ऊ सुखी थियो । दुःखी नभएपछि सुखी हुन करै लाग्थ्यो लोकमा । उसको दर्शन यस्तो थियो, दुःखी नभएपछि सुखी भइन्छ । तर, उसका कारण घरकाहरू दुःखी थिए ।
दुःखी थिए भन्नु दुःखभन्दा अलि फरक पर्ने गरी सन्तप्त थिए । कारण थियो, ऊ कामकाज केही गर्दैनथ्यो । काम नपाएर होइन, सरकारी जागिरमा जान पनि सक्थ्यो । स्नातक थियो ।
स्नातकोत्तर गर्दागर्दै बीचैमा छाडिदियो । मान्छे लक्का जवान थियो । वेट लिफ्टिङ गर्न जिम ज्वाइन गरेको छ । प्रहरीमा पनि जान सक्थ्यो । सबइन्स्पेक्टर वा इन्स्पेक्टरको परीक्षामा सहजै उत्तीर्ण हुन सक्ने शारीरिक र शैक्षिक योग्यता दुवै भएको ।
तर, सिफारिस गर्ने सोर्स थिएन भनेपछि पास भए पनि नियुक्ति हुने/नहुनेमा दोधार थियो ।
उसका पिता त्यति बेलासम्म जीवितै थिए र भनसुन गरेर जेठो छोरोलाई सरकारी जागिरमा छिराउन सक्ने पहुँच भएका । सेनामा गएको भए पनि लेप्टेन वा क्याप्टेन जे हो त्यो हुन सक्थ्यो । त्यहाँ पनि थोरबहुत भनसुन चलिहाल्थ्यो ।
पैसा थियो, पैसा पेल्न सक्थ्यो । तर, उसले त्यतातिर ठ्याम्मै रुचि देखाएन । वेट लिफ्टिङ गरिरहन्थ्यो र साथीभाइसित पिकनिक, सिनेमा र होटेल–रेस्टुराँमा मस्त रहन्थ्यो ।
कहिलेकाहीँ बियर यसो चाख्थ्यो, रक्सी छुँदैनथ्यो । पछि बियरको मात्रा बढेको थियो ।
परिवारमा हाँसो र खुसी थियो । तर, दुःखले झ्याप हान्न ढुकिरहेको देखियो । उसका पिता अट्याकले अकस्मात् बिते । खातापिता घरका थिए र अट्याक स्वाभाविक मानियो ।
मोटा थिए । अट्याक आइरहन्थ्यो । हाँस्थे र भन्थे— जन्म र मृत्यु उसकै हातमा छ । मानिस धार्मिक थिए । चोर, माझी, बुढीऔँला रातो अबिरको रङले ताजै रंगिएका हुन्थे ।
पूजामा कममा आधा घण्टा बिताउँथे । केही जाप गर्थे, मन्त्रहरू याद थिए । अन्त्यमा भगवान्का फोटा र मूर्तिअगाडि घण्टी बजाएर पूजा सकिएको सूचना दिन्थे । अनि, बल्ल चियाको चर्चो सुरु हुन्थ्यो । माने कुरो त्यै, खान सुरु गर्थे परिवार र बुढाले ।
तर, उसकी आमाले पिताको निधनपछि वर्ष दिन नबित्दै पुनः उसका विषयमा पीर मान्न थालिन् । वर्ष दिनसम्म बारबेर भयो । बिहेका कुरा वा अन्य धार्मिक क्रियाकलापका कुरा उठेनन् ।
वर्ष दिनपछि बाटो खुल्यो । पिताको वार्षिकीपछि ऊ पनि खुलेर बियरतिर लाग्यो । आमाले उसको पिताको दुःख मतलब श्रीमान्को मृत्यु दुःख मनैमा लुकाइन् र छोरातिर चिन्ता सोझ्याइन् ।
तर, ऊ दुःखी थिएन । पितापछि आमा थिइन् ढाकछोपका लागि । बर्सातमा रुझ्न नदिने ठूलै छातामाफिककी आमा । आमा पनि मोटी थिइन् र कायाले पनि ठूली । त्यसैले ठूलै छाताको उपमा सुहाउँथ्यो ।
ऊ समय कुसमय डुल्न निस्कन्थ्यो । साथीहरू भइहाल्थे । कहिले नगरकोट त कहिले चन्द्रागिरि, कहिले मलेखुसम्म पुगेर तारेका माछा र बियर खाएर आउँथे ।
केटीतिर उसको ध्यान्न थिएन । घरमा दिदीबहिनी पनि थिएनन् । देखेजति केटीलाई दिदीबहिनी मान्नुपर्छ भन्ने पनि थिएन । तर, किन हो उसलाई केटीतिर रुचि पैदा भएन । साथीहरूका एकभन्दा अर्की राम्री दिदीबहिनी थिए, जससँग ऊ सहजै लहरिन खोज्न सक्थ्यो । तर, ऊ हाँसखेलमै थियो मस्त ।
समय बित्दै गएपछि घरमा उसको बिहेको कुरा चल्यो । उनीहरू दुई भाइ थिए । सम्पन्न घरका थिए । केटी खोज्न गाह्रो परेन । छोरी दिनेले सुखपूर्वक जीवन बिताउनेछे छोरीले भन्ने अड्कल गरे ।
त्यसो सोच्नु बिराम थिएन । धन, पैसा, जग्गाजमिन पर्याप्त भएको घरकी बुहारी हुन पाउनु सौभाग्य मानिनुपर्छ । तैपनि, उसले बिहे गर्ने केटी शिक्षिका थिई, लाइसेन्सधारी । जीवनमा कतै दुःख परिहालेछ भने केटाकेटी पढाएरै भए पनि खान सकिन्थ्यो ।
केटोको अलमस्तीपन हेरेर केटीले यो पनि सोची होली— स्कुलको टिचरी गरेरै भए पनि घर धान्छु । केटाकेटी पाल्छु र गुजारा गर्छु । गुजारा गर्नुजस्तो जीवन थिएन, पौल थियो जग्गाजमिन, धनदौलत ।
उसको समय माने केटोको उमेर अलि घर्किसकेको थियो । उसको भाइले पहिले नै बिहे गरिसकेको थियो र सन्तान पनि भइसकेका थिए । उसको मात्र बिहे गर्न बाँकी थियो ।
अरू थोक त ऊ गर्न सक्थ्यो । ऊ भन्थ्यो, ‘म यसै पनि सुखी छु, बिहे गरेर लफडा कसले बेसाओस् ?’
बिहेलाई लफडा मान्थ्यो, यद्यपि उसका साथीभाइमध्ये कोही असाध्य पत्नीपीडित थिए भने पत्नीका कारण अपार सुख भोग्ने पनि थिए ।
उसको बिहे गर्ने पालामा ‘लफडा’ शब्द प्रचलनमा आइसकेको थियो । राजनीतिक परिवर्तन पनि हुँदै थियो । राजनीति बिग्रेको थियो । उसकी आमा छोरो कतै नेतागिरीमा लाग्ने त होइन भनेर चिन्ता लिन्थिन् ।
बिहे त्यसैले झन् चाँडै जरुरी भइसकेको थियो । पत्नीले पोइलाई राजनीतिमा जान रोक्न सक्छे भन्ने आमाको धारणा थियो । तर, समाजमा मान्यता यो थियो— छिटो धनाढ्य हुनु छ भने राजनीतिमा जाऊ ।
भाइ एउटा प्रोजेक्टअन्तर्गत सपरिवार विदेश पलायन गर्ने सुरमा थियो । मुलुकमा भविष्य थिएन – यस्तो उसले सार्वजनिक स्थानमै भन्न सक्थ्यो । भन्थ्यो पनि । तर, साथै भन्थ्यो— आफू जन्मेको मुलुक माया लाग्छ ।
भाइले भन्यो, ‘दाइ, तपाईंको बिहे हेरेर जाने मन छ, अब भेट हुने हो कि होइन ।’
ऊ हाँस्यो, भन्यो, ‘यसमा दुःखी हुने कुरा छैन भाइ । बिहे भइहालेछ भने ठिकै छ, नभए विदेश गएका तिमी उतै रमाएर बस्न सकिहाल्छौ ।’ उसले थपमा सोध्यो, ‘उसरी तिमी जाने देश कुन हो ?’
भाइले संक्षेपमा मिठो गरी भन्यो, ‘अमेरिका ।’
उसको बिहे भयो । ऊ झन् सुखी भयो । भन्यो, ‘सुख, तँ मलाई खोज्दै आइस् !’ उसको भनाइ यो थियो, सुखमाथि सुख ।
श्रीमतीको आग्रहमा बिहान केही बेर पूजामा बस्ने भयो । उसकी पत्नी शिक्षिका थिई, टिचिङ गर्ने लाइसेन्सप्राप्त । आर्थिक पक्ष पनि सबल भयो ।
समयमा चार वर्षको अन्तरालमा दुई सन्तान पनि भए, एक छोरा र एक छोरी । झन् सुखी भयो । कारण के परेछ कुन्नि, छोरोभन्दा छोरीलाई बढी माया गर्थ्यो ऊ । तर, भन्थ्यो– छोरा र छोरी एकै हुन् । भेद गर्नु छैन ।
बिहे हुनुअगावै भाइ सपरिवार अमेरिका पलायन गरिसकेको थियो । बिहेमा आएन । उसकी लाइसेन्सप्राप्त पत्नी भन्थी, ‘देवरको परिवारसँग भेटघाट हुन सकेन ।’ पतिको मन अमिलो हुन्थ्यो ।
भाइ एकपटक पनि फर्केर आएको होइन, बिर्सेछ मुलुकलाई र इष्टमित्र–दाजुभाइ, आफू जन्मेको थातथलोलाई पनि ।
दिदीबहिनी उसका थिएनन्, शिक्षिका पत्नीका थिए । ऊ कहिले दिदी भेट्न हेटौँडा जान्थी त कहिले बहिनी भेट्न विराटनगर । माइत उसको यतै बानेश्वरमा थियो । ऊ भने कतै जाँदैनथ्यो । भन्थ्यो– दुःख दिन किन जाने ?
उसकी पत्नी जो टिचिङको लाइसेन्सप्राप्त थिई, उसले कति कर गरी ससुराली जाऊँ भनेर, बुढाबुढी भएका सासूससुरा भेट्न । उसले त्यस्तो भन्नुमा एउटा लुकेको कारण थियो, यस्तो भनिराखेपछि एक दिन उसले पतिलाई अमेरिका भाइ भेट्न जान कर गर्न सक्थी, सासूससुरा भेटेको साटोमा ।
पति थियो आसनबाट उखेलिन मान्दैनथ्यो । नभेटेकैमा सुख छ भन्थ्यो । ऊ जाँदैनथ्यो ।
पति भन्थ्यो, ‘बुढाबुढी सुखले बसून् । म गएर दुःख दिनु छैन ।’ लाइसेन्सवाली शिक्षिका पत्नी बहस गर्न उद्यत हुन्थी । लाइसेन्सको योग्यताले उसलाई बहसका लागि उकास्थ्यो ।
फेरि सोच्थी– यस्तो जिद्दीसँग केको बहस ? टिचर थिई, त्यसैले विद्यार्थीको मानसिक अनुकूलता आँक्न सक्थी, पढ्न मान्ने विद्यार्थी हो कि होइन ? पति ससुराली जानमा विरक्ति देखाउँथ्यो, भन्न सक्थ्यो, ‘धेरै करकर नगर । पोथी बास्ने घरमा सह हुँदैन ।’
तर, सासूससुरा भेट्न जाऔँ भन्नु पोथी नै बासेको ठहरिन सक्दैनथ्यो । लोग्नेलाई ससुराली जाऊँ भनेर अनुनयविनय गर्नु स्वाभाविक थियो । पोथी बासेको भनेको भए पनि एउटा कुतर्क गर्ने व्यक्ति भनेर आरोपित गर्न सकिन्थ्यो पतिलाई । तर, भन्थ्यो— तिमी नै जाऊ । सधैँ जाने गरेकी त छौ, आजै फेरि किन गनगन ? तिमी खुसीखुसी जाऊ । म केही भन्दिनँ ।
अन्त्यमा हाँसिदिन्थ्यो, सुखीको प्रभावशाली हाँसो । यो पनि हो भनेर पत्नी सोच्थी र सन्तोष मान्थी ।
पति आफ्नो सुखमा खलल नपुगोस् भनेर आफ्ना तर्फबाट अरूलाई भरपुर सुख दिन तत्पर रहन्थ्यो । त्यो पुस्ट्याइँ गर्ने एउटा उदाहरण यो पनि हुन सक्थ्यो, अमेरिकामा स्थायी बसोबास गर्ने भाइलाई इंगित गरेर उसले कहिल्यै भनेन — यता नेपालमा उसलाई अगाध माया गर्ने प्यारो दाइ छ भनेर सम्झेको भए एकपटक त अवश्य आउने थियो ।
ऊ डराउँथ्यो, त्यसो भनेको अमेरिकामा स्थायी बसोबास गर्ने भाइले सुन्न पायो भने चित्त दुखाउला । उसलाई भाइको चित्त दुख्ने डर रहन्थ्यो, यद्यपि उसको कुरा सुनेर भाइलाई चुक्ली लगाइदिने आसपास कोही थिएन ।
त्यसमाथि उसको भाइ त्यस्ता कुराको परवाह गर्ने व्यक्ति पनि थिएन । भन्न सक्थ्यो— ए, दाइले त्यसो भन्यो ! तर, होइन भनेन होला । मेरा दाइ त देउता हो !
भाइ मात्रले के पत्नीले पनि कहिल्यै मन दुखाउनु परेन । किनभने, पतिले उसलाई कहिल्यै दुर्वचन गरेन । पत्नी सोच्थी— कहिलेकाहीँ यसो बाझाबाझ गरी हेर्दा पनि त हुन्थ्यो । लोग्नेस्वास्नीको झगडा परालको आगो, पछि निभिहाल्ने त थियो । धेरै बेर बलिराख्ने थिएन ।
झगडा गरेपछि फकाउन नजानेर पो हो कि ! ऊ त्यस्तो सोचेर एक्लैमा हाँस्थी अर्थात् एक्लैमा सोच्थी र एक्लैमा हाँस्थी । अनि, कसैले ऊ हाँसेको देख्यो कि भनेर तर्सिन्थी र छेउछाउ चियो गर्थी । ढुक्क पर्थी, धन्न कसैले देखेनछ ।
लाइसेन्सप्राप्त शिक्षिका पत्नीको विचारमा उसको पति सरल स्वभावको छ, तर सुखले बिगारेको छ । सुख पनि कस्तो भने अरूलाई दुःख दिन चाहँदै नचाहने, आफ्नो सुखमा विघ्न पर्छ भनेर ।
मानिस आफ्नो सुखको त्यति लोभी त हुनु छैन, बिनानुनको खल्लो तरकारीजस्तो । उसको धारणामा मानिस दुःखमा नपरी सुध्रँदैन, बढी सुखले बिगार्छ । अलिकति दुःखी हुन पनि जान्नुपर्छ, स्वाङ गर्नका लागि नै भए पनि । तर, सुखी भए पनि उसको पति बिग्रेको थिएन । यो आश्चर्यलाग्दो छ भन्न सकिन्थ्यो ।
एक दिन पतिलाई उसले भनी— देउघाट जाऊँ ।
पतिले आश्चर्य प्रकट गर्दै भन्यो— किन ?
देउघाट कहाँ छ भनेर उसले सोधेन । यसमा पत्नी आश्वस्त भई, यति त थाहा रहेछ उसको पतिलाई, देउघाट कहाँ छ भन्ने ।
‘बुढ्यौलीमा आश्रय पाइन्छ । हाम्रो छोरा र छोरी पनि विदेशै जाने हुन्,’ पत्नीले भनी । यो सुनेर पतिको मनमा अलिकति उदासीको छाया आउन खोज्यो ।
वृद्धावस्था । अशक्त मानिस जो कुप्रो परेर लौरो टेक्दै हिँड्छ, चाउरिएर खाइलाग्दो जिउ एक मुठी हाडछालामा सीमित भएको छ ।
उसले एक बुढो नेताको चित्र सम्झ्यो, जो कठपुतलीलाई डोरीले तानेर हिँडाले झैँ खक्र्कखक्र्क हिँड्छ । बुढेसकालमा ¥याल चुहेको थाहा पनि पाइन्न ।
तर, ऊ सुखी हुन अभ्यस्त थियो । त्यसैले दुःखको छायालाई पन्छायो । सोच्यो— कताकता कुरा त सही हो । तर, उसको विचारमा घरभन्दा सुखी ठाउँ अरू कहाँ हुनसक्छ – यो पनि थियो र माथिबाट पत्नीले कहिलेकाहीँ मात्र बाहिरफेर डुल्न जाऊँ भनेर आग्रह गर्थी ।
यसपटक देउघाट जाऊँ भनी । उसले हुन्छ भन्न बाँकी राखेको छ । एकैपटकमा हुन्छ भन्न सकिरहेको छैन । धर्मतिर ऊ धेरै प्रवृत्त छैन, तर ईश्वरप्रति अनास्था प्रकट गर्न सक्दैन ।
मनमा भक्तिभावना छ । एउटा भावना सदैव राखेको हुन्छ— ईश्वरले सबैको भलो गर्छ, ढिलोचाँडो । सबै भनेपछि ऊ पनि त्यसमा छ ।
उसका छोराछोरी एकजना अस्ट्रेलिया र अर्को अमेरिका जाने तयारी गरिरहेका छन् । छोराछोरीमा मेल छैन, व्यक्तित्वको विकासानुसार टसल भइरहेको हुन्छ भन्छे उसकी पत्नी । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट !
अचेल राजनीतिवालाहरू यो शब्दावली बढी प्रयोग गरिरहेछन् । ऊ च्यानलहरूमा राजनीतिक विश्लेषण हेर्छ । त्यस्तो के नै छ र कन्फ्लिक्ट नेताहरूबीच ? सत्तास्वार्थको कन्फ्लिक्ट छ ।
तर, छोराछोरीमा ? विदेश जान चाहिने रकम उसकी पत्नी र उसले दिइरहेछन् । छोरा र छोरी अलगअलग दिशातिर मुख फर्काएर बसेका हुन्छन् । स्वाभाविक हो, मुलुकका नेता नै त्यस्ता छन्, देखासिकी पनि त छ ।
उनीहरूको स्वभावमा मेल छैन । एकै आमाबाबुबाट जन्मेका भए पनि भित्री गुणात्मकता फरक छ । छोरी अमेरिकातिर र छोरो अस्ट्रेलियातिर । तर, दुवै विदेशतिर हानिन प्रयत्नरत छन् ।
यसमा समानता छ । देश छाड्ने प्रयत्नमा समानता छ । ऊ र उसकी टिचर पत्नी सन्तानका अगाडि विवश छन्, तिनका गतिविधि हेरिरहन ।
त, तय भयो देउघाट जाने । त्यस दिन जुन दिन उनीहरू देउघाटतिर लागे स्पेसल बसमा, प्रसन्न थिए – वृद्धाश्रम हेरेर उमेर ढल्केपछिको बन्दोबस्तका लागि कुरा गर्ने । तर, पछि भन्नाले भविष्यको गर्भमा के छ, कसले देखेको छ ? अहिल नै वृद्धाश्रममा आश्रय लिनुपर्न उनीहरू दुवैले देखिरहेका छैनन् ।
दुई रात बसेर फर्कने कार्यक्रम छ । यसरी उनीहरू लोग्नेस्वास्नी हाँस्दैबोल्दै देउघाट पुगे । अर्को दिन बिहान पत्नी घाटमा नुहाउन गई । ऊ उठ्न सकेन ।
पत्नीले दुईचारजना साथी बनाइसकेकी रहिछ । महिलाहरू सम्पर्क स्थापित गर्न कुशल हुन्छन् । पुरुषहरू बोधो हुन्छन् । अलि अहम्मन्यतापीडित । ऊ ओछ्यानमा सुस्ताइरह्यो । केही बेरपछि उठेर घाटतिर लाग्ने विचार गर्दै थियो ।
पत्नीले एकजना परिचित पठाएर उसलाई घाटतिर बोलाई । ऊ ओछ्यानमै थियो । किन हो भनेर उसको मनमा कुतूहलसहित प्रश्न उब्जियो । लुगा लगाईवरी ऊ घाटतिर गयो, हतारको भाव देखाउँदै ।
घाटनिर पुगेपछि ऊ होस फर्केको मानिसझैँ अत्तालियो र सोच्यो— घाटैमा बोलाउनुपर्ने के थियो ? यो के आइलाग्यो, पत्नीले किन बोलाई ?
पत्नी बेहोस भएकी रहिछ । कारण यो थियो, घाटमा उसको पिताको चिता बलिरहेको रहेछ । माइतमा के हुँदै छ भन्ने उसलाई थाहा रहेनछ । उसका आमाबाबु देउघाटतिर तीर्थाटनमा निस्केका रहेछन् ।
पत्नीले थाहा पाएकी थिई कि यता आएपछि पिता बिरामी परेछन् । वृद्ध काया । थोरै दिनको बिरामीले बितेका रहेछन् ।
ऊ पुगेपछि पत्नीलाई होसमा ल्याउने प्रयास गर्यो । एकातिर घाटमा उसको ससुराको चिता बलिरहेको थियो । पत्नी होसमा आई । कातर आँखाले ऊतिर हेरी ।
पत्नीलाई कम्बल ओढाइएको थियो । बल्दो चिताको दर्शन गराएर पत्नीलाई एम्बुलेन्सको बन्दोबस्त गरीवरी अस्पताल लगियो । बाटोमा उसले भन्यो, ‘धर्मको फल हो यो ।’
पत्नीले आँखामा प्रश्नचिह्न बनाएर ऊतिर हेरी— कुन कुरा ?
पतिले अलि आश्वस्त भावमा भन्यो, ‘तीर्थमा निस्केका बुढाले यतैतिर प्राण त्यागे । पुण्यात्मा रहेछन् ।’ पति ढुक्क देखियो, यस्तो पुण्यस्थलमा ससुराको मृत्यु भएकामा ।
पत्नीलाई चित्त बुझेन । पतिको यो कस्तो सान्त्वना हो, दुःखलाई दुःख नदेख्ने ? यिनले दुःख के हो भन्ने बुझेका रहेनछन् ? भित्री मनको दुःख लुकाउन जानेका हुन् कि ? तर, अनुहारमा त्यस्तो भाव झल्केको छैन ।
मृत्युुको दुःखलाई पनि सुखमा परिणत गर्ने कला जानेका रहेछन् उसका श्रीमान्ले— पत्नीले यस्तो त सोची, तर पिताको निधनमा उसको शोकाकुल मनले पतिको भनाइबाट सान्त्वना पाउन सकेन ।
पत्नीले मनमनै प्रश्न गरी— यो मानिस सबैमा सधैँ सुख देख्छ ?