाट एक्लिएको छ । त्यसैले सम्पर्कहीनताको संकट छ र पात्रको नितान्त अभाव ऊ बेहोरिरहेछ । आफैँलाई कति रिपिट गर्ने ? कथाहरू पट्यारलाग्दा हुने डर छ ।
स्थितिबाट उन्मुक्तिका लागि कथाबारे ऊ अहिले शास्त्रीय विवेचनामा लागेको छ । कतिकति बेला जब कथा अघि बढ्न मान्दैन, पात्रको संकट, संवादको अभाव खेप्नुपर्दा ऊ कथालाई शास्त्रीय हतियार लिएर खेदाउने गर्छ । आफ्नो अक्षमताप्रति ध्यान हटाउन शास्त्रीय हतियार राम्रो निहुँ हुने गर्छ ।
तर, ऊ त कथा लेखक हो, कथा सामालोचक त होइन । कथाले पनि यो जानेको हुन्छ । बेलाबेला ऊ र कथाबीच द्वन्द्व चलेको हुन्छ । कथा लेखिरहेछ, तर कथा कथा हुन मानिरहेको हुन्न ।
त्यस्तो बेला ऊ कथालाई शास्त्रीयताले घोच्न थाल्छ । शास्त्रीय पक्षले सोच्न थालेपछि पनि कथा कत्ति पनि अघि बढ्दैन । थचक्क बसिदिन्छ । जति पुच्छर निमोठे पनि कथा जुरुकक उठेर हिँड्न मन गरिरहेको हुन्न ।
उसको दिक्दारी यही छ ।
तर, अहिले कथा बनिरहेको छैन । उसले पत्नीलाई हप्काएर भन्न पनि सकिरहेको छैन– ए, एकछिन चुप लाग त, याँ लेख्न डिस्टर्ब भइरहेछ !
डिस्टर्ब भइरहेछ भन्न ऊ सक्दैन, किनभने ऊ स्वयम् एउटा डिस्टर्ब हो । कसैले कुनै दिन यस्तो भनोस्, ‘डिस्टर्ब तपाईं नै हो । जतिखेर हेर लेख्न बसेको छु भन्ने । त्यसले के गर्छ ?’
उनीहरूको आरोप अधुरै रहन्छ, भाषिक अक्षमताले हो वा धेरै कडा बोल्न मनले नदिएर हो । कडा बोल्न निषेध गर्ने तत्त्व यो पनि थियो, ऊ घरको मुली हो । भलै, केही उँभो लाग्ने काम गर्नतिर सोच बनाउन सकेको छैन ।
उही एउटा कथा लेखनलाई घोटेको घोट्यै छ । कुनै एउटा कथा पनि पर्याप्त आम्दानी गर्ने खालको छैन । कममा पनि केटाकेटीहरूको एक महिनाको फिस तिर्न सकोस् एउट त्यस्तो कथाले ।
उसको ध्यान अहिले त्यता छैन । मासिक जति पारिश्रमिक आउँछ, त्यो सबै उसले पत्नीको हातमा राखिदिने गरेको छ । पत्नी यसैमा सीमित छे, दंग छे । कममा लोग्नेले बेइमानी त गरेको छैन । पाएको तलब खुरुक्क उसको हातमा सग्लै राखिदिने गरेको छ ।
यसले पत्नी ऊप्रति कृतज्ञ पनि हुन्छे, पैसा हातमा परेपछि उडाउँदै हिँड्ने स्वभावको पनि छैन । ढुक्क पनि छे, आजीवन उसले यो क्रम निर्वाह गर्नेछ । मात्र एउटा बानी यही खराब भनूँ कि असल लोग्नेको छ, कथा लेख्ने । अरू केही लेखेको देखिँदैन । लेखेको नदेखिएको मात्र होइन, उसको कुनै कदर पनि छैन ।
कथा त ऊ लेख्छ र लेखि पनि रहेछ । कथा भन्नु कथा मात्र त होइन, केही हुनुपर्यो त्यसमा । चिन्ता यो हुन्छ– कथा कसरी बनाउने ? बनाएर कथा कसरी बन्छ ! कथा त भन्ने हो । कथा भन्ने त्यही कलालाई लेखेर देखाउनु पनि छ ।
उत्साहप्रद कुरो यो थियो, भर्खरै एउटा कथा प्रकाशित भयो । केके न मैदान मारेझैँ ऊ उत्साहित छ । अर्को लेखेर पठाउनु छ । हातमा कलम छ । समय पनि छ । बिजुलीको लाइन पनि रेगुलर छ । उज्यालो छ । तर, कथा छैन ।
प्लटको खोजी छ । प्लट यही हो, कथा नपाएपछि भन्न सकिन्छ– प्लटको खोजी नै कथा हो । हातमा त छैन कथा, उसै लेखेर पठाउनु पनि भएन । छाप्नेले पनि के छाप्नु ? लेखेकै स्वादिलो छैन । खल्लोखल्लो कथा लेखेर कथाकार हुँ भन्ने भ्रम दिनु भएन ।
उसलाई यो मानिस अवसरवादी पनि हो भन्छन्, फलानाफलानाले । नाम बताइरहनु उचित छैन । भरे गाली खान सकिन्छ । यो कथाकारले कहिल्यै कतै कसैसँग संवाद गरेको देखिँदैन । सधैँ लुकेर बसेजस्तो लाग्छ । भूमिगत । बसोबास पनि कता छ कुन्नि ? मानिसहरू सहजै उसलाई चिन्दैनन् । लेखनमा केही गुणात्मकता भए पो चिनिन पनि मन लाग्छ ।
मुख्य कुरो त यसका कथा कुनै पनि तिक्खर छैनन् । अहिले पनि कथाको खोजीमा छु भनेर कथा लेख्ने ठगी गर्दै छ । कथा लेख्दै छु भनेर घरलाई पनि ठग्छ । कामचोर । यस्तै लाग्छ । कथा छैन भने कथा लेख्दै छु भनेर किन घोषणा गर्दै छ ? सोध्नु पनि व्यर्थ छ ।
उसलाई चिन्नेहरूका दृष्टिमा उसको खासै महत्त्व छैन, उसको त थिएन थिएन, तर उसको लेखनको पनि । लेखन भन्नाले कथा लेखनमा । कसरी भन्ने कथा लेख्छ फलानो कथाकार भनेर ?
भनिरहेछ, ‘कथा भन्नु त हो, माने भन्ने कौशल भए पुग्छ कथाका लागि ।’ यस्तो भान दिइरहेछ, बहुतै ठूलो प्रभावकारी कथा लेखिरहेछ, लेख्न गइरहेछ । एउटा भुत्लो पनि लेख्ने होइन । तैपनि, छाप्नेले छापिरहेछन् ।
नछापेर पनि के गर्नु ? अरूले यत्ति पनि लेख्दैनन् । कोहीकोही सम्पादक झोक्किन्छन्– अनर्गल नलेख्नूस् । लेखेपछि याँ नपठाउनूस् ।
मानिसहरू भन्छन्– मानिसहरू कति नै छन् यसलाई चिन्ने ! तैपनि, मानिसहरू औँला भाँच्दा नपुुग्ने गन्तीका मानिस भए पनि ! ती मानिसहरू भन्नु पाठकहरू के, जो नियमित साहित्य पढ्छन् र कथा पनि पढ्छन् । पाठक त यसका छँदै छैनन् भने पनि हुन्छ । टोलमा पनि यसलाई चिन्ने खासै कोही छैन ।
यसलाई सहयोग गर्ने भन्नु एक यसकी श्रीमती छ, जसलाई कथा भनेको ‘उहिले एउटा राजा थियो जो सधैँ सिकार खेल्न जंगल गइरहन्थ्यो’ बाहेक अरू थाहा छैन ।
उसलाई श्रीमती सहयोग गर्छे, दाल–भात–तरकारी निष्ठासाथ मिठो बनाएर खान दिन्थी । त्यसमाथि यसको चाल हेर्र्नोस्, श्रीमतीलाई ‘म कथा लेख्छु’ भन्छ र ठूलो मान्छे बन्छ । त्यै आधारमा कसरीकसरी श्रीमतीलाई भान हुन्छ– यो एक अधकल्चो साहित्यकार हो । साहित्यकार माने लेख्ने ।
मेरो लोग्नेले केही लेख्छ । श्रीमतीलाई यो थाहा छ, उसको लोग्नेले केही त लेख्ने गर्छ, जुन फिरादपत्र होइन । न निवेदन वा उजुरी । केही त हो, जुन कागजमाथि कलम कोरिरहने गर्दा हुन्छ । लेखन ।
कविता भनेकोे अलिअलि बुझेकी छ र उसले कहिलेकाहीँ उद्धरणमा सस्वर गाइदिने गर्छे, ‘यी त दुष्ट पो हुन् रघुनाथ ।...’ उसको लोग्नेलाई यो थाहा छ, यो एउटा पंक्ति आदिकवि भानुभक्तको हो, जुन उसकी श्रीमतीको उद्धरणमा अलि अपुरो र भ्रष्ट छ ।
सानैमा घोकेको कुरो घरधन्दा र केटाकेटीको स्याहारसुसारले खाइदिएको छ । त सोझो अर्थमा यो भन्न सकिन्छ– उसकी श्रीमती सोझी र लाटी हो । लोग्नेप्रति श्रद्धा राख्छे ।
श्रीमतीको ऊसँग गज्जबको लगाव छ । उसले नखाएसम्म श्रीमती खाँदै खाँदिन । पतिव्रता भन्न त सकिन्छ, तर ऊ जसले श्रीमतीलाई आफूले के लेखेँ के छापियो भन्ने कहिल्यै खुलासा गर्दैन । त्यस्ताका लागि श्रीमतीले पतिव्रताधर्म निर्वाह गर्नु खासै अर्थ लाग्दैन ।
ऊ श्रीमतीलाई भन्थ्यो, ‘म तिमीलाई अगाध माया गर्छु ।’ ऊ लट्ठ पर्थी । उसको धारणामा मायाभन्दा अर्को ठूलो कुरो संसारमा केही छैन । श्रीमतीको अरू कोही यस संसारमा बचेका थिएनन् । सबै दिवंगत भइसकेका थिए ।
त्यसैले श्रीमती मौका पाउनासाथ ऊसँग यसरी नजिकिएर बस्थी, लहराले ठूलै वृक्षलाई बेरेझैँ । ऊ यसमा अपार सन्तुष्टि लिन्थ्यो । भन्थ्यो, ‘तिम्रा पनि कोही छैैनन् र मेरा पनि ।’
अर्को, उसले मनमै राख्ने कुरा यो थियो, ‘हाम्रो मरण सँगसँगै होस् ।’ यो वाक्य उसले सस्वर प्रकटमा भन्दैनथ्यो । यस्तो वचन सुनी भने उसकी श्रीमती पहिले त धरधरी रुन थाल्थी । केही बेर बलिन्द्रधारा आँसु झारेपछि एक्कासि भन्ने गर्थी, ‘पहिले म जान्छु । तिमीभन्दा पहिले म ।’
यो कथा हुन सक्थ्यो ती दुईको पठनीय । तर, ऊ यो लेखेर आफ्नो पारिवारिक पर्दाफास गर्न चाहँदैनथ्यो । त्यस्तो लेखेमा पाठकलाई ब्ल्याकमेलिङ गरेको ठहरिन पनि सक्थ्यो । त्यसैले त्यो विषय अलिखित कथा रहोस् ।
यद्यपि, श्रीमान् श्रीमतीको प्रेमकथा जसको पनि हुनसक्छ भन्ने उसले मानेको छ र त्यस मान्यताले केही राहत दिन्थ्यो – आफ्नी श्रीमतीको प्रेमबारे लेखूँ कि नलेखूँ भन्ने उसको मनको धरमरलाई ।
अनि सोच्थ्यो– किन नलेख्ने ? यही लेखौँ कथामा । अथवा, यही हो प्लट भन्नु – अहिलेसम्म नलेखिएको कथाको । यसैलाई कथाको विषय बनाउन सकिन्छ । लेख्न जान्नुपर्यो । छेक्छ कसले लेख्न जान्नेलाई ! उसकी श्रीमती कस्ती रहिछ, त्यस्ती लाटी भनेर कसले पो हेर्न, चियो गर्न आउने हो र ? उसको बारेमा त खासै मानिसहरूलाई थाहा छैन । नचल्ने पिक्चरझैँ उसको छापिएको कथा अनलाइन प्रकाशनबाट एक दिनमै उत्रिन्छ भने उसकी श्रीमतीलाई कसले पो बढी चिन्न खोज्ला र ?
उसको आनीबानीले पनि होला, अलिकति मानिसहरूले उसको उपेक्षा गर्ने । उपेक्षा गरे पनि ऊ यो सोच्दैनथ्यो, मैले पाठकको उपेक्षाका कारण ठूलै पद गुमाएँ । मानिसले अर्काको उपेक्षा गरेरै सन्तुष्टि पनि लिन्छन् । पाठकहरूमध्ये अपवाद पर्ने पनि होलान् । तर, ऊ त्यति सफल व्यक्ति होइन ।
ऊ के लेखनका कारण राजदूत पदमा अथवा जो अनिर्वाचित भए पनि छमहिने मन्त्री पद नियुक्त हुन सक्थ्यो, बन्न सकेन ? हैसियत नै के थियो ? घरमा पनि उसलाई व्यवहार अकुशल मानिन्थ्यो, जो बाटो हिँड्दा दायाँबायाँ नहेरी घोप्टो परेर हिँड्ने गर्छ ।
घोप्टो ऊ यस कारण पर्थ्यो, बाटोमा कतै कसेले हजारपाँच सयको नोट खसालेको होस् र त्यो फेला परोस् । पैसाको सधैँ टोटा परेकै हुन्थ्यो । त्यसरी घोप्टो परेर हिँडिरहेका बेला कथाभन्दा ऊ कसैको खसेको पैसा टिप्नतिर बढी ध्याउन्नमा हुन्थ्यो ।
फेरि सोच्थ्यो– अरूको नोक्सानीबाट लाभ लिनु ठिक होइन, कसैले पैसा नखसालून् । गरिबगुरुवाको पैसा खसेको भए ऊ कति रोला ? त्यस्ताको पैसा नभेटियोस् ! तर, ऊ घोप्टो परेरै हिँड्थ्यो । यो उसको बानी अद्यावधिक थियो ।
घोप्टो परेर हिँड्दा ऊ चिन्तनमुद्रामा देखिने प्रयासमा हुन्थ्यो । घोप्टो परेर हिँडेको मान्छेको मुद्रा कसले देख्थ्यो ? तैपनि भन्थ्यो– म बाटोको खोजीमा छु । भन्न त भन्थ्यो, तर मनमनै । ऊ उसरी सडकछेउको पेटीमा हिँडिरहेके हुन्थ्यो । पेटीमा मानिसहरूको ओहोरदोहोर भइरहन्थ्यो । त्यसमा ऊ सतर्क हुन्थ्यो ।
लेखक आफ्नो परिवेश र वातावरणको सूक्ष्म निरीक्षण–पर्यवेक्षणमा धेरै दत्तचित्त हुनुपर्छ भन्ने उसको भनाइ थियो । घरकाले उसको आफैँमा निमग्न हिँडाइलाई व्यंग्य गर्दै भन्थे, ‘सबैले भन्छन्– तपाईं बाटामा चिनजान भेटिए पनि बोल्नु हुन्न रे, मान्छे देखे पनि नदेखेझैँ गर्नुहुन्छ रे ! हो ?’
प्रश्नले उसलाई हीन गराउँथ्यो, तापनि ऊ प्रतिवादमा भन्थ्यो, ‘यसमा म के गरूँ ? बानी नै यस्तो पर्यो । अर्काको मुखमुख ताकेर के हिँड्नु भन्ने मलाई लाग्छ ।’
उसलाई आत्मनिमग्न हिँडाइप्रति यो आरोप थियो । यो आरोप घरसम्म पुगेर छिमेकको एक महिलाले उसको सिकायत गरेको हुनुपर्छ उसकी श्रीमतीसँग । एक वा दुईपटक उसले त्यो महिलालाई सडक क्रस गर्दा देखेको हो । कता उसलाई यो पनि लागेको थियो कि त्यो महिलाले एउटा छायाले जस्तो उसलाई नमस्कार गरेकी पनि थिई ।
महिला बच्चालाई स्कुल बसमा चढाउन बिहानै चोकमा उभिन आइपुगेकी हुन्थी । ऊ जेब्राक्रसबाट सडक काट्ने तरखरमा हुन्थ्यो । अनुशासनमा यस्तो थियो ऊ मेटिन लागेका जेब्राक्रस खोजेर सडकपारि जाने गर्थ्यो । त्यस्तोमा महिलाको नमस्कारको नमस्कार फर्काओस् कि सडकको व्यस्त यातायात छलेर सडकपारि पुग्ने सतर्कता अपनाओस्, उसका लागि यही संकट परिरहेको हुन्थ्यो । यसैलाई विषय बनाएर महिलाले घरमा श्रीमतीसँग गुनासो गरेको हुनुपर्छ ।
अब त्यो महिलाले गरेको गुनासोको संवाद बुन्न सकियो भने कथा संवादमय पनि हुन सक्थ्यो । महिलाले के भनेकी हुनुपर्छ ? त्यो संवाद फेब्रिकेट गर्नु उसकै हातमा थियो ।
महिलाले भनेकी हुनुपर्छ, ‘दाइले मान्छे देखर पनि नदेखेझै गर्नुहुन्छ । अस्ति मैले कति नमस्कार गरेँ, अहँ सुनेको होइन । सधैँ यस्तै हो दाइ त ।’ अथवा, अन्य प्रकारको यस्तै संवाद हुन सक्थ्यो, महिलाले उसकी श्रीमतीलाई गुनासो गर्दा भनेको ।
उसलाई अनौठो लागिरह्यो, महिलाले उसलाई मन पराउन थाली कि ? त्यसैले उसको गुनासो मनमा बोकेर हिँडिरहेकी हुन्छे ! मानिस सडकमा आउनेजाने गरिरहन्छन् र उसले कसले कसरी र किन नमस्कार गर्यो वा गर्छ भन्ने अथवा आफूले फर्काएर नमस्कार गरेँ गरिनँ भन्ने हिसाब राख्न भ्याउँछ ?
काठमाडौंमा मान्छेदेखि मान्छे तर्केर हिँड्नु नै फसाद परिरहेको हुन्छ र नमस्कारतिर धेरैले ध्यान दिन पाउँदैनन् । महिलाले अनि उसैलाई किन नमस्कार गर्नुपर्यो ? ऊ कुनै पहुँचवाला त होइन, दिनदिनै नमस्कार गरेर जागिरका लागि सिफारिसको याचना गर्ने वा दुःख निवारणका लागि पुकार गर्नुपर्ने ?
संवादको परिकल्पनाअन्तर्गत उसले यस्तो सोचिभ्यायो । महिला नराम्री थिइन, तर उसको घरगृहस्थी र बच्चाहरू समेत थिए । महिला राम्री थिई त उसकै श्रीमान् र परिवारका लागि थिई । ती महिलाबारे उसले खासै गलत सोच राख्न सक्तैनथ्यो ।
तैपनि, निचोडमा यो पनि थियो– महिलाले त्यस्तो सिकायत नगरेको पनि हुनसक्छ । मानिसको स्वभावको चर्चा गर्दा अलिकति अनपेक्षित आरोप संवादमा आएको हुँदो हो । तर, घरकाहरू अन्ततः उसकै चियो गरेर उसलाई सुधार्न पनि चाहँदा हुन् ।
ऊ धेरैजसो लेख्नमै व्यस्त रहन्थ्यो र यसै विषयलाई लिएर कथा लेख्न पनि सक्थ्यो भन्ने उनीहरूलाई थाहा थिएन । मन्दीको समयमा व्यापारीले आफ्नै परिवार पालनको हिसाब निकाल्दै झोक्राएर बसेझैँ उसले पनि परिवारका यी सदस्यहरूलाई पात्र बनाएर लेख्न सक्छ भन्ने उनीहरूलाई शंका थिएन । यसको कारण यो पनि हुन सक्थ्यो, उनीहरूलाई ऊ कथाकार हो भन्ने पत्यार पर्नै सकेको छैन ।
तर, यो विषयबारे उसले धेरैलाई बताउन सक्दैन । किनभने, उसका परिवारका सदस्य यस्ता छन् भनेको पनि मानिसहरू मन नपराउन सक्छन् । ‘केही नपाएर आफ्नै आङको छारो उडाउन थालेछ’ भन्ने पनि निस्कन्छन् ।
निष्कर्षमा, ऊ घटिया मान्छे त हो, यसकारण उसले जे पनि लेख्न सक्छ भन्ने पनि होलान् । जे भने पनि पहिलोप्रथम उसले लेखेको उनीहरू अर्थात् उसलाई घटिया भन्नेहरूले पढ्ने होइनन् । यसले उसलाई अलि आश्वस्त पार्यो । नपढ्ने अदृश्य पाठककै लागि उसले लेखिरहेछ त ?
यस्तो विकटको प्रश्न उसको अगाडि उभियो । प्रश्न समाधानयोग्य थियो, तर उसले त्यसमा केही सार्थकता पहिल्यायो । माने, नपढ्नेहरू पनि पाठक हुन सक्दा हरेछन् । यो नयाँ मान्यताको आविष्कारजस्तो लाग्यो उसलाई – नपढ्ने अदृश्य पाठक !
तर, कथाका लागि प्लट पाइरहेको थिएन । कथा बनिरहेको थिएन । यस्तै पनि कथा हुनसक्छ भनेर उसले यसैलाई कथाको मान्यता दिन पनि सक्छ । यसैलाई प्रकाशनका लागि पठाएमा छापिने पनि छ । नछापे के छाप्ने ? अरूअरू विषयहरू छाप्नलायक धेरै पाइराखिएका छन्, तर कथाको कमी छ । कथित कथाकार ऊ हो । कथाकार त हो, यस्तैयस्तै प्लटको खोजीमा लागिपरेर लेखेका कथाहरू लेख्दै सम्पादकहरू भए ठाउँ पठाइरहने ।
यो कथासहित उसले लेखेका कथा निरन्तर छापिऊन्– उसको आन्तरिक चाहना पनि त्यै रहने गरेको छ । सम्पादकहरू एक किसिमले बाध्यतामा नपरेसम्म उसको कथा छाप्न तयार हुँदैनन् । उसले यो पनि बुझ्छ । सम्पादकहरूको मान्यता त यो होवैन, ‘हामीले नबुझ्ने कथा लेखर पठाएको पठायै गर्छ । यो मानिस कस्तो छ, बुढो वा तन्नेरी ? पढालेखा वा सिकारु ?’
फुर्सदमा चुरोट तान्दै सोच्दा हुन् । चुरोटको लत नभएका सम्पादकहरू चियाको चुस्की लिँदै ‘यो कथाकार भनाउँदोले रचना पठाएको पठायै गरेर हैरान–परेसान गर्यो बा ! के गर्ने ?’ ऊ अगाडि भएको भए हाँस्दै हात जोरेर यही भन्ने थियो, ‘के गर्ने सम्पादक महोदय, खुरुखुरु छाप्ने नि !’
अचेलका नवपुस्ताका सम्पादकहरू चुरोट खान्नन् । चियामा पनि त्यति रुचि राख्दैनन् । दारुरक्सीमा भन्न सकिन्न । चियाको सट्टा कफी र चुरोटको ठाउँमा बियर–वाइन सहजै चल्दो हो । ती पेयमा एकप्रकारको अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड हुन्छ ।
सम्पादकहरू उसलाई भेटेमा भन्न सक्छन्, जिस्क्याउैलाई सही, ‘त हामीले नै नबुझेको कथा हामीले नै कसरी छाप्ने ?’
सम्पादकहरू तर्सिएका पनि छन्, नछाप्नु पनि कति नछाप्नु, ऊ अटेरी छ । कथा पठाएको पठायै छ । घरखर्च कटौती गरेर एक दिन कसो नपर्ला भन्ने हठले चिट्ठा किनेको किन्यैझैँ एक दिन कसो चिरस्मरणीय कथा नआउला !
सम्पादकहरू सोचमग्न छन्– अचेल कथाकै अभाव छ । कथाको कालाबजारी गर्र्नेले झैँ कथाको पूरै स्टक राखेर बसेको छ । चलाख छ । यस्तो मन्दीको समयमा कथालाई बजार दिइरहेछ । सम्पादकहरू उसको कथा प्रायः पढ्दैनन् । नाम हेर्छन्, दिक्दार भएर ‘ठाउँ छ भने राखिदेऊ’ भन्छन् । यसरी हेर्दा एक किसिमको दयाको पात्र पनि बनेको छ ऊ ।
पात्र जस्तोसु्कै बने पनि दयाको पात्र हुन चाहँदैन ऊ । तर, बाध्यता छ, हात सकसकाइरहन्छ र कथा लेखिरहन मन लाग्छ । कथा लेखिन्छ, कथा लेखेपछि आफैँमाथि दया लाग्छ– यो कथा त जसरीतसरी आयो, आगामी कथा कुन प्लटमा लेख्ने ?
उसले कथा यत्तिकैमा टुंग्याउन सक्थ्यो । यो कथा कहाँ पठाउने भन्ने सोच्नतिर लाग्दा हुने थियो । तर, उसलाई यस्तो लाग्यो– कथामा नुन पुगेको छैन । बढी नुन राखे चर्को पनि हुनसक्छ । नुन चर्को मन नपराउनेहरूले यसले फेरि लेखेछ यस्तो कथा भन्न पनि सक्छन् । अरूले के भन्छन् भनेर कथै लेख्न छाड्नु पनि भएन ।
एकदुई महिना कथा नलेख्ने मन बनाएर कलम बन्द गरेर ऊ बसेको पनि छ । कथाको भुल्को भित्रबाटै आइरहन्छ । बिनाप्लटको कथा । एउटा हुटहुटी मात्र– कथा लेख न भन्ने ।
फेरि लेख्न बस्छ ऊ, तर प्लट छैन । संवाद छैन र पात्र पनि छैन । कनीकुथी लेख्छ । केही प्लट फुर्लाजस्तो भयो भन्दैमा तुरुन्त लेख्न बसिहाल्छ । उसको हतार गर्ने बानी छ । अपरिपक्व कथा आधामै रोकिन्छ ।
कथा सुरु गर्दा उसले कथाको अन्त्य पनि सोचेको हुनुपर्ने थियो । कथाको अन्त्य यस्तै हुनुपर्छ भन्ने उसले सोचेकै हुन्न । त्यस्तो ऊ गर्दै गर्दैन । लेख्दै जाँदा अन्त्य स्वतः आउँछ भन्ने लाग्छ उसलाई, मानौँ हिँड्हिँड्दै गएपछि गन्तव्यतिर पुगिन्छ । गन्तव्य नभए पनि हिँडिरहनु धर्म हो भनेजस्तो गर्छ ऊ ।
कथामा त्यो अन्त्यहीन हिँडाइको भ्याकुम रहिरहन्छ । अन्त्यहीन कथा ! कथाको अन्त्यहीनतादेखि त्रस्त भएर कथान्तले उसलाई पहिले प्रश्न गर्छ– म खोइ ? प्लट छ, पात्र छ, परिवेश छ, संवाद छ र अन्त कथाका अंगउपांग पनि छन्, तर अन्त्य छैन ।
अर्थात्, कथाको अन्त्य के त ? उसले ‘अन्त्यहीन कथा’ शीर्षक राखेर अधुरै कथा छाप्न पठाउन पनि सक्दैन । उसका कतिपय कथा अन्त्य सोच्न नसकिएकाले बीचैमा तुहिएका पनि छन् ।
कथाको अन्त्यले यसरी बाटो छेकेर बसेको हुन्छ, मानौँ यसको जवाफ नदिएसम्म अगाडि बढ्न सकिन्न । कथाको अन्त्य बडो गाह्रो कुरो हुन्छ । तैपनि, उसका केही कथाले यस कथाको अन्त्यझैँ बाटो छलेर अगाडि बढेका छन् । कथा त ठिकै हो, तर अन्त्य भएन भनेर आलोचना पनि हुनसक्छ । हुँदै गर्छ आलोचना । तैपनि, कथाको अन्त्यहीनताले सताइरहन्छ ।
कतिपय कथामा कथा लेख्दै जाऊँ र अन्त्य आफैँ आइहाल्छ भनेर लेखिएका उसका कथामा अन्त्य पनि अप्रत्याशित रूपमै आएका छन् । यै कथामा पनि ऊ अलमलिएको छ । यस कथाको सुरुमा निकै प्रयत्नले कथा लेख्दै अन्त्यतिर बढिरहेछु जस्तो लागे पनि अन्त्यमा पुग्दासम्म कथालाई अन्त गर्न नसकेर ऊ लखतरान भएको छ ।
उसको मानसमा एउटा भय यसरी च्यापिँदै आएको छ– कथाले उसलाई अन्त्यहीन कथा लेख्न बाध्य पारेको छ, जसले गर्दा कथामा शब्द थप्दैथप्दै गएपछि आफैँ रन्थनिएर च्यातचुत पारेर फाल्नुपर्ने त होइन ?