site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला नेपाल र चीनबीच १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार बिहीबारसम्म उक्त संख्यामा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने टुङ्गो लागेको हो ।

Argakhachi Cement Island Ad

“अहिलेसम्म १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीज्यूलाई गराएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “दुई देशका अधिकारीहरूबीच छलफल जारी छ । चीन भ्रमणमा जाने बेलासम्म एक–दुई वटा सम्झौता तथा समझदारीपत्रको संख्या घटबढ हुनसक्छ ।”

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ५ गतेबाट सुरु हुनेछ । उनी अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क जाँदै छन् । उनले असोज ४ गते न्युयोर्कमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

असोज ५ गते प्रधानमन्त्री प्रचण्डको न्युयोर्कबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी हङकङ हुँदै बेइजिङ जानेछन् ।

प्रधानमन्त्रीसँगै चीन जाने नेपाली प्रतिनिधिमण्डलमा करिब दुई दर्जन सदस्य रहने स्रोतले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्