साउन पर्व सुरु हुने महिनाको रूपमा चिनिन्छ । नेपाली समाजमा धेरै जात्रा चाडपर्व यसै महिनादेखि सुरु हुन्छन् । जस्तै; नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, दसैँ, तिहार इत्यादि । यसै सन्दर्भमा यहाँ जनैपूर्णिमाको विषयमा केही चर्चा गरिन्छ । नेपाली समाज कृषि प्रधान मुलुक हो । हरेक चाडपर्व, जात्राहरू खेतीपातीको काम सकेर खाली समयमा मनाइन्छ । पूर्वजहरूले बनाएका कतिपय चलनहरू वैज्ञानिक र तर्कपूर्ण रहेका छन् । केही पुराना परम्पराहरूले समाजलाई खोक्रो बनाए पनि केहीले समाजमा मेलमिलाप, एकता, सद्भाव र सदाचार कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
यस्तै चाडपर्वहरूमध्ये जनैपूर्णिमा वा रक्षाबन्धन पनि हो । क्षेत्री, बाहुन समुदायका पुरुष सदस्यले यसैदिन जनै फेर्ने हुनाले यसलाई जनैपूर्णिमा भनिन्छ । यसैदिन ब्राह्मणहरूद्वारा हातमा पवित्र डोरो बाध्ने गरिन्छ । यस पवित्र डोरोले रोग, भय इत्यादिबाट रक्षा गर्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाकै दिन विभिन्न गेडागुडी मिसाएर बनाएको “क्वाटी” खाइन्छ । नेपाल भाषामा “क्वा”को अर्थ तातो र “टी” को अर्थ झोल भन्ने हुन्छ । त्यसैले कसैकसैले यसलाई 'क्वाटी पूर्णिमा' पनि भन्दछन् ।
क्वाटी नौ प्रकारका गेडागुडी मिलाएर तयार पारिन्छ । यो एक स्वस्थकर खानाको रूपमा परिचित छ । यसमा शरीरलाई अत्यावश्यक विभिन्न प्रकारका तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । असारको पानीमा भिजेर काम गर्दाको थकाई र सर्दिलाई क्वाटीले ठिक पार्दछ भनी बुढापाकाहरू बताउँछन् । क्वाटीले रुघाखोकीबाट पनि बचाउँछ ।
यसैदिन देशका विभिन्न मन्दिर तथा कुण्डहरूमा मेला लाग्छ । विशेष गरी रसुवाको गोसाइकुण्ड, पाटनको कुम्भेश्वर, दोलखाको चरिकोट आदि मन्दिरहरूमा मेला लाग्ने गर्छ । हिन्दु धर्मावलम्बिहरू बिहानै तलाउ कुण्ड, पोखरी, नदीमा गएर नुहाएर चोखो लुगा लगाई पूजापाठ गर्छन् । जनै फेर्ने, डोरो बाध्ने इत्यादि कार्यहरू यसैदिन गरिन्छ ।
रक्षाबन्धनको अर्थ “रक्षार्थ बन्धनम्” वा सुरक्षाका लागि बाँधिने पवित्र धागो भन्ने बुझिन्छ । यस्तो धागो ब्राह्मणहरूले विभिन्न मन्त्रहरूद्वारा अभिमन्त्रित गरिएको हुन्छ । डोरो बाँध्ने क्रममा पनि विभिन्न मन्त्र पढ्दै दाहिने हातमा बाँधिन्छ । केही वर्ष अगाडि डोरो बाँध्दा पुरुषलाई दाहिने हातमा र महिलालाई देब्रे हातमा बाँधिन्थ्यो । तर, हाल आएर दुवैलाई दाहिने हातमा बाँधिन्छ । यसरी यस दिन धागो बाध्नाले मानिसलाई वर्षभरि दुर्घटना, जोखिमहरूबाट बचाउँछ भनिन्छ ।
यस परम्पराको सुरुवात महर्षि दुवार्साले गरेको शास्त्रीय मान्यता छ । दुवार्साले पहिले श्रावणकी अधिष्ठात्री देवीद्वारा ग्रहदृष्टि निवारणका लागि रक्षाबन्धन सुरु गरेका थिए । हाल आएर विभिन्न जातजातिका मानिसहरूले आफ्नो रक्षाको लागि डोरो बाँध्ने गर्न्छन् । रक्षाबन्धनको दिन रातो, पहेँलो गरी विभिन्न रङका डोरो बाध्ने गरिन्छ । गाउँघरतिर आफ्नो कमाएको पण्डितहरूले जजमानका घर घरमा गएर पवित्र धागो बाँध्ने र जनै फेर्ने कार्य गदर्छन् । तर सहरी समाजमा विभिन्न मन्दिरका वरपर बसेर ब्राह्मणहरूले यी विधि कार्य गर्ने गर्छन् ।
रक्षाबन्धन पर्वसँग बलि राजाको कथा पनि जोडिएका छ । बलि राजा धेरै शक्तिशाली थिए, जसले गर्दा उनले देवताहरूलाई पनि दुःख दिन थाले । बलि राजाको बदमासीलाई नियन्त्रण गर्न भगवान् विष्णुले बामन रूप धारण गरी भिक्षु भई बलि भए ठाउँमा जान्छन् र उनीसँग तीन पाइला जमिन माग्दछन् । बलि राजाले घमण्डका साथ जाबो तीन पाइला त हो नि भनिदिन्छु भनी वाचा गरे । भगवान् विष्णुले यसै क्रममा छल गरी बलि राजालाई रक्षासुत्रको बन्धनबाट वचनबद्ध गरे । विष्णुको एक पाइलाले पृथ्वी र अर्को पाइलाले आकाश ढाक्यो । विष्णु तेस्रो पाइला जमिन मागे । तब बलि राजा बचनबद्ध भएकाले उनले आफ्नै शिरमा राख्न लगाए । भगवान् विष्णुको पाउ बलि राजाको शिरमा परेपछि उनी पातालमा पुगे । यसरी विष्णुले देवताहरूको रक्षा गरेका थिए । यसरी रक्षाबन्धनको सुरुवात भएको मानिन्छ । त्यसैले रक्षाबन्धनमा डोरो बाँध्ने बेलामा निम्न मन्त्र पढिन्छ :
येन बद्घो बलि राजा दानवेन्द्रो महाबलः ।
तेन त्वं प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
नेवारी परम्परामा यसै दिन भ्यागुतालाई पूजा गरी खेतमा खाना खुवाउन लगिन्छ । जसलाई नेवार समुदायले “व्याँजा नकेगु” भन्छन् । भ्यागुताले कराउँदा इन्द्रले पानी पार्ने र खेतीपाती राम्रो हुने भएकाले किसान समुदायले जनैपूर्णिमामा आफूले मात्र नखाई भ्यागुतालाई पनि खाना खुवाउनुपर्ने जनविश्वास छ । त्यसैले खेती किसानी गर्ने मानिसहरूको लागी यो महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । आफू पनि बाँचौँ अरूलाई पनि बचाऔँ भन्ने मान्यता नेपाली परम्परा, धर्म, संस्कृति र रीतिथितीमा आज पनि जीवन्त रहेको छ ।
जनैपूर्णिमाको भोलिपल्ट आफ्ना मरेका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइन्छ । गाईजात्रा पर्वको सुरुवात प्रताप मल्लले गरेका थिए । उनले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकमा डुबेकी रानीलाई सम्झाउन “तिम्रो मात्र छोरा मरेको होइन । अरू मानिसका पनि आफन्त मरेका छन् । जन्मनु र मर्नु भनेको एउटा प्रकृतिको नियम नै हो । शोक नगर भनी” देखाउन गाईजात्रा पर्वको सुरुवात गरेका थिए । त्यसपछि राजाले वर्षभरि मरेका व्यक्तिहरूको नाउँमा गाई बनाई निकाली सहर घुमाउने आदेश दिए । रानीलाई खुसी पार्न गाईको अगाडि–पछाडि विभिन्न किसिमका हास्यव्यङ्ग्य प्रहसन गरी निकालेको गाईजात्रा हेरेपछि रानीको चित बुझ्यो । त्यसपछि हरेक वर्ष यो पर्व मनाउने परम्परा कायम रह्यो ।
यस पर्वलाई हास्यव्यङ्ग्य र श्रदाञ्जलीको पर्वको रूपमा मनाइन्छ । यस पर्वमा बाँसका गाई बनाएर यसलाई सजाएर मृतकको फोटो राखेर सहर परिक्रमा गर्ने चलन छ । कसैकसैले गाईलाई नै विभिन्न आभूषण लगाइदिएर सहर घुमाउने गर्दछन् । कसैकसैले साना बालबालिकालाई शिव पार्वती बनाएर विभिन्न वस्त्र, गरगहना लगाएर चमर हम्कँदै नगर परिक्रमा गर्ने गरेको पनि देखिन्छ । हाल यसमा पनि आधुनिकताले छोप्दै आएको देख्न सकिन्छ । आर्थिकरूपमा सम्पन्नहरूले माटोको साँढे बनाएर त्यसलाई सुनौलो रङमा सजाएर फूलमाला लगाएर भजन किर्तन गर्दै सहर घुमाउने गर्दछन् । यसरी गाईजात्रामा पनि विस्तारै विकृतिले जरा गाड्दै गएको देख्न सकिन्छ । हाल आएर गाईजात्रामा समेत ब्यान्ड बाजा प्रयोग गरेको देखिन्छ ।
गाईजात्रा विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरमा मनाइन्छ । यसमध्ये पनि भक्तपुरको गाईजात्राको विशेष महत्त्व रहँदै आएको छ । यहाँका गाईजात्रामा बाँसको गाई बनाएर त्यसलाई विभिन्न किसिमको वस्त्र आभूषण पहिराएर सजिसजाउ गरी धिमे बाजा बजाउँदै नाचसहित सहर घुमाउने गरिन्छ । जुन निकै आकर्षक हुने गर्छ ।
यसै पर्वमा समाजमा बढेको विकृति र विसंगतिविरुद्ध विभिन्न आकर्षक झाँक्री र हास्यव्यङ्ग्यको पनि प्रदर्शन गरिन्छ । यहाँको गाईजात्रा हेर्न टाढाटाढाबाट मानिसहरू आउने गरेको कुरा भक्तपुरका स्थानीय बताउँछन् । उपत्यकाबाहिर पनि विभिन्न सहरहरू जस्तै; पोखरा, पाल्पा, धरानतिर पनि गाईजात्रा पर्व मनाइन्छ । धार्मिक रूपमा अत्यतै महत्त्वपूर्ण मानिँदै आएको यस पर्वले आधुनिकताको नाउँमा समाजमा बढेको विकृति विसंगतिप्रति सचेत गराई समाजलाई सही मार्गतिर डोराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
(सुनिता गाइसी ख्वप कलेजमा समाजशास्त्र विषयको उपप्राध्यापक हुन् ।)