site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धरानमा सामाजिक सद्भाव जोगाउन प्रमुख राजनीतिक दलहरूको अपिल 

विराटनगर । प्रमुख राजनीतिक दलहरूले धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव कायम गराउन सार्वजनिक अपिल गरेका छन् । फरक धार्मिक विचारधाराबीचको द्वन्द्वले दुर्घटना निम्तन सक्ने भन्दै प्रमुख राजनीतिक दलले सद्भाव कायम गराउन अपिल गरेका हुन् ।

नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष रोवतिरमण राई, जनता समाजवादी (जसपा) नेपालकाका अध्यक्ष ताजुव लिम्बू, रास्वपा संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नगारिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेसपा प्रदेश इन्चार्ज दिनेश राई, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव विष्णु थाम्देनलगायतले संयुक्त अपिल जारी गरेका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कति, बहुजातीय, बहुधार्मिक बहुलयुक्त मुलुक भएकाले एक आपसको भ्रातृत्व, सहिष्णुता, सदभाव एक अर्काप्रति सम्मान भाव नेपालीको विशिष्ट पहिचान भएको अपिलमा उल्लेख छ । 

”बहुलतायुक्त विशेषतालाई आत्मसात गर्दै सबै जाति, धर्म, समुदायले एक आपसका धर्म, सस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजि द्वेष तथा आस्था भावनामा ठेस पुर्‍याइने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौ” अपिलमा भनिएको छ ।

धरानमा विभिन्न पक्षले आयोजना गरेका कार्यक्रम स्थगित गर्न राजनीतिक दलहरूले आग्रह गरेका छन् । धरानमा धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

Dharan_sarbadaliya1692967591.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्