काठमाडौं । एपेक्स कलेज र इन्नोभेट नेपाल ग्रुप (आईएनजी)बीच अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नयाँ व्यवस्थापन र आईटी पाठ्यक्रम अध्यापन गराउने सम्झौता भएको छ ।
नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने कार्यको नेतृत्व गर्दै आएका दुई संस्थाबीचको यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र श्रोतसाधनको थप विस्तार हुने बताइएको छ ।
यसका साथै नयाँ साझेदारीपछिको अध्यापनले बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव प्रदान गर्ने र नेपालमै उच्च शिक्षाको उन्नतिलाई सघाउ पुग्ने आईएनजीको भनाइ छ ।
सन् २००० मा डा. मीनेन्द्र रिजालको नेतृत्वमा रहेको समूहले मानव पुँजी विकास गर्ने उद्देश्य राख्दै एपेक्स कलेजको स्थापना गरेको थियो ।
करिब २३ वर्षअघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए र बीसीआइएस कार्यक्रममार्फत अध्यापन थालेको कलेजले हाल समग्रमा १५ भन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सो ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले आईटी र व्यवस्थापन दुवैतर्फ व्यावहारिक, व्यवसायलक्षित शिक्षामा जोड दिने संस्थाका रूपमा आईएनजी चिनिएको बताए ।
उनले भने, “हाम्रा संस्थाहरूले विशेष अध्ययन अनुभव प्रदान गर्दै आएका छन् । आईएनजी समूहका कुल एक हजार ६०० कर्मचारीमध्ये ७० प्रतिशत हाम्रै पूर्वविद्यार्थी हुनुले पनि यहाँको व्यावहारिक र व्यवसायमैत्री शिक्षण पद्धतिबारे धेरै कुरा बोल्छ ।”
एपेक्स कलेजका निर्देशक सम्भव सिरोहियाले पछिल्ला दुई वर्षमा एपेक्स र आईएनजीले नेपालमा मानव पुँजी विकास गर्ने समान उद्देश्य लिनुका साथै शैक्षिक विशिष्टता हासिल गर्ने र विद्यार्थीहरूलाई कक्षाकोठामा सीमित नराखी विभिन्न प्लाटफर्म उपलब्ध गराउने साझा चाहना राखेको बताए ।
“हाम्रा दुवै संस्थाले विद्यार्थीका पहल, कार्यक्रम र अतिरिक्त क्रियाकलापहरूलाई सक्रिय रूपमा हौसला प्रदान गर्दै आएका छन् । विद्यार्थीको क्षमता विकास र सफलताका लागि यो महत्त्वपूर्ण पाटो हो,” उनले भने ।