काठमाडौं । सामान्यतया अर्थसचिव हत्तपत्त फेर्नु उचित मानिँदैन । संसदीय काखण्डमा पनि सचिव पाँच वर्ष अर्थ मन्त्रालयमै बिताउँथे, तिनको पृष्ठभूमि अर्थकै हुन्थ्यो ।
अर्थ मन्त्रालयभन्दा बाहिर अर्थसचिव बनाउँदा मुलुककै अर्थतन्त्रलाई संकटमा पार्न सक्ने आकलन गर्दै ‘टेक्नोक्र्याट’ खोजिन्थ्यो । अर्थात्, अर्थतन्त्रकै पृष्ठभूमि खोज्दै अर्थसचिव बनाइन्थ्यो । भ्रष्टाचारको अभियोग लागेको अवस्थामा बाहेक सरुवा सायदै हुन्थ्यो ।
अन्तर्राष्ट्रिय अभ्यासमा पनि अन्य सचिव फेरिइरहन्छन् । तर, अर्थसचिव हत्तपत्त फेरिँदैनन् । किनभने, राजनीतिक पृष्ठभूमिका मन्त्रीले अर्थतन्त्र धेरै बुझेका हुँदैनन् ।
मन्त्रीहरूलाई सही सल्लाह दिन पनि अर्थ मन्त्रालयमै जीवन गुजारेका, बुझेका, दाताले पनि पत्याएकालाई खोजिन्थ्यो । अर्थात्, अर्थकै ‘क्याडर’लाई सचिवको जिम्मेवारी दिइन्थ्यो ।
अरू मन्त्रालयमा सचिवहरू फेरिँदा ठूलो असर नपर्ला । तर, अर्थको सचिव फेरिइरहँदा उद्योगी, व्यवसायी र विदेशी दातृनिकायले सरकारलाई हेर्ने तरिकामा फरक पर्छ । एउटा अर्थसचिवसँग गरिएका सहमति अर्काेसँग फेरि गर्न दातृनिकायले मान्दैनन् ।
उद्योग, व्यवसायीले पनि सचिवसँग आफ्ना समस्या राख्ने गर्छन् । तर, अर्थ नै नबुझेको सचिव हुँदा व्यवसायीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिधै भेट्ने गर्छन् । ती सचिवहरूको भूमिका कमजोर बन्छ ।
अर्थ अरू मन्त्रालयहरूको आदर्श पनि हो । अरू मन्त्रालयका सचिवहरूले कामको सिलसिलामा अर्थसचिवसँग सल्लाह लिने गर्छन् । त्यसैले अर्थसम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति अर्थसचिवमा नियुक्त हुनुपर्ने एक पूर्वअर्थसचिव बताउँछन् ।
“अरू मन्त्रालयमा सचिव परिवर्तन हुँदा कसैलाई केही फरक पर्दैन । तर, अर्थसचिव फेरिँदा देशलाई नै ठूलो असर पर्छ,” ती पूर्वसचिवले बाह्रखरीसित भने, “अर्थ मन्त्रालय भनेको अन्य मन्त्रालयलाई सरसल्लाह दिने ठाउँ पनि हो । अन्य मन्त्रालयका सचिवले अर्थसचिवसँग आफ्नो काम गर्न सल्लाह–सुझाव लिने गर्छन् । त्यो भएर पनि सबैले मान्ने र काम जानेको अर्थसचिव हुनुपर्छ ।”
तर, पछिल्लो एक वर्षमा चारपटक अर्थसचिव फेरबदलमा परेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्मा अर्थमन्त्री भएका थिए । उनले अवकाशको संघारमा रहेका शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाएर महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई अर्थसचिव बनाए ।
त्यही बेलादेखि अर्थसचिवले पूरा कार्यकाल काम गर्ने वातावरण बिगारिएको अर्का पूर्वसचिवले बताए । “उपयुक्त पात्र शिशिरलाई हटाएर मरासिनीलाई ल्याए । मरासिनीले ‘सीसीटीभी फुटेज’ प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न नसकिने जिकिरसहित अर्थबाट अन्त्रय सरुवा मागेपछि राजस्वसचिव कृष्णहरि पुस्करलाई जिम्मेवारी दिइयो,” उनले भने ।
पुष्करलाई सरुवामा पार्दै तोयम रायालाई अर्थसचिव बनाइयो । अर्थमन्त्री बनेपछि डा. प्रकाशशरण महतले रायलाई हटाउँदै अर्जुनकुमार पोखरेललाई ल्याए ।
‘‘एक वर्षमै चार सचिव अर्थ मन्त्रालयले भोग्नु भनेको राम्रो पक्ष हैन,” ती पूर्वअर्थसचिवले भने, “यसले अर्थ मन्त्रालयप्रतिको विश्वास गुम्दै जान्छ । दातृनिकायले पनि विश्वास गर्ने वातावरण हुँदैन । उद्योगी र व्यवसायीले पनि अर्थलाई विश्वास गर्दैनन् ।”
अर्थमन्त्री डा. महतले नरुचाएका पात्र डा. कृष्णहरि पुस्कर यतिखेर अर्थसचिव बन्न पुगेका छन् । पुस्करलाई अर्थसचिव बनाउने मनसायमा मन्त्री थिएनन् । तर, पार्टी सभापति शेरबहादुर देउवा र उनको परिवारको दबाब टार्न असफल भए । पुस्करलाई ल्याउने निर्णयले कालान्तरमा अर्थमन्त्रीलाई नै ‘ब्याक फायर’ हुन सक्ने जानकार बताउँछन् ।
“अर्थमा ल्याइएका सचिव पुस्करसँग अर्थमन्त्री महतको नजिकको चिनजान रहेनछ । तोयाम रायालाई परिवर्तन गर्ने बेलामा सभापति (शेरबहादुर देउवा)को परिवारबाट नै पुस्करलाई अर्थसचिव बनाउन दबाब दिइएको थियो । तर, उहाँले काम गर्न सकिँदैन भनेर अस्वीकार गर्नुभयो,” स्रोतले भन्यो, “पुस्कर अस्वीकार गरेपछि अर्जनकुमार पोखरेलको नाममा सहमति भएको थियो । अर्थमा त्यति पोख्त नभएपछि मन्त्रीले पहिलेदेखि नै पोखरेललाई हटाउने प्रयास गरिरहनुभएको थियो ।”
अर्थमा पुस्करलाई अधिकांश सहसचिवले पनि नरुचाउने स्रोतको जिकिर छ । किनभने, उनी अर्थमा काम नगरी एकैचोटि राजस्वसचिवमा आएका थिए । उनी राजस्वसचिव हुँदा मातहतका कतिपय सहसचिव सरुवा मागेर अरू नै ठाउँमा गएका थिए ।
‘अदृश्य शक्ति’ले अर्थ मन्त्रालय चलाउने हुँदा जोकोही अर्थसचिव हुने प्रवृत्ति झाँगिएको एक पूर्वसचिवले बताए । यस्तो प्रवृत्तिले अर्थतन्त्र झनै बिग्रने उनको भनाइ छ ।