site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विस्तृत शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिँदै हिँडेको ओलीमाथि आरोप
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले देशमा सामाजिक सद्भाव भड्किन थालेको भन्दै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नेपालगन्ज, धरान तथा सिरहामा भएका घटनाले समाज बिथोलिने भय बढेको बताए ।

“नेपालगन्ज कर्फ्युले घेरियो, धरान र सिरहा पनि उस्तै भयो । देशभर जातीय र साम्प्रदायिक द्वन्द्वको शृंखला बढ्यो । सामाजिक सञ्जाल यति अराजक छ, चिकित्सक, प्राध्यापक सुरक्षित छैनन् । अराजकको शृंखला अघि आएको छ,” उनले भने ।

देशभर अराजकता बढ्दा संसद्‌मा त्यस विषयमा छलफल नभएको उनले बताए । नागरिकले संसद्प्रति तिखो नजरले हेरिरहेको भन्दै उनले सदनले जनताका आवाज बोक्न र घन्काउन नसकेको उल्लेख गरे ।

Argakhachi Cement Island Ad

जनताका एजेन्डा छोडेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विस्तृत शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिँदै हिँडेको आरोप सांसद सापकोटाले लगाए ।

“सदनको चित्र हेरौँ, पूर्वप्रधानमन्त्री घण्टौँ भाषण गर्नुहुन्छ । अराजकता कन्ट्रोल गर्ने कुरा आउँदैन, जसवालको बारेमा सन्देश प्रशारण हुँदैन,” उनले भने, “उल्टै विस्तृत शान्ति सम्झौता आकर्षित हुने संविधानको मर्मविपरीत बोल्ने ? देश–समाज कता जाँदै छ ? समाजले कोसँग आशावादी हुने ?”

समाज अनुशासित बनाउन सबैभन्दा पहिला राजनीतिक दल र नेताहरू स्वअनुशासनमा बस्नुपर्नेमा उनले जोड दिए ।

“समाज अनुशासित बनाउने हो भने, सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखल नियन्त्रण गर्ने भए सबैभन्दा पहिलो माउ नीति राजनीति ज्यादा अनुशासित हुनुपर्छ । शीर्ष नेता अनुशासित हुनुपर्छ । आदेश गरेका कुरा परिपालना गर्न स्वअनुशासित हुनुपर्दछ । समाज यता दिशा गएको छ, सबैभन्दा पहिला शीर्ष नेता र राजनीतिज्ञ गम्भीर हुनुपर्दछ,” उनले भने ।

सांसद सापकोटाले ओलीको अभिव्यक्तिले समाज भाँड्न खोजेको भन्दै विस्तृत शान्ति सम्झौताविरुद्ध बोल्न मिल्छ ? भनी प्रश्न गरे ।

“उहाँले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता यति सजिलै भुल्न मिल्छ ? प्रमुख प्रतिपक्ष वेटिङ सरकार हो । पार्ट अफ द स्टेट प्रमुख प्रतिपक्षी हो,” उनले भने, “तर, मूल नेताले के विस्तृत शान्ति सम्झौताविरुद्ध बोलेर फेरि समाजमा, युद्धमा गएका सबै घाइतेहरूले गोली बोकेको शरीरले सडकमा आन्दोलन गर भनेको हो ?”

जनताका पक्षमा प्रभावकारी नभएको भन्दै उनले संसद् राजनीति गफ गर्ने थलो मात्र बन्न थालेको टिप्पणी गरे ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्