site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा ओलीविरुद्ध ‘भूमिगत शैली’को मोर्चाबन्दी !

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नै रणनीतिक ‘मुभ’ सुरु भएको छ ।  कुनै समय अध्यक्ष ओलीका खास व्यक्तिका रुपमा चिनिएका नेताहरु उनको निर्देशनविरुद्ध उभिएका छन् ।

एमालेको जारी प्रदेश अधिवेशनमा ओलीविरुद्ध शक्ति निर्माणको झिल्को देखिएको छ ।  लुम्बिनी र वाग्मतीको चुनावी नतिजा तथा कोसी र कर्णालीमा नेतृत्वका लागि भएका चुनावले प्रदेश अधिवेशनमा अध्यक्ष ओलीकै निकटस्थबीच सत्ता र प्रतिपक्षको जस्तै संघर्ष चलिरहेको छ । 

अर्थात्, नेतृत्वको आकांक्षीबीच अध्यक्ष ओलीको निकटस्थ देखाउने प्रतिस्पर्धा नै चलिरहेको छ । कुनै बेला निकट मानिएकाहरु नै ओलीले अध्यक्ष बनाउन चाहेका व्यक्तिविरुद्ध खडा भएका छन् ।  एमालेमा ओलीको व्यक्तिवादी व्यवहारबाट पिल्सिएका आकांक्षीहरु निर्देशनभन्दा अलग्गै उभिएका छन् ।

Argakhachi Cement Island Ad

“हिजो ओलीको व्यक्तित्वमा मेरो पनि अनुहार छ भन्नेहरु उनले भनेको व्यक्तिविरुद्धमा खडा भए,” प्रदेश अधिवेशनमा देखिएको दृश्य बयान गर्दै पार्टीका एक शीर्ष नेताले भने, “जसले साथ दिए, उसैमाथि शंका भयो । दमन, हस्तक्षेप, अत्याचार उसैमाथि भयो । त्यसको आक्रोश अधिवेशनमा देखिएको छ ।”

एमालेमा सर्वसम्मत् रुपमा अध्यक्ष चयन गर्ने ओलीको निर्देशन लुम्बिनी अधिवेशनबाट उल्लंघन भयो ।  लुम्बिनी अधिवेशनमा अध्यक्ष ओलीले सघाएका केन्द्रीय सदस्य हरि रिजालविरुद्ध राधाकृष्ण कँडेल उभिए । उनी विगतमा ओलीनिकट नै मानिन्थे । तर, अधिवेशनमा अध्यक्ष ओलीले उनीविरुद्ध उभिएका केन्द्रीय सदस्य हरि रिजालको पक्षपोषण गरे । 

उनले रिजालको पक्षमा भोट नै मागिदिने परिस्थिति निर्माण भएपछि कँडेल प्रतिस्पर्धामा उत्रिए । “अध्यक्ष ओलीले रिजालको पक्षमा फोन गरेपछि पनि कँडेल प्रतिस्पर्धामा उभिनुभयो,” लुम्बिनी अधिवेशनलाई नियालेका एक नेता सुनाउँछन् ।

लुम्बिनी अध्यक्ष बन्न पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथ पाएका कँडेल दुई मतको मतान्तरमा निर्वाचित भएका थिए ।  अध्यक्षसहित महासचिव शंकर पोखरेलको साथ पाएका रिजालले हार व्यहोरे ।

लुम्बिनी चुनावको बाछिटा अन्यत्र पनि देखियो । अरु प्रदेशमा पनि चुनाव टार्न नसक्ने परिस्थिति ओलीनिकट मानिनेहरुले नै सिर्जना गरे । फलस्वरुप वाग्मती, कर्णाली र कोसी प्रदेशमा नेतृत्वको लागि निर्वाचन भइसकेको छ । चुनावमा ओलीपक्षीय नेताहरुबीच नै प्रतिस्पर्धा भएको छ ।

वाग्मती प्रदेशमा पराजित कृष्ण दाहाल कुनै बेला ओलीको एकदमै नजिकका मानिन्थे ।  उनको पहुँच बालकोटको किचनसम्मै थियो ।  तर, बिस्तारै उनी छायामा पारिए । ओली र दाहालबीच विभिन्न कारणले बिग्रँदै गएको परिस्थितिमा २०७९ को चुनावले थप दुरी बढाएको नेताहरुको बुझाइ छ  ।

प्रतिनिधिसभा निर्वाचनमा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दियो ।  एमालेको गढ मानिने मकवानपुरमा एमाले पराजित भयो ।  त्यसको असन्तुष्टिस्वरुप दाहाल अध्यक्ष ओलीको आशीर्वाद प्राप्त कैलाश ढुंगेलविरुद्ध चुनाव उठे । 

दाहालले तत्कालीन दशबुँदे सहमति गरेर एमालेमा रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेकाहरुको साथ पाए । तर, चुनाव भने हारे । सुरुमा पक्षमा देखिएका एमाले पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटाले पनि अन्तिम समयमा दाहाललाई साथ दिन सकेनन् । 

दाहाल चुनावी भिडन्तमा उत्रिएपछि महासचिव शंकर पोखरेलले वाग्मती प्रदेशका जिल्ला इन्चार्ज र अध्यक्षहरुलाई भेला गरेर ढुंगेलका पक्षमा मतदान गर्न निर्देशन नै दिनुपरेको थियो ।

कोसी प्रदेशमा अध्यक्षको उमेदवार बनेका विनोद ढकालको सम्बन्ध पनि ओलीसँग प्रगाढ नै थियो । केही व्यावसायिक विषयमा सहकार्य पनि भएको ओली–ढकाल सम्बन्धबारे जानकार एमालेकै एक नेताले दाबी गरे ।

तर, पछिल्लो समय उनी पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट बनेका छन् ।  कोसीमा अध्यक्ष ओलीले घनश्याम खतिवडालाई नेतृत्त्व दिन चाहे ।  ढकालको उमेदवारी फिर्ता गर्न अरु जिम्मेवारी दिने आश्वासन नेताहरुले दिएका थिए । तर, ढकाल पार्टी नेतृत्वको निर्देशनविपरीत उभिए ।

उनी निर्णयबाट पछि नहट्दा कोसीमा पनि निर्वाचन भयो । पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका यामलाल कँडेल कर्णालीको राजनीतिमा भिजेका ओली निकटस्थ नेता हुन् ।  तर, उनी पनि प्रदेशको नेतृत्व चयनका विषयमा ओलीप्रति सन्तुष्ट देखिएनन् । उनले अध्यक्ष ओलीले च्यापेका व्यक्तिविरुद्ध प्यानल नै खडा गरे ।

अध्यक्ष ओलीले कर्णालीको नेतृत्वमा मीनबहादुर शाहीको पक्ष लिँदा कँडेलले पोलिट्ब्युरो सदस्य गुलाबजंग शाहलाई उमेदवार बनाए ।  अर्थात् विगतमा ओलीको नजिकमा रहेका र यतिखेर पेलानमा परेकाहरुले यो अधिवेशनमा असन्तुष्टि व्यक्त गरे । 

जसकारण नेतृत्त्वले चाहेको व्यक्ति नै अध्यक्ष बन्ने परिस्थिति नभएपछि एमालेको प्रदेश अधिवेशनमा निर्वाचन भएको छ । अध्यक्ष ओलीले पार्टीको अधिवेशनमा महासचिव पोखरेललाई खटाए ।  उनले महासचिवमार्फत नै आफूले चाहेका व्यक्तिलाई उमेदवारको रुपमा अघि सारेको अधिवेशनमा खटिएका नेताहरु बताउँछन् ।

कसले गर्दै छ नेतृत्व ?

एमालेमा भूमिगत शैलीमा सुरु भएको ओलीविरुद्धको असन्तुष्टि विस्तारै एकीकृत हुँदै छ ।  पार्टीमा टिकट नपाएका, उपयुक्त व्यक्तिलाई जिम्मेवारी नदिएको, ‘बा’ ब्रान्डलाई उपयुक्त नठान्नेहरु एकीकृत हुन थालेका छन् । 

बाहिर नबोले पनि एमालेका सचिवालय सदस्यहरु नै ओलीसँग सन्तुष्ट छैनन् ।  दोस्रो तहका असन्तुष्ट नेताहरुले गुटबन्दी थालेका छन् । ओलीभन्दा तल उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुट निर्माणमा लागेको चर्चा राजनीतिक वृत्तमा छ । 

तर, एमालेकै एक नेताका अनुसार पौडेल गुट निर्माणमा सक्रिय छैनन् । “महासचिवले गुट फैलाउन खोजेको देखिन्छ । पौडेल त्यो ‘रेस’मा देखिँदैनन्,” उनी भन्छन् ।

एमालेमा तत्कालीन मालेमा महासचिव सीपी मैनालीविरुद्ध असन्तुष्टहरु एक भएजस्तै अवस्था देखिन थालेको पार्टीका एक सचिवालय सदस्यको विश्लेषण छ ।  मालेका महासचिव रहेका मैनाली ०३९ सालमा पदबाट हट्नु परेको थियो ।

तत्कालीन मालेमा शक्तिशाली छवि बनाएका मैनाली केन्द्रीय कमिटीमा नै अल्पमतमा पर्ने देखिएपछि आक्रोश पोख्थे ।  त्यस समयमा उनको व्यवहारले असन्तुष्ट नेताहरु उनीविरुद्ध एकजुट भए ।

“केन्द्रीय कमिटी बैठक हुन्थ्यो । उनी अल्मतमा परेपछि आक्रामक व्यवहार गर्थे । उनको व्यवहारले एकपछि अर्को असन्तुष्टि बढ्दै गयो,” ती नेताले बाह्रखरीसँग भने, “असन्तुष्ट बहुमत सदस्य उनलाई हटाउने ठाउँमा पुगे । र, अलग–अलग हुँदै छलफल गर्न थाले । बिस्तारै उनी बिदाको चरणमा पुगे ।”

त्यस समयमा मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव बनेका थिए ।  जसमा माधव नेपालको स्पष्ट भूमिका थियो । 

त्यसपछि पार्टी नेतृत्वमा मदन भण्डारी आए ।   भूमिगत कालबाट गुज्रिएका ‘दम्भी’ स्वभावका मैनाली त्यसपछि भने निकै त्रसित देखिएको अर्का नेता सुनाउँछन् ।

“भूमिगत कालबाट गुज्रिएर आएका कम्रेड साथीहरुसँगै त्रसित बन्दै गए । यतिसम्म भयो कि, उनी मदन भण्डारी सुतेको कोठमा जान पनि डराउन थाले,” उनी त्यसबेलाको घटनाबारे भन्छन्, “एमाले कोही पनि व्यक्ति अति शक्तिशाली रहन सक्ने पार्टी होइन । खास कालखण्डमा शक्तिशाली नै रहेछ क्यारे भन्ने पर्न गएको देखियो ।”

पछिल्लो दशक ओली एमालेमा निकै शक्तिशाली बने ।  ०७२ मा नाकाबन्दीविरुद्ध उभिएपछि उनको लोकप्रियता चुलिएको थियो ।  तर, त्यो ‘ग्राफ’ पछिल्लो समय निकै घटेको पार्टीकै नेताहरु स्वीकार्छन् ।  असन्तुष्टहरु एक—अर्कामा कुरा बढ्दै गएपछि अन्तिममा निर्णायक मोड आउने एक सचिवालय सदस्यको दाबी छ ।

“नेपालमा राजा पनि राजाकै मान्छे उनीविरुद्ध उत्रिएपछि फालिएका हुन् । ओलीलाई बनाउन भूमिका खेल्नेहरु नै उनीसँग सन्तुष्ट छैनन् । असन्तुष्टहरुबीच एक–अर्कासँग कानेखुुसी हुन थालेको छ,” ती नेताको दाबी छ, “उनीहरु चुप छैनन् । कदम चालिरहेका छन् ।”

प्रदेश अधिवेशनमा प्रतिस्पर्धा देखिए पनि ओलीविरुद्ध कसले गुट बनाइरहेको छ भन्ने स्पष्ट देखिँदैन ।  तर, त्यस्तो पात्र निर्णायक क्षणमा मात्रै देखिने अर्का नेताको विश्लेषण छ ।  उनी भन्छन्, “यतिखेर नै देखिने गरी कोही छैन । पहिले पनि त देखिएका होइनन् । सुस्त गतिमा रणनीति तय हुँदै छ । परिणाममा त्यो देखिनेछ ।”

एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारी ११औँ महाधिवेशनमा नेतृत्व गर्ने गरी आउन सक्ने सम्भावना कायमै छ ।  नेताहरु पनि त्यो नकार्न सक्दैनन् । एमालेका एक पदाधिकारी ओली नै विद्यालाई अध्यक्षको रुपमा अघि सार्न सक्ने देख्छन् ।

“पहिलेभन्दा अध्यक्षको बोली विद्या भण्डारीप्रति नरम देखिएको छ,” ती पदाधिकारी भन्छन्, “अध्यक्षले नै उहाँलाई अघि सार्ने परिस्थिति नबन्ला भन्न सकिँदैन ।”

जारी प्रदेश अधिवेशनमा भण्डारीको भूमिका भने स्पष्ट नभएको नेताहरु बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्