site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा नेतृत्वको ‘आश मारेका’ सिटौला किन हुँदै छन् सक्रिय ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “अहंकार कुनै पार्टीले नगरे हुन्छ । पार्टीहरुले जनतालाई संविधानबमोजिम उपलब्धि दिन सकेका छैनन्, यो मेरो निष्कर्ष हो,” मंगलबार बिहान कांग्रेस नेता कृष्णप्रसाद सिटौला आफ्नै दलसहितको मूल्यांकन सुनाउँदै थिए । सिटौला दलहरुको मूल्यांकन मात्र गरेर बसेका छैनन्, जनताको कुरा सुन्न तल्लो तहसम्म जाने तयारीमा छन् ।

सिटौलोका बुझाइमा संगठन गर्ने दुईवटा तरिका छन् । एउटा पार्टीको विचारमा कार्यकर्ता र सदस्यहरुलाई गोलबद्ध गर्ने । अर्को जनतासँग संवाद गरेर विचार बनाउने र त्यही विचारमा सबैलाई गोलबद्ध गर्ने । सिटौलाले त्यसमध्ये दोस्रो विकल्पलाई उपयुक्त ठानेका छन् । “म चाहिँ सेकेन्ड पोजिसनमा जानुपर्छ भन्ने ठान्छु,” सिटौलाले भने ।

मंगलबार बिहान पत्रकारसँग अन्तरक्रिया गरेका उनले भदौदेखि देश दौडाहमा निस्कने तयारी सुनाए । भदौ १ गते गृहनगर विराटनगरमा उनका लागि कार्यक्रम राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस पार्टी ‘जनता र मूल विचार’ दुवैबाट टाढिएको निष्कर्षमा पुगेका सिटौला आफ्नो देश दौडाहलाई पार्टीलाई जनतासँग जोड्ने ‘सेतुको खोजी यात्रा’का रुपमा अथ्र्याउँछन् ।

“तल्लो तहमा जाँदा आफू जाने, भाषण गर्ने र हिँड्ने प्रचलन छ । तर, म यसपटक सानो सानो एकाइमा पुग्छु । भाषण वा विचार लाद्ने होइन जनता र साथीहरूको कुरा सुन्छु,” सिटौलाले बाह्रखरीसँग भने, “ग्रासरूटको चाहना बुझ्छु र त्यसअनुसार पार्टी रूपान्तरणको सन्देश लिएर फर्कन्छु ।”

Global Ime bank

सिटौला आइतबार काठमाडौंमा भएको कार्यक्रममा श्रोता भएर बसेका थिए । सिटौलानिकट केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेको ‘टक सेन्टर’ले आयोजना गरेको कार्यक्रममा सिटौला प्रमुख श्रोता बनेर सहभागी थिए । वक्ताहरु को को छन् भन्ने प्रश्नमा समूहका नेता नवराज त्रिपाठीले भनेका थिए, “यहाँ तीनजना मात्र वक्ता छन् । प्रमुख वक्ता कोही पनि छैन । यहाँ प्रमुख श्रोता छन् । प्रमुख श्रोता कृष्णप्रसाद सिटौला हुनुहुन्छ । विशिष्ठ श्रोताको रुपमा सहमहामन्त्री उमाकान्त चौधरी, नेता भिमसेनदास प्रधान र शिव हुमागाईं हुनुहुन्छ ।”

बागलुङ कांग्रेसका सभापति तथा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचन, कोसी प्रदेशका महामन्त्री तथा कोसी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई र केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले भाषण गर्दा सिटौला दर्शकदीर्घामा श्रोताका रुपमा थिए ।

“मेरो पार्टी र अरु दललाई हेर्दा पनि के लाग्छ भने नेताहरु एकदमै निजी स्वार्थमा लिप्त भएको देख्छु । कुर्सीमा पुगेपछि त्यो कुर्सीको प्रयोग आफ्नो लागि मात्र हुने भयो । जनताका लागि भएन,” सिटौलाले भने, “यो गुण सबै पार्टीका नेताहरुमा देख्छु । त्यसैले यसलाई कसरी परिवर्तन गर्ने एकपटक देशभर गएर साथीहरुको सुझाव बुझ्नुपर्छ भन्ने मलाई लागेको छ ।”

१५औँ महाधिवेशनको तयारीमा लाग्नुभएको हो भन्ने प्रश्नमा उनले ‘यो विषयमा अहिले नै प्रतिक्रिया दिनु हतारो हुने’ जवाफ दिए ।

“आगामी महाधिवेशलाई लक्षित गरेर कुनै कुरा सोचेको छैन मैले । कसैले सोचेको छ भने पनि त्यो हतारो हुन्छ । महाधिवेशनकै वर्षमा महाधिवेशनको तयारी गर्नुपर्छ पार्टीका नेताहरुले,” सिटौलाले सचेत हुँदै भने, “अहिलेदेखि तयारी गरे निजी स्वार्थ हावी भएर जान्छ । जनताकेन्द्रित हैन, आफूकेन्द्रित भएर नेताहरु अघि बढ्छन् र अवस्था जस्ताको त्यस्तै रहन्छ ।”

१२औँ महाधिवेशनपछि सुशील कोइरालाको मनोनीत महामन्त्री भएका सिटौलाले त्यसबेला नै संगठनमा विशेष पकड कायम गरेका थिए । निर्वाचित महामन्त्री प्रकाशमान सिंहको निस्क्रियताको लाभ उठाउँदै सिटौला १३औँ महाधिवेशनमा सभापतिमै चुनाव लडेका थिए । संगठनभित्रका नेता कार्यकर्तासँगको नियमति सम्पर्क र भेटघाटले उत्साहित भएका सिटौलालाई १३औँ महाधिवेशनका प्रतिनिधिले तत्कालीन संस्थापन समूहको नेता भने मानेनन् । त्यसैले शेरबहादुर देउवापछि रामचन्द्र पौडेल दोस्रो भए जसकाकारण दोस्रो चरणको प्रतिस्पर्धामा सिटौलाले भाग लिन पाएनन् ।

तत्कालीन संस्थापन समूहको राजनीतिमा रहेका सिटौलाले दोस्रो चरणमा समूह छाडेर आफ्नो अनुकूल हेर्दै शेरबहादुर देउवालाई समर्थन गरिदिए । उनकै समर्थनमा देउवा सभापति हुँदा तत्कालीन संस्थापन समूहका नेता रामचन्द्र पौडेल पराजित भए । सिटौलाले त्यसपछि तेस्रो धार भनेर आफ्नो समूह सञ्चालन गर,े जसलाई कांग्रेसमा ‘थर्डपोल’ नामले चिनिन्थ्यो । अहिलेका महामन्त्री गगन थापा, प्रदीप पौडेलसहितका नेता सिटौला समूहमै हुँदा यो समूहले आफूलाई ‘वैचारिक समूह’ दाबी गर्ने गरेका थियो ।

०७८ मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा पुग्दै गर्दा सिटौला समूह छिन्नभिन्न भयो । डा. शेखर कोइराला नेतृत्वको टिमलाई सघाउन सिटौला तयार नभएपछि गगन थापाले समूह छोडिदिए । सिटौला देउवा समूहको प्लेमेकरको भूमिकामा आफूलाई राखेर केन्द्रीय सदस्यको समेत उमेदवार बनेनन् ।

सिटौलाको यो कदमले उनले नेतृत्वमा आउने आशा मारेको देखाउँछ । त्यही कारण उनले एउटै मात्र लक्ष्य देउवालाई जिताउनु बनाए । सिटौला ‘देउवा जिताउ’ अभियानमा सफल भए । देउवा मात्र नभएर देउवा टिम दुईतिहाइभन्दा धेरै बहुमतमा निर्वाचित भयो । सिटौला देउवाको मनोनित केन्द्रीय सदस्य भएका छन् । तर, त्यसरी आफूलाई छायाँमा राखेर देउवालाई नेता बनाउन उभिएका सिटौला त्यसपछिका भूमिकामा भने प्रभावकारी रुपमा उभिन पाएनन् ।

दलीय संयन्त्रको बैठकमा सहभागी हुनेसहितका आफूलाई आवश्यक पर्ने ठाउँमा देउवाले खोजी गरे पनि चुनावमा टिकट दिने, पार्टीका जिम्मेवारी बाडफाँट गर्नेसहितका भूमिकामा देउवाले सिटौलालाई भूमिका दिएनन् । जसकारण सिटौला पछिल्लो समय ‘राजनीतिक भूमिकामा ‘निष्क्रिय’ छन् । 

गत महाधिवेशन सिटौलाले आफ्नो समूहका उमाकान्त चौधरीलाई सहमहामन्त्री जिताए । कुन्दनराज काफ्लेलाई केन्द्रीय सदस्य बनाउँदा कोसी प्रदेशमा उद्धव थापालाई प्रदेश सभापति बनाउन सफल भए । थापा अहिले मुख्यमन्त्री छन् ।

यस्तै, शिव हुमागाईंलाई काभ्रेमा प्रतिनिधिसभा सदस्यको टिकट दिलाउन उनी सफल भए । तर, हुमागाईं पराजित हुनपुगे । सिटौला आफै पनि निर्वाचनमा पराजित हुन पुगे । कोसी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री, वाग्मतीमा कुन्दनराज काफ्लेलाई प्रमुख सचेतक, वाग्लुङ सभापति जित शेरचनलाई प्रदेशसभा सदस्य बनाउन सफल भएका उनी प्रदेशमा महामन्त्री बनाएका भुपेन्द्र राईलाई कोसी प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतक बनाउन सफल भए ।

१४औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उमेदवार बनाइएका प्रदीप पौडेल पराजित भए । देउवासँग सहकार्य गरेर काठमाडौं–५ बाट सांसद बनाइएका प्रदीप संसदीय दलको चुनावसम्म पुग्दा भने सिटौलालाई छाडेर गगन थापाको समर्थक बस्न पुगे ।  विगतमा सिटौलानिकट मानिएका लिला बोखिम, मुक्ता यादवलगायत समानुपातिक सांसद पनि अहिले सिटौलाको साथमा देखिँदैनन् ।

ढल्कँदो उमेर, समूहबाट बनाएका नेताहरुबाट धोका अनि पार्टी भूमिका देउवाले खुम्च्याउँदै लैजाँदा सिटौलामा केही राजनीतिक नैराश्यता देखिन्छ । उनमा आएको निराशाको एउटा ‘कारण जसका लागि काम गर्छु, उसैबाट धोका पाउँछु’ भन्ने बुझाइ रहेको उनीनिकट नेता भिमसेनदास प्रधान बताउँछन् । त्यसैले सिटौला आफ्नो समूह ‘रिभाइभ’ गर्न देश दौडाहमा निस्कन लागेका हुन् ।

“मैले कृष्ण दाइ उपसभापति लडाउन शेरबहादुर दाइलाई मिलाएकै हो । तर, यो समूहमा गगन थापाले छाडेपछि विचलन आयो । उहाँको अहिले पनि भनाइ छ– नेविसंघको केटाहरु आफूलाई हेरेर मात्र काम गर्दा रहेछन् । अहिले प्रदीप पौडेल पनि टिमबाट हिँडेपछि त्यसलाई थप पुष्टि गर्यो,” प्रधानले भने, “राष्ट्रपतिको कुरा आयो तर, रामचन्द्र दाइलाई दिइयो । शेरबहादुुर दाइलाई यहाँसम्म पुर्याउन सिटौला दाइको हात छ नि ! जसका लागि गरे पनि धोका भएपछि उहाँ निराश हुनुभएको हो ।”

उनी देशव्यापी अभियान सिटौलालाई सभापति बनाउने, नबनाउनेभन्दा पनि सिटौला समूहसँग जोडिएकाहरुको राजनीतिक भविष्यका लागि आवश्यक भएको बुझाइमा छन् । “आफ्नो लागि होइन, देशभरबाट पछि लागेका साथीहरुका लागि कृष्ण सिटौलाको नाम र विचारलाई अघि बढाउनुपर्छ । हामीसँग भोट भएन र त्यो भोटलाई देशव्यापी बनाउन तलसम्म जान खोजिएको हो,” प्रधानले भने ।

प्रधानले यस्तो तयारी बताए पनि सिटौला भने आफूलाई थप स्वतन्त्र र थप जिम्मेवार रुपमा प्रस्तुत गर्ने तयारीमा छन् ।  पार्टीमा जिम्मा पाएर जनमतबाट पनि अनुमोदित भएका नेताहरु व्यक्तिगत स्वार्थ र जुँगाको लडाइँमा केन्द्रित भएको बुझाइमा छन् उनी ।

“नेताहरुले जे गर्नुपर्ने हो, त्यो गरेनन् । जे नगर्नुपर्ने हो, त्यो सबै पार्टीका नेताहरु मिलेर गर्दै छन्,” सिटौलाले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेताहरुले गर्ने काम भनेको यो संविधानको कार्यान्वयन फराकिलो पार्दै जनतामा आशा जगाउने थियो । दलहरुको स्वतन्त्र हैसियत कायम गर्दै जनताको मत जितेर श्रेष्ठता हासिल गर्ने अभ्यास थाल्नु थियो । तर, ओली र देउवाले चुनाव अघि नै गठबन्धन गरेर जनमतमाथि अविश्वासको अभ्यास गरे । जनतालाई संविधानको अपत्व गराउनेभन्दा भागबण्डाको राजनीति रोजे ।”

सिटौला जनतामा देखिएको निराशा यसैसँग सम्बन्धित रहेको बताउँछन् । अझ नेताहरुले गैरजिम्मेवार भएर संविधान कार्यान्वयनको साटो यसका कमजोरी औँल्याएको सिटौलालाई पटक्कै मन परेको छैन । त्यसैले उनी देशभर गएर सत्य कुरा बताउने तथा जनता र कार्यकर्ताको विचार सुन्ने पक्षमा छन् ।

“म कुनै पदको आकांक्षा बोकेर जनतामा जाँदै छैन । म कसैको आलोचना गर्नका लागि वा कसैलाई कमजोर पार्नका लागि जानतामा जाँदै छैन,” सिटौलाले बाह्रखरीसँग भने, “म संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यभार नेताहरुले कार्यान्वयन गर्न नसकेको÷नचाहेको कुरा जनतामा राख्छु । जनतामा के कारण यतिधेरै असन्तुष्टि छ, त्यसको कारण सुन्छु र उनीहरुले समाधान के देखेका छन्, त्यो पनि सुनेर फर्कन्छु ।”

उनी लामो समयदेखि कांग्रेसले जनस्तरमा संवाद नगरेको भन्दै कांग्रेसको पुरानो संस्कृति फर्काउने उद्देश्यका लागि पनि देश घुम्न लागेको बताउँछन् । १३औँ महाधिवेशनमा देउवालाई जिताउन सहयोगी बनेकोमा केही पश्चाताप प्रकट गर्ने सिटौला सार्वजनिक रुपमा भने त्यसलाई परिस्थितिजन्य कारण बताउँछन् । १४औँ महाधिवेशनमा आफ्नो पूर्ण शक्ति लगाएका उनी अहिले पनि शेरबहादुर समूहको हिस्सा भएकोमा चिन्चित छन् । उनलाई शेरबहादुर समूहको सदस्यको पहिचान भने स्वीकार्य छैन ।

“विचार मिल्ने साथीहरुको समूह बन्ने र त्यो समूहले प्रतिस्पर्धा हुने पार्टीको आन्तरिक लोकतन्त्रमा एउटा स्वभाविक प्रकृया हो । त्यसलाई पार्टीभित्र संगठन निर्माणमा अवलम्वन गरेका छौँ वडादेखि केन्द्रसम्म । यसले पार्टीको आन्तरिक जीवन विकृत, विसङ्गत पनि देखिएको छ,” सिटौलाले भने, “यसलाई रोकेर पार्टीलाई गतिशील बनाउँदै देशलाई नेतृत्व दिने नेता पार्टीका रुपमा विकास गर्नु जरुरी छ । त्यसका लागि कसरी जाने भनेर म कुनै निष्कर्षमा पुगेको छैन । मैले एकपटक केन्द्रका नेतादेखि जनस्तरका कार्यकर्ता हुँदै जनस्तरमा संवाद हुनुपर्छ भन्ने लागेको छ । आफ्नो कुरा लाद्ने हैन, एकपटक जनताकै कुरा सुन्नुपर्छ भन्ने लागेको छ ।”

अन्तरमनमा त सभापति लड्छु भन्ने आकांक्षा होला नि ? भन्ने प्रश्नमा उनी सिधा उत्तर दिँदैनन् । उनको अन्तरमनमा जनस्तरको संवादपछि कसो राजनीतिमा नउठौँला भन्ने आशा बाँकी छ । त्यसैले उनी आकांक्षालाई लुकाएर घुमाउरो उत्तर दिन्छन् ।

“एकैछिनमा वार्मअप हुने कुरामा लामो कुरा गर्नै पर्दैन । यसले पार्टीमा अर्को रोग निम्त्याउन सक्छ,” सिटौलाले भने, “महाधिवेशन हुने वर्षमा ३६५ दिन तयारी गरे हुन्छ । बाहिर जाँदा एकतावद्ध भएर जानुपर्छ ।”

१३औँ महाधिवेशनपछि कांग्रेस मात्र नभएर सामान्य नागरिकसम्मबाट देउवालाई सभापति बनाएको आक्रमण खेपेका सिटौला १४औँ महाधिवेशनमा देउवाको प्रमुख सहयोगी बन्दा समेत त्यो आक्रमणमा परेका छैनन् । १४औँ महाधिवेशनमा भने दोस्रो चरणमा देउवालाई सहयोग गरेका प्रकाशमान सिंहले सिटौलाको ठाउँ लिए । पार्टीभित्र र पार्टीबाहिरबाट उनको चर्को आलोचना भयो । देउवा र शेखरको प्रतिस्पर्धामा मौन बसेका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल सिंहपछि आलोचनाको तारो बने । तर, देउवाको सहयोगी भूमिकामा बसेका सिटौला भने यसपटक आलोचनाको तारो बनेनन् ।

निकटस्थका अनुसार अहिले उनी संविधानप्रति नागरिकका अपनत्व नआउनेका कारणसँगै आफ्नो व्यक्तित्वको शाखको पनि परीक्षण गर्दै छन् । आफ्नै परीक्षणमा सफल भए भने देउवालाई १३औँ र १४औँ महाधिवेशनमा लगाएको गुन उनले ब्याजसहित असुल्नेछन् । तर, आफ्नै परीक्षणमा उनले आफूलाई फेल भएको निष्कर्ष निकाले भने उनी कसैसँग गुनासो नगरी राजनीतिक विश्रामको बाटो रोज्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय