site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
म्याग्दीमा आलुले बजार पाएन

म्याग्दी । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा अहिले खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिने डरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा ६ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।

विगतका वर्षमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ । प्रतिकिलो रु ५० देखि रु एक सय सम्ममा कृषकले आलु बेच्ने गरेका थिए । 

व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो रु ३५ मा आलु दिँदा पनि बिक्री हुन नसकेको मंगला–४ का तीर्थबहादुर पुनले बताए । 

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए । “अघिल्लो वर्ष एक हजार १४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार ७९३ मेट्रिक टन उत्पादन भएको थियो”, उनले भने, “क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।”

यस वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको मालिका–४ देवी स्थानकी कृष बूढाले बताए । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ थियो । रासस

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्