site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत पुर्‍याउन सहज छ ? 

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) विश्वासको मत लिँदै छन् । कोसी प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजेलाई तय भएको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारले गत भदौ ४ गते लिएको विश्वासको मत सम्बन्धी प्रक्रिया सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सभाध्यक्ष इस्राइल मन्सुरीको समेत मतगणना गरेपछि यो प्रक्रिया बदर गर्दै कार्कीको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो । भदौ २२ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र, राप्रपा र जसपासहितको समर्थनमा पुस २४ गते पहिलो पटक मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो ।

शनिबार विश्वासको मत लिने तय भएसँगै कार्कीले आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दललाई पत्राचार गरेका छन् । तर, संसद्‌मा रहेका दलहरूले भने विश्वासको मत दिन नसक्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई विश्वासको मत दिन नसकिने बताउँदै भने, “हाम्रो दलले निर्णय नै गरेर विश्वासको मत दिन नसकिने जनाउ दिइसकेको छ ।” 

कार्की नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पनि विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भने, “उहाँलाई विश्वासको मत दिनसक्ने अवस्था छैन् ।” 

गठबन्धनको सरकार ढाल्न बारम्बार अग्रसर रहेका कार्कीलाई आफूहरूले समेत विश्वासको मत नदिने एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले बताए । 

यसअघि, कार्की नेतृत्वको पहिलो सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले सरकारमा छैन । राप्रपाले विश्वासको मत प्राप्त नहुने अवस्थामा प्रस्ट भएसम्म कुनै पनि दललाई समर्थन नगर्ने नीति लिएको छ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भन्छन्, “कुनै दलले स्पष्ट विश्वासको मत लिन सक्ने अवस्था नभएसम्म हाम्रो समर्थन कसैलाई पनि हुँदैन् ।” 

कोसी प्रदेशसभामा एमालेसँग (उपसभामुखसहित) ४० सांसद छन् । कांग्रेससँग २९, माओवादीसँग १३, राप्रपासँग ६, समाजवादीसँग ४ र जसपासँग १ जना सांसद छन् । गठबन्धनमा रहेका दलसँग बहुमत पुग्ने ४७ सांसद छन् । नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले स्थिरता र दिगो सरकारका लागि एमालेलाई मत दिन आग्रह गर्दै दलहरूलाई पत्राचार गरिएको बताए । 

कार्कीले बहुमत सिद्ध गर्न नसके अब संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठन हुनेछ । यो उपधाराअनुसार सदनमा बहुमत पुर्‍याउन सक्ने दलका कुनै एक सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन् । “अब यही उपधारा अनुरुपको सरकार गठन गर्ने तयारी सुरु हुनेछ,” कांग्रेस प्रमुख सचेतक राईले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro