काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।
नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् ।
उनले त्यसअघि संसद् भवनमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । उनले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरे ।
आजै उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन् ।
यसअघि, आइतबारै उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।