site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाकालमा बोलाइए, दसैंको मुखमा हटाइए वीरका २२४ स्वास्थ्यकर्मी 

काठमाडौं । वीर अस्पतालमा करारका चिकित्सक स्वास्थ्यकर्मी हटाइएपछि १० भन्दा बढी महत्वपूर्ण विभागको सेवा प्रभावित बनेको छ ।  पारिश्रमिक भुक्तानी गर्न नसक्ने भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले एकैपटक २२४ जना करारका कर्मचारी हटाएपछि सेवा प्रभावित हुन पुगेको हो । 

सेवाबाट हटाइएकामा सबैभन्दा धेरै १४९ जना स्टाफ नर्स छन् ।  त्यस्तै ४५ जना मेडिकल अधिकृत, ल्याब टेक्निससियन १०, रेडियोग्राफर ३, डाइटिसियन १ जनालाई पनि सेवाबाट हटाइएको छ ।  त्यस्तै प्राविधिकतर्फ मर्मत सहायक तथा बायोमेडिकल टेक्निसियन ५, इलेक्ट्रिसियन ४, लिफ्ट असिस्टेन्ट ३ जनालाई पनि वीरले असोज २१ गते आइतबारदेखि नै सेवाबाट  हटाएको जानकारी गराएको छ । 

आकस्मिकदेखि शल्यक्रियासम्मका सेवा प्रभावित 

वीर अस्पतालमा कार्यरत २२४ जना कर्मचारी एकैपटक सेवाबाट हटाइँदा आकस्मिक कक्षदेखि आईसीयू र शल्यक्रिया सेवासमेत प्रभावित भएको छ ।  आइतबार नै न्युरो लगायतका आधाभन्दा बढी शल्यक्रिया रद्ध गर्नुपरेको अस्पताल निर्देशक डा. सन्तोष पौडेलले बताए । 

“एउटै शल्यक्रिया कक्षमा १३ जनासम्म नर्स आवश्यक हुन्छ, आधाभन्दा बढी कटौती भएपछि त्यसको असर आजैदेखि देखिन थालेको छ,” उनले भने ।  ठूलो संख्यामा करारका चिकित्सक नर्स हटाइँदा मेडिकल आईसीयू, एचडीयू, मिर्गौला प्रत्यारोपण, डायलायसिसलगायतका सेवा प्रभावित भएका छन् । 

जनशक्ति कम हुने भएपछि अस्पतालले मिर्गौला प्रत्यारोपण, जनरल सर्जरीलगायतका सेवाको लागि दिन घटाउने तयारी गरेको अस्पतालका एक कर्मचारी बताउँछन् । 

दसैंको मुखमा न तलब न जागिर 

न्याम्सले सेवाबाट हटाएका कर्मचारीले तीन महिनादेखि पारिश्रमिकसमेत पाएका छैनन् । प्रत्येक ६ महिनामा करार नवीकरण हुनुपर्ने नियुक्ति २०८० देखि नवीकरण नभएको न्याम्सले जनाएको छ । 

“करार नवीकरण नभएपछि हामीले साउनयताको तलब पनि पाएका छैनौँ, यसबीचमा पटक–पटक अस्पताल प्रशासनमा हामीले अनुरोध ग¥यौँ, तर नवीकरण भएन, अहिले आएर एक्कासी आइतबारदेखि काममा नआउनू भनियो, त्यो पनि औपचारिक सूचनाबाट होइन, विभागीय प्रमुखमार्फत्, यो त अन्याय भएन  र ?” मेडिकल अधिकृत डा. श्याम नारायण मेहेताले भने । 

उनले कोभिडको बेलामा जोखिम मोलेर काम गरेको भए पनि सरकारले त्यसको बेवास्ता गरेको बताए । “हामीले कोभिडको त्यस्तो ठूलो जोखिममा हामीले राज्यलाई सहयोग गर्ने अहिले राज्यले चाहिँ हामीलाई अलपत्र पारेर छोड्ने ?,” उनले थपे । 

सेवाबाट हटाइएका नर्स र अन्य कर्मचारीले समेत असारयताको पारिश्रमिक नपाएको गुनासो गरे ।  “हामी करार सेवामा आएका हौँ, छोड्दै छोड्दैनौँ भनेको होइन तर नयाँ जनशक्ति नआएसम्म हाम्रो करार अवधि लम्ब्याइयोस् यति हाम्रो माग हो,” सेवाबाट हटाइएकी एक नर्सले भनिन् । 

हटाइएका कर्मचारीका लागि मासिक खर्च ९५ लाख, जिम्मेवारीबाट पन्छिँदै सरकार 

न्याम्स कार्यकारी परिषद्को असोज १५ गतेको बैठकबाट कोरोनाकालमा थपिएका कर्मचारीको सेवा अवधी नवीकरण नगर्ने निर्णय भएको थियो ।  निर्णयमा नेपाल सरकारबाट २२४ जना जनशक्तिका लागि बजेट विनियोजन नभएको तथा आन्तरिक स्रोतबाट भुक्तानी गर्ने दायित्व बहन गर्न नसक्ने कारण उल्लेख गरिएको छ । 

सोही निर्णयबमोजिम असोज १९ गते न्याम्सले नौ वटा विभागलाई कोभिड करारका कर्मचारी हटाउन सर्कुलर गरेको थियो ।  अस्पताल निर्देशक डा. पौडेलका अनुसार अहिले हटाइएका कर्मचारीका लागि मासिक ९४ लाख ८७ हजार ६१५ रुपैयाँ पारिश्रमिकमा खर्च हुँदै आएको छ । 

बजेट अभावको कारण देखाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सलाई असारदेखि नै ति कर्मचारी  हटाउन दबाब दिइरहेको थियो ।  यसबीचमा मन्त्रालयसँग पटक पटक छलफल भए पनि मन्त्रालय सकारात्मक नभएको उनको भनाइ छ । 

असारदेखि नै उनीहरुको करार नियुक्ति नवीकरणका लागि पत्राचार गर्दा मन्त्रालयले स्पष्ट जवाफ नपठाएको उनी बताउँछन् ।  नवीकरण नभएकै कारण साउनयता तलब दिन नसकिएको उनको भनाइ छ । 

“करारकै भए पनि उनीहरुको भरमा हामीले सर्जिकल भवन पूर्ण रुपमा सञ्चालन गर्न सकेका हौँ, उनीहरु हटेपछि वीरको सेवा नराम्रोसँग प्रभावित हुन्छ,” निर्देशक डा. पौडेल भन्छन् ।  उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका बेला विज्ञापनमार्फत् नै नियुक्त गरिएको हो । 

पहिलो लहरमा वीर अस्पतालई कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको थियो । वीरमा नयाँ सर्जिकल भवन पूर्णरुपमा सञ्चालनका लागि कोभिडकालमा नै ८३१ जनाको दरबन्दी स्वीकृत भइसकेको छ । 

अहिले हटाइएका कर्मचारी सोही दरबन्दीभित्र करार सेवामा लिइएका जनशक्ति भएको डा. पौडेल बताउँछन् । 

स्वास्थ्यमन्त्रीको सनक, भीसीको निरीहता ! 

न्याम्समा कोभिड करारका कर्मचारीलाई हटाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै पूर्ण हात रहेको  वीर अस्पतालका एक उच्च अधिकारी बताउँछन् । 

“फरक पार्टीका मन्त्रीको कार्यकालमा नियुक्त भएका कर्मचारी भएकाले मन्त्रीले पनि उनीहरुप्रति सद्भाव राख्न सकेनन्, न्याम्सको तर्फबाट पनि अडान पुगेन, आखिर दक्ष जनशक्ति बाहिरिने अवस्था आयो,” ती अधिकारीले भने । 

करारका कर्मचारी हटाउनू भन्ने मन्त्रीको निर्देशनसँगै उपकूलपति (भीसी)  डा. भुपेन्द्र बस्नेतलाई न्याम्सको टिमले मन्त्रीसँग छलफल गर्न र निर्णय रोक्न पटक पटक आग्रह ग¥यो । 

तर भीसीले ‘मन्त्रीको निर्देशन आइसकेपछि के गर्न सकिएला र ?’ भन्दै थप छलफल गर्न नचाहेको  उनी बताउँछन् ।  आइतबार दिउँसो भीसीसँग छलफलमा बसेका नर्सलाई भीसीले मन्त्रालयस्तरकै निर्णय भएकाले न्याम्सको केही नलाग्ने जवाफ दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro