site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दिमाग खराब : अभियाननगरको राजनीतिले देखाएको बाटो

चलचित्र प्रचारका लागि राखिएका कार्यक्रममा निर्देशक निश्चल बस्नेत पटक–पटक दोहोर्‍याइरहन्थे– दिमाग खराब राजनीतिक विषयवस्तुमा आधारित सिनेमा होइन । अर्थात् राजनीतिक सिनेमा होइन । चलचित्रको मुख्य पात्र ‘इन्द्र’ राजनीतिसँग कसरी ठोकिन्छ, त्यति मात्रै हो ।

उनले त्यसो किन भने ? सत्य किन बोलेनन् ? समकालीन राजनीतिदेखि दिक्क भएका नेपाली दर्शक त्यही विषयको सिनेमा हेर्न हलमा जाँदैनन् भन्ने डरले हो ? खैर, निश्चल नै जानुन् । उनीसँगै होला जवाफ । तर, यतिको बलियो सिनेमा बनाउँदा बनाउँदै डराउनु किन ? सायद आत्मविश्वास कमजोर भयो ।

चलचित्रको ट्रेलरमा एउटा संवाद छ– म काम गरेर खाने मान्छे, त्यो (मेयर) खाएर काम गर्ने मान्छे । यही हो ‘दिमाग खराब’को कथा । हुनेखाने र हुँदा खानेबीचको अन्तर र यी दुई वर्गबीचको अन्तरसंघर्षको कथा नै यो चलचित्रको मुख्य कथा हो ।

Dabur Nepal
NIC Asia

स्थानीय जनप्रतिनिधिले कसरी जनतालाई पाइपाइमा ठगिरहेका छन्, सोझासिधा नागरिक कसरी नेताबाटै ठगिइरहेका छन्, जब नागरिकमा विद्रोहको आगो सल्किन्छ, त्यसको परिणाम के हुन्छ ? न कुनै तिकडमले काम गर्छ न त अथाह पैसाले ।  यही नै चलचित्रले देखाउने कथा हो ।

स्थानीय तहको गत निर्वाचनमा स्वतन्त्र उमेदवारमा अनपेक्षित रूपमा नागरिकको विश्वास देखियो । देशकै केही ठूला महानगरपालिका र उपमहानगरपालिकामा नागरिकले स्वतन्त्र उमेदवारलाई चुनाव जिताए । पुराना पार्टीका उमेदवारले नसोचेको परिणाम आयो ।

स्वतन्त्र उमेदवारको यो चुनावी अभियानमा थुप्रै कलाकार खुलेरै लागे । केही प्रत्यक्ष रूपमा स्वतन्त्र उमेदवारको चुनावी अभियानमा जोडिँदा केहीले अप्रत्यक्ष रुपमा सहयोग गरे । त्यही स्थानीय तहको चुनावी माहोल र परिणामलाई निर्देशक निश्चल बस्नेतले योपटक सिनेमामार्फत देखाए ।

‘लुट’ निर्देशन गरेर सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चलको सिनेमा ‘दिमाग खराब’मा मुख्य पात्रको रूपमा इन्द्र (खगेन्द्र लामिछाने) छन् । इन्द्रको चरित्रमा खगेन्द्रले अन्याय गरेका छैनन् । तर, ‘पशुपतिप्रसाद’मार्फत आफूलाई सिने कलाकारमा अब्बल रहेको पुष्टि गरेका खगेन्द्रले ‘पशुपतिप्रसाद’को चरित्रलाई बिर्साउने अभिनय त्यसयता गर्न सकेका छैनन् । जे होस्, उनलाई दर्शकले ‘दिमाग खराब’मा रुचाउँछन् ।

‘सची’ अर्थात् ‘इन्द्र’की श्रीमतीको भूमिकामा स्वस्तिमा खड्का छिन् । अभिनयको तुलोमा तौलिने हो भने यो चलचित्रको ‘हिरो’ स्वस्तिमा हुन् । उनले सिनेमामा राम्रो टिम पाउँदा आफ्नो अभिनयलाई कुन तहसम्म पुर्‍याउन सक्छिन् भन्ने ‘दिमाग खराब’बाट पुष्टि गरेकी छन् ।

भोला थोकर (दयाहाङ राई) सिनेमामा औसत अभिनयमा छन् । मेयरको भूमिकामा रहेका हरिप्रसाद बराल (अर्पण थापा) अभिनयमा अब्बल छन् । तर, उनको समस्या डाइलग डेलिभरीमा छ ।

लुक्समा बले (विजय बराल) जति सुहाएका छन्, अभिनय त्यो तहमा छैन । नीरज गौडेल (सुमन कार्की) पनि औसत अभिनयमा खुम्चिएका छन् । यो चलचित्रमा निर्देशक निश्चल बस्नेत पनि कलाकारका रूपमा छन् । ‘दिमाग खराब’मा सबैभन्दा कमजोर अभिनय उनकै हो । आफ्नै निर्देशन रहेको चलचित्रमा कमजोर अभिनय गरेका निश्चल निर्देशकमै ‘फिट’ रहेको यो सिनेमाले उनी स्वयंलाई दिने सन्देश हो । भलै, मनन् गर्नु/नगर्नु उनको निर्णय ।

सिनेमाका गीतले कथा भन्न सहयोग गर्छ । ब्याकग्राउन्ड स्कोर भने चित्त बुझ्दो छैन । ब्याकग्राउन्ड स्कोरमा धेरै नेपाली सिनेमाले काम गर्दैनन् भन्ने टिप्पणीलाई यो सिनेमाले पुष्टि गरेको छ । सिनेमेटोग्राफी उल्लेखनीय छैन, औसत छ ।

भनिन्छ, कलाले कसैको पक्षपोषण गर्नु हुँदैन, त्यो निष्पक्ष हुनुपर्छ । जुन कला निष्पक्ष हुन्छ, त्यो अजर र अमर हुने सम्भावना हुन्छ । पक्ष/विपक्षमा लाग्यो भने वकालत हुन्छ, अभियानमा परिणत हुन्छ । कला प्रयोग भएको मानिन्छ । ‘दिमाग खराब’ स्वतन्त्र उमेदवारको पक्षमा ढल्किएको सिनेमा हो ।

पुराना राजनीतिक दलबाट जनता दिक्क भए होला, समाजको रुपान्तरण पनि भएन होला । देशमै गरेर खान्छु भन्नेलाई अवसर भएन होला, अन्ततः रोजगारीका लागि विदेश नै जान्छु भन्ने आम नागरिकलाई पनि नेताहरूले ठगिरहेका होलान् । तर, सिनेमाले त्यसको पक्षपोषण गर्ने कि ‘ग्रे जोन’मा बसेर देखाउने त्यो महत्वपूर्ण पक्ष हो । यसमा निर्देशक केही पूर्वाग्रही देखिन्छन् ।

भलै, उनले वैदेशिक रोजगारीमा रहेको ठगी, पछिल्लो समय भिजिट भिसाका नाममा भइरहेको ठगी, राजनीतिक दाउपेच र स्थानीय तहमा हुने भ्रष्टाचारमा केन्द्र पनि जेडिने गरेको यथार्थलाई मजाले सटायर हानेका छन् ।

निश्चलको पात्र सिनेमामा स्ट्याब्लिस छैन । समाजसेवी हो कि मारधाड गर्ने केटाहरुको नाइके ? उसका पछाडि त्यति धेरै केटाहरू किन लाग्छन् ? अनुत्तरित छोडिएको प्रश्न हो ।

सामाजिक अभियान्ताको रूपमा देखिने नीरज गौडेलको पात्र बीचमै अलपत्र छोडिएको छ । कथित अभियान्तालाई व्यंग्य गरे पनि यो पात्र बीचमै छोडिन्छ ।

‘दिमाग खराब’ सत्यकथामा आधारित सिनेमा होइन । तर, सत्यको नजिक रहेर निर्माण गरिएको दर्शकको नजरबाट लुक्दैन । किनकि, निर्देशकले जसरी इन्द्रको चुनावी अभियान देखाएका छन्, त्यो पुरानो भइसकेको छैन । नेपाली समाजमा ताजै छ ।

चलचित्र लेखकलाई सिनेमाको कथा लेख्दा विषयवस्तुलाई फिक्सनाइज गर्ने स्वतन्त्रता हुन्छ । निर्देशकलाई सिनेम्याटिक लिबर्टी पनि हुन्छ । तर, सजिलै देखाउन सकिने र सिनेमालाई थप मजबुत बनाउने कन्भिन्सिङ कुराहरूलाई नजरअन्दाज गर्दा केही बिझाउँछ । ‘दिमाग खराब’कै केही त्यस्ता पक्ष छन्, जसमा लेखक तथा निर्देशक चुकेका छन् ।

क्लाइमेक्सतिर उमेदवारी मनोनयनको सिन छ । तर, इन्द्र परिबन्दमा परेर काठमाडौं आइपुगेको छ । समय घर्किसक्दा पनि ऊ मनोनयनका लागि तोकिएको समयमा पुग्न सक्तैन । समयमा नपुग्दा ऊ मनोनयनबाट बञ्चित हुन्छ । जबकि, ऊ त्यो समय काठमाडौंको बूढानीलकण्ठमा छ । जहाँबाट निर्वाचन आयोगको कार्यालय कान्तिपथ नजिकै छ । जहाँबाट उसले आफूले तोकेको प्रतिनिधिमार्फत मनोनयन दर्ता गराउन सक्छ ।

मानौँ, इन्द्रलाई यो कानुनी प्रक्रियाबारे ज्ञान भएन । तर, उसको चुनावी अभियानको सारथी भोला त सरकारी ऋण लिएर सरकारी कामबारबाही र थोरबहुत नियम बुझ्छ । उसले किन त्यसो गरेन ? मानौँ, इन्द्रको चुनावी माहोल देखेर ऊ आफैँ लोभियो रे ! तर इन्द्रका पक्षमा त पूरै गाउँ नै समर्थनमा थियो । सहरदेखि विदेशसम्मका युवा उसको पक्षमा छन् । कसैले इन्द्र मनोनयनस्थलमा नहुँदाको विकल्प सुझाउँदैन ? फिल्डमा रहेका निर्वाचन अधिकृतले नै सुझाव दिने सम्भवना रहँदैन ? किनकि, सामान्य अवस्थामा भन्दा फरक वातावरण छ अभियाननगरमा ।

तर, यसमा लेखक अनविज्ञ रहे वा सिनेम्याटिक लिबर्टी प्रयोग गरे, यो किन देखाइएन भन्ने प्रश्नभन्दा पनि यसमा ट्विस्ट एन्ड टर्नका लागि पर्याप्त ठाउँ हुन्थे । जसले क्लाइमेक्सलाई थप रोचक बनाउन सकिन्थ्यो कि भन्ने मात्रै हो । तर, कथा यस्तो हुनुपथ्र्योभन्दा पनि निर्देशकले आफूले चाहेअनुसार देखाउन सक्छ, त्यो उसको स्वतन्त्रता हो ।

मुद्दा दर्ता, भ्रष्टाचारीलाई कारबाही सिनेमामा दोहोरिइरहने सिन र संवाद हुन् । यो कसको दायराभित्र पर्छ ? यसमा लेखकले हेक्का राखेका छैनन् । हुन त के गलत र के सही पढ्नलाई दर्शक हलमा जाने निश्चय नै होइन । तर, विषयप्रसंगले कथासँगै जोडिएर आउने कुरालाई सत्य देखाउँदा गलत हुन्छ र ?

कथामा केही कमजोरी होला तर, त्यसलाई सिनेम्याटिक लिबर्टी भनेर आँखा चिम्लिने हो भने ‘लुट’पछि कै निश्चलको राम्रो सिनेमा हो ‘दिमाग खराब’ । दर्शकलाई हसाउने, भावुक बनाउने, सही र गलत छुट्ट्याउने पर्याप्त संवाद र दृश्यले सिनेमालाई राम्रो बनाएका छन् । पहिलो हाफको तुलनामा दोस्रो हाफ केही कमजोर भए पनि निश्चलले दर्शकलाई राम्रो सिनेमा दिएका छन् । सिनेमा अवधिभर रमाउन सकिन्छ ।

दर्शकले ‘दिमाग खराब’बाट निश्चललाई अभिनेता होइन निर्देशककै रूपमा माया गर्ने पक्का छ । समाजमा आम नागरिकलाई बिझाइरहेको विषयमा रोचक तरिकाले सिनेमा भन्नसक्नु उनको क्षमता हो । त्यसैले ‘दिमाग खराब’बाट उनले आफूलाई निर्देशककै यात्रामा हिँडाउन्, अभिनेताका रूपमा होइन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro