काठमाडौं । जाडो यामसँगै काठमाडौं र अन्य ठूला सहरमा वायु प्रदूषण बढेको छ । काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा एक सय एक्यूआई (वायुको गुणस्तर सूचकांक)भन्दा माथि पुगेको छ ।
वातावरण विभागको वायु प्रदूषण सूचक यन्त्रमा बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा देखिएको छ । हेटौंडामा प्रदूषणको मात्रा १५१ एक्यूआई पुगेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाका शंखपार्क, कीर्तिपुर, रत्नपार्क, खुमलटार, पुलचोकलगायत स्थानमा प्रदूषणको मात्रा १०५ देखि ११९ एक्यूआईसम्म पुगेको थियो ।
अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांक अनुसार पुलचोकमा १०७ एक्यूआई छ । त्यस्तै शंखपार्कमा ९६, कीर्तिपुरमा ९२, रत्नपार्कमा ८६ र खुमलटारमा ७९ एक्यूआई रेकर्ड भएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।
एक्यूआई (एयर क्वालिटी इन्डेक्स) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदुषण विज्ञ भुषण तुलाधार बताउँछन् ।
यदि, काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुने हो भने औसत आयु ४.६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्रै सुधार गर्ने हो भने पनि १.२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।
जाडोमा प्रदूषण किन बढी ?
वर्षा याममा काठमाडौंका विभिन्न स्थानमा प्रदूषणको मात्रा २० एक्यूआईभन्दा कम मापन भएको वातावरण विभागको रेकर्ड छ । विभागका अनुसार डढेलो लाग्ने मौसममा देशभरको वातावरण अधिक्तम प्रदूषित हुन्छ । गतवर्ष चैत महिनामा काठमाडौंमा वायु प्रदूषणको मात्रा २२२ देखि २७५ एक्युआईसम्म मापन भएको थियो ।
जाडोयाममा हावा बढी नचल्ने कारणले पनि वायु प्रदूषण बढ्ने विज्ञहरू बताउँछन् । प्रदूषण गराउने तत्वहरू चिसोका कारण माथिल्लो वायुमण्डलसम्म जान नसक्ने र तलै घुमिरहने भएकाले पनि डिसेम्बरदेखि केही महिना प्रदूषण बढ्ने वातावरण विभागका उप महानिर्देशक तारादत्त भट्ट बताउँछन् ।
मौसमको जस्तो पूर्वानुमान प्रणाली नभएका कारण कहिलेसम्म प्रदूषण बढ्छ वा कतिसम्म पुग्न सक्छ भनेर आंकलन गर्न नसकिने उनको भनाइ छ ।