site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमासबीच चार दिन युद्धविराम सम्झौता, ५० बन्धक रिहा गरिने

काठमाडौं । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने उल्लेख छ । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ । सरकारले आज यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको छ, जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।”

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

बैठकअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकको रिहाइपछि पनि गाजामा युद्ध जारी रहने बताएका थिए ।

हमासले पनि टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै ‘मानवीय आधारमा युद्धविराम’मा सहमति भएको जनाएको छ । यो सम्झौताको मध्यस्थता गरेकामा हमासले कतार र इजिप्टलाई धन्यवाद पनि दिएको छ ।

गएको अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ ।

इजरायलको आक्रमणमा गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा पाँच हजारभन्दा बढी बालबालिका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro