site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको वाग्मती अधिवेशन : नेतृत्वका लागि दुई केन्द्रीय सदस्यसहित चार मुख्य दाबेदार
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने असोजभित्रै बाँकी प्रदेशको अधिवेशन हुँदै छ । 

त्यसमध्ये अब वाग्मती प्रदेशको अधिवेशन पहिले हुनेछ । असोज ८ र ९ गते हुने अधिवेशनको तयारी तीव्र भइरहेको नेताहरू बताउँछन् । 

अधिवेशनका लागि प्रतिनिधि चयनको काम अन्तिम चरणमा पुगेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । दुुईवटा पालिकाको मात्रै बाँकी छ । सम्भवतः आजै सकिन्छ,” उनी भन्छन् । 

प्रत्यक्ष निर्वाचन र मनोनीत पाँच प्रतिशत गरी करिब एक हजार २५० जना प्रतिनिधि रहनेछन् । 

Global Ime bank

अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । 

काठमाडौं महानगरको इन्चार्जसमेत रहेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुँयालले अधिवेशनमा काठमाडौंका विभिन्न स्थानबाट र्‍याली अधिवेशनस्थल पुर्‍याउने तयारी भइरहेको जानकारी दिए । 

जो दाबेदार छन् 
वाग्मतीको हालको कमिटी ४७७ सदस्यीय छ । अब बन्ने कमिटी झण्डै आधा हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्य निर्वाचित गर्नेछ । 

प्रदेश अध्यक्षको नेतृत्वका लागि चारजना मुख्य दाबेदार देखिएका छन् । अधिवेशनमा दुईजना केन्द्रीय सदस्य प्रतिनिधि बनेका छन् । 

बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वका लागि लविइङमा छन् । 

प्रदेश अध्यक्ष पाण्डे नेतृत्वका विषयमा छलफल भइनसकेको बताउँछन् । सहमतिको प्रयास गरिने उनको भनाइ छ । 

“नेतृत्वको बारेमा हामीले अहिले छलफल गरेका छैनौं । अरु साथीहरूको पनि दाबेदारी रहे सहमतिबाट टुंग्याउन प्रयास गर्छौं,” उनी भन्छन् । 

केन्द्रीय सदस्य ढुंगेलले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताए । 

“प्रतिनिधि सबै आइसक्नुभएको छैन । प्रतिनिधिहरूको आशय र पार्टीको मनोविज्ञान मतर्फ देखिए नेतृत्वका लागि तयार छु,” उनी भन्छन्, “म नेतृत्वको उमेदवार हुँ ।”

पार्टीले केन्द्रीय सदस्यलाई पोलिट्ब्युरो सरहको मान्यता दिएकाले पनि प्रदेशको आकांक्षा राखेको उनले सुनाए । 

“प्रदेशको अध्यक्षलाई पोलिट्ब्युरो सदस्य बराबर मान्यता दिएको छ । केन्द्रीय सदस्य प्रदेशमा ओर्लने, पद घटुवा हुने भन्ने कुरा हुँदैन । यो कार्यकारी पद हो,” उनी भन्छन् । 

ढुंगेल ०४८, ०५१, ०६४ र ०७० मा चारैपटकको निर्वाचनमा पराजित भएका थिए । ०७४ को निर्वाचनमा रामेछापको प्रदेशतर्फ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी वाग्मतीको आर्थिक मामिलामन्त्री पनि भएका भए । 

त्यस्तै, अर्का केन्द्रीय सदस्य दाहालले आफू नेतृत्वको दाबेदार भएकाले नै प्रतिनिधि भएको बताए । 

“नेतृत्वको दाबेदार भएकाले नै केन्द्रीय सदस्य प्रतिनिधि बनेर आएको हो । छलफल भइरहेकै छ,” उनले बाह्रखरीसँग भने । 

०४८ र ०५६ मा पनि सांसद बनेका दाहाल ०७४ मा मकवानपुर– १ बाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि भएका थिए । 

वाग्मतीका पूर्वसभामुखसमेत रहेका श्रेष्ठ पनि प्रतिनिधि भएर आएका छन् । उनले पनि नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरिरहेको एक नेताले बताए । उनी एमालेको पूर्वपोलिट्ब्युरो सदस्य हुन् ।  श्रेष्ठ ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश कबाट निर्वाचित भएका श्रेष्ठ सभामुख बनेका थिए ।  

“पार्टीको पहिले पोलिट्ब्युरो सदस्य भइसक्नु भएका सानु श्रेष्ठ पनि प्रतिनिधि भएर आउनुभएको छ । उहाँले नेतृत्वको दाबेदारी गरिरहनुभएको छ,” ती नेताले सुनाए । 

अर्का एक नेताका अनुसार मुख्य दाबेदारी यी चार नेता देखिएका छन् । अध्यक्षमा प्रदेशका वर्तमान सचिव विजय सुवेदी, उपसचिव रत्ना गुरुङ पनि आकांक्षी देखिएका छन् । 

सर्वसम्मतिको पहल, पहिले नै उमेदवारी घोषणा नगर्न निर्देशन 
प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने प्रयत्नमा नेताहरू देखिन्छन् । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा नै उमेदवारी दिने दिनभन्दा अघि उमेदवारी घोषणा नगर्न निर्देशन दिइएको छ । वाग्मतीका अध्यक्ष पाण्डेले पहिले नै घोषणा नगर्न सर्कुलर जारी गरेको बताए ।

“अधिवेशनमा उमेदवारी दिने दिनअघि नै कसैले अरुको उमेदवारी र स्वःघोषणा  नगर्न सर्कुलर जारी गरेका छौँं,” उनी भन्छन् । 

पाण्डेले मूल नेतृत्व सहमतिमा नै गरियोस् र आफूहरूको पहल रहने पनि बताए ।

उनी भन्छन्, “मूल नेतृत्व सहमतिमै टुंगियोस् भन्नेमा हाम्रो पहल रहन्छ । वाग्मतीभित्र सहमति गर्न सक्छौँ भन्ने लाग्छ ।”

पोलिट्ब्युरो सदस्य फुँयालले पनि सहमतिको प्रयास गरिने बताए । 

“हामी सर्वसहमतिको प्रयासमा छौँ । अन्तिम समयसम्म सर्वसहमतिको प्रसास गर्छौं,” उनी भन्छन्, “सर्वसहमति नभए डिजिटल भोटिङ हुन्छ । नतिजा पनि छिट्टै आउँछ,” उनले बाह्रखरीसँग भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !