site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ठाकुर गैरेले सदनमै लगाए नारा

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नारा लगाएका छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारको विभिन्न काण्डका दोषीलाई कारबाही गर्न माग गर्दै नारा लगाए ।

“मलाई नारा लगाउन मन लागेको छ । सभामुख महोदय । जनताको आवाजलाई नारामार्फत घन्काउन चाहन्छु,” उनले बैठकमा भने ।

गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बहुमतको प्रधानमन्त्री बनाउनुस् देशलाई जातीय राज्य दिन्छु भन्ने अभिव्यक्ति दिएको भन्दै अहिले भइरहेको सामाजिक सद्भाव भड्काउने खालको गतिविधिलाई कसरी हेर्ने भन्ने प्रश्न गरे ।

Argakhachi Cement Island Ad

यस्तो छ उनले लगाएको नारा

सुन तस्करका नाइकेहरुलाई कारबाही गर

भ्रष्टाचारीहरुलाई कारबाही गर

नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेशमा बेच्ने र अर्बौैँ डलर कमाउने ती व्यक्तिहरुलाई कारबाही गर

ललितानिवासका निर्णयकर्ता, अन्य जग्गाको माध्यमबाट तस्करी गर्नेहरुलाई कारबाही गर

जातीय सद्भाव, धार्मिक सहिष्णुता कायम गर

नेपाली जनताको समाजिक सद्भावसहितको राष्टिय एकता कायम गर

उनले आम नेपाली जनताको आवाज एमालेले घन्काइरहने पनि बताए ।

उनको नारामा केही नारा छुटेको भन्दै आजैको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले कटाक्ष गरे । उनले गैरेको नारामा ओम्नी, गिरीबन्धु टी स्टेटलगायतको विषय छुटेको बताए ।

“नारा सुनियो । थप दुई, चारवटा नारा छुटेको छ जस्तो लाग्यो । गिरीबन्धु टी स्टेट घोटाला कारबाही गर, यती होल्डिङलाई कारबाही गर, ओम्नीलाई कारबाही गर,” केसीले भने, “यस्तो नारा छुट्यो । सबै नारा एकमुस्ट भए हुन्थ्यो कि ।”

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्