सुखदुःखका दुई पल समातेर नराख
जान देऊ
बरु, एक क्षण अँध्यारोलाई अँठ्याऊ
र,
त्यही अँध्यारोमा आफूलाई खोज
मनको आँखाले हेर आफ्नो अनुहार
र,
तिम्रो अस्तित्वलाई इमानदार दृष्टिले अवलोकन गर त
तिमीजस्तो सुन्दर कोही छैन
तिम्रो खुट्टाको नेल र हतकडी तिमी स्वयम् हौ
दुनियाँको सोचको घेरा तोडेर यात्रा गर
भावनाको यात्रा
तिमी एक शीतल पवन हौ
कसले पठाएर आयौ ?
कसको पाहुना हौ ?
किन पिट्छौ पुर्पुरो अरूका खातिर ?
बग्दै जाऊ बग्दै जाऊ
कर्ममार्ग नभुल्दै जाऊ
हेरिराख जगत्को लीला
मौन चित्तले हृदय थामेर
कोही तिमीसँग मारामार गर्दै छ, तापनि
नाचिदेऊ मारामारबीच
र,
तिम्रा हरेक स्पन्दनलाई सुन त
परमात्माको आवाज सुन्नेछौ
मिठो स्वर, निर्मल ध्वनि
परमात्मा बोल्नेछ
तिमी सुन्नेछौ
अस्ति कति आए र गए
हिजो पनि कति आए
र,
ती पनि कोही गए कोही जाँदै छन्
आज आएका पनि
आफ्नो पालो कुरेर बसेका छन्
मानो सकेर जानेछन् सबै
तिमी एक कथा हौ
कोही लेख्दै छ तिम्रो कथा
एक पात्र मात्र हौ तिमी
सक्छौ, चारजनालाई हँसाऊ
सक्दैनौ हँसाउन त रुवाएर नजाऊ
तिमी एक अस्तित्व हौ प्रकृतिका
कोही तिम्रो कविता लेखिरहेछ
लेख्न देऊ, प्रसन्न होऊ
मन्द मुस्कानको ऊष्मा देऊ
ऊ खुसी हुनेछ
तिमी खुसी हुनेछौ
दर्द पनि जीवनको अंग हो प्यारे,
स्वीकार गर
दर्दमै नाचिदेऊ
दर्दमै हाँसिदेऊ
दर्द दिलको दबाई हो
दुख्न देऊ
सुन्दर मनले घनघोर रातमा कान थापेर सुन त
शान्त नीरवतालाई तोड्दै ईश्वर बोल्नेछ–
काजमा खटाएर पठाएको छु अविनाशी आत्मा !
आफ्नो काज फत्ते गरेर आऊ
सत्कर्मको भोज खाएर आऊ
अभिमानको ओज मारेर आऊ
करुणाको प्रीति लाएर आऊ
परोपकारको गीत गाएर आऊ
पदाधिकार त अन्तै छ प्यारे,
चार दिनको काज हो, रमाएर आऊ ।