site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
‘अहिले सबै पशुलाई निःशुल्क खोप दिनसक्ने अवस्था छैन’
Ghorahi CementGhorahi Cement

चैतयता पशुमा महामारी बनेर फैलिएको लम्पी स्किन संक्रमणले किसानहरूलाई ठूलो क्षति पुर्‍याएको छ । दूधालु गाइभैँसीसँगै असारमा खेत जोत्ने गोरुलाई यो रोगले सताउँदा कतिपय किसानले रोपाइँ गर्नसमेत पाएका छैनन् ।

दुई वर्षअघिदेखि देखिएको लम्पी स्किनले महामारीको रुप लिइरहँदा सरकारले नियन्त्रणका लागि कस्ता प्रयास गरेको छ त ? के जोखिममा रहेका पशुलाई सरकारले निःशुल्क खोप र पशु गुमाएका किसानलाई क्षतिपूर्ति दिने सरकारको योजना छ ? यिनै विषयमा पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा अहिले पशुमा देखिएको लम्पी स्किन संक्रमणको अवस्था कस्तो छ ?

Dabur nepal
Agni Group

नेपालमा पहिलोपटक २०७७ सालमा देखिएको लम्पी स्किन रोग पछिल्लो वर्ष भने पशुमा महामारीकै रूपमा फैलियो । २०७९ चैतयता साउन १२ गतेसम्म १० लाख ८८ हजार ७४९ पशु संक्रमित भएका छन् । यसमा पनि गोरु, गर्भिणी तथा सुत्केरी गाईभैँसी, र भर्खरै जन्मिएका पाडापाडी, बाछाबाछी धेरै संक्रमित भएको तथ्यांक छ ।

यो अवधिमा लम्पी स्किन संक्रमणबाट ५० हजार ८२६ चौपाया मरेका छन् । दुई लाख ४८ हजार ३०५ चौपाय अहिले पनि सक्रिय संक्रमित रहेको तथ्यांक प्राप्त भएको छ ।

७७ वटै जिल्लामा संक्रमण फैलिएकोमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रभावित भएको छ । सुदूरपश्चिमका २५ हजार ६१० चौपाया मरेका छन् ।

कोसी र कर्णाली प्रदेश पनि लम्पी स्किनबाट बढी प्रभावित भएका छन् । कर्णालीमा आठ हजार ७०३ र कोसीमा पाँच हजार ४२ पशु मरेका छन् । 

त्यस्तै वाग्मतीमा तीन हजार ४७६, गण्डकीमा दुई हजार २९५, लुम्बिनी चार हजार र मधेसमा एक हजार ७०० पशु मरेका छन् । निको हुने पशुको संख्या हेर्दा अब महामारी नियन्त्रण उन्मोख भएको भन्न सकिने अवस्था छ ।

यो वर्ष लम्पी स्किनले कसरी महामारीको रूप लियो, सरकारको पूर्वतयारी नभएको हो ?
यसमा मुख्य तीनवटा पक्षहरू छन् । पहिलो, २०७७ यता यो रोगबारे निरन्तर चर्चा भएर पनि सरकारको प्राथमिकतामा भने पर्न सकेको थिएन । खोप र महामारी नियन्त्रणका लागि भनेर बजेट पनि छुट्याइएको थिएन ।

दोस्रो, संघीय संरचनापछि भेटेनरी क्षेत्रमा भएका ६ हजार जनशक्ति तीनवटै तहमा बाडिँदा सबैतिर प्राविधिक र पशु चिकित्सक पुग्नसक्ने अवस्था रहेन । सबै स्थानीय तहमा एक गाउँ एक प्राविधिक, एक पालिका एक भेटेनरी डाक्टर हुनुपर्ने व्यवस्था रहेपनि त्यो कार्यान्वयनमा छैन ।

जनशक्ति भएका निकायमा पनि स्रोत साधन र बजेटको अभाव हुँदा प्रभावित क्षेत्रमा प्राविधिकहरू पुग्न सकेका छैनन् । कतिपय गाउँमा पुग्ने पहुँच नै छैन उनीहरूको ।

तेस्रो, किसानलाई यो रोगबारे सामान्य कुराहरूको समेत सचेतना नहुँदा धेरै पशुमा संक्रमण फैलियो । जस्तै ज्वरो आउँदा सुरुआतका लक्षणहरू देखिँदा किसानले उपचार नगरेको र त्यति वास्ता नगरेको देखिन्छ । यसले पशुलाई थप सिकिस्त पनि बनायो र अरुलाई सार्ने दर पनि बढेको देखिन्छ ।

यद्यपि, जहाँ सचेत किसान र प्राविधिक जनशक्ति थिए ती क्षेत्रमा सुरुमा नै संक्रमण नियन्त्रणमा आएको देखिएको छ ।

सबै जिल्लामा संक्रमण फैलिएको छ, दस लाख पशु संक्रमित भइसकेका छन् तर खोप चाहीँ तीन लाख हाराहारी मात्रै छ ।

खोपको यो कभरेज कम भएन ?
खोपको कभरेज संख्यामा हेर्दा कम भएकै हो । यसको मुख्य कारण माथि भनिएजस्तै स्रोत, साधन र जनशक्तिको अभाव नै हो । तर प्राविधिक पक्ष के छ भने सबै पशुलाई खोप लगाउनैपर्छ भन्ने हुँदैन ।

नेपालमा एक करोड २६ लाखको संख्यामा पशु छन् (गाईगोरु, राँगाभैँसी सबै गरी) ती सबैलाई खोप दिनु पर्दैन । सक्रिय संक्रमित र संक्रमित भइसकेका पशुलाई पनि आफैँ रोग प्रतिरोधी क्षमता विकास हुने भएकाले निको भएको एक वर्षसम्म खोप दिनु पर्दैन ।

तर, बाँकी प्रभावित क्षेत्रका पशुलाई खोप दिने नै सरकारको योजना हो । कतिपय किसानले किनेर लगाउनुपर्ने भएकाले पनि आफ्ना पशुलाई खोप दिइरहेका छैनन् । तर, खोपको कभरेज बढाउनेमा दुईमत छैन, जोखिममा रहेका सबै पशुलाई खोप दिने नै हो ।

सरकारले किसानलाई निःशुल्क खोप उपलब्ध गराउनसक्ने अवस्था छैन ?
अहिले लम्पी स्किनको खोप नीजि क्षेत्रले आयात गरिरहेको छ । विभागले पालिकाहरूलाई केही रकम पठाएर किसानलाई खोप उपलब्ध गराउन भनेको छ । तर आम रूपमा निःशुल्क खोप दिनसक्ने अवस्था सरकारको छैन ।

अहिले दिइरहेको खोपको १२० देखि १६० रुपैयाँसम्म प्रतिडोज परेको छ । खोप खरिद गर्न मात्रै त सरकारले सक्ला तर यसलाई गोठसम्म पुर्‍याउन आवश्यक व्यवस्थापनमा ठूलो रकम खर्च हुनजान्छ, जुन कृषि क्षेत्रको अहिलेको बजेटभन्दा बाहिरको कुरा हो ।

कतिपय पालिकाले निःशुल्क खोप दिइरहेका पनि छन् । तर अभियानकै रूपमा निःशुल्क खोप दिनसक्ने अवस्था चाहीँ अहिले छैन । बरु आगामी वर्षहरूमा संक्रमण फैलिन नदिन विभागले लम्पी स्किनविरुद्धको खोप उत्पादन गर्नसक्ने सम्भावना भने छ ।

नेपालमै लम्पी स्किनविरुद्धको खोप उत्पादन किन सम्भव छ ?
पशु सेवा विभागले अहिले पनि वार्षिक पाँच करोड डोज खोप उत्पादन गरिरहेको छ । पशुमा लाग्ने विभिन्न रोगविरुद्धका १४ प्रकारका खोप हामी यहीँ उत्पादन गरिरहेका छौँ । ती खोपहरू अन्तर्राष्ट्रिय स्तरका छन् ।

जहाँसम्म लम्पी स्किनविरुद्धको खोपको विषय छ, उत्पादन सम्भव छ । त्यसका लागि विदेशबाट नै सीड्स ल्याउनुपर्ने हुन्छ, केही प्राविधिक स्रोत साधन थप गर्नुपर्ला ।

यसको सुरुवातमा करोडौं बजेट आवश्यक हुन्छ, क्लिनिकल ट्रायलसम्म पुग्नझन्डै एक वर्ष समय पनि लाग्छ तर आगामी वर्षहरूका लागि भने हामी आत्मनिर्भर बन्नसक्छौँ । यसबारे पनि विभागले विभिन्न सरोकारवाला पक्षहरूसँग बसेर छलफल गरिरहेको छ ।

संक्रमित पशुलाई उपचारको लागि औषधिको अवस्था के छ ?
स्थानीय तह र प्रदेशहरूले औषधि र उपचार आफ्नै तवरले गरिरहेका छन् । औषधि भन्दापनि प्राविधिक जनशक्ति र संक्रमितसम्म पुग्ने स्रोत साधन अहिले मुख्य चुनौती बनिरहेको छ । तर, मृत्युदर पाँच प्रतिशतभन्दा कम देखिएका कारण एकदमै विकराल अवस्था भने बनेको छैन । यद्यपि, किसान र समग्र कृषि क्षेत्रमा यसले ठूलो क्षति भने पुर्‍याएको छ ।

१० लाख बढी संक्रमित र ५० हजार बढी पशु मर्दा यसले कति आर्थिक क्षति भयो होला ?
हामीसँग संक्रमणको अवस्था मरेका पशुको संख्या आदिको तथ्यांक भएपनि यसले निम्त्याउने आर्थिक क्षतिको विवरण भने निकाल्न बाँकी छ । कस्ता पशु धेरै मरे, तिनको मूल्य, संक्रमणपछिको तिनको बजार मूल्य ह्रास, ती पशुबाट घटेको उत्पादकत्व आदि सबैको अध्ययन हुन्छ, गरिनेछ । कृषि अनुसन्धान परिषद्ले यसको विवरण निकाल्छ अहिलेलाई यति भन्न सकिन्छ कि यसपटकको लम्पी स्किन महामारीका कारण किसान र समग्र देशको कृषि क्षेत्रलाई निकै ठूलो क्षति पुर्‍याएको छ ।

मरेकामध्ये कति पशुको बिमा गरिएको थियो ? पशु गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था होला ?
महामारीको जोखिमलाई ध्यानमा राखेर सरकारले १० वर्षअघिदेखि पशु बिमाको अवधारणा लागु गरेको थियो । जसमा ८० प्रतिशतसम्म अनुदान पनि दिइएको छ । तर, बिडम्बना हाम्रोमा जम्मा २६ करोड पशुपंक्षी छन् तर पशु बिमाको कभरेज भने एक प्रतिशत पनि छैन । मुस्किलले वार्षिक एक लाख किसानले बिमाबापत्को सेवा लिन्छन् ।

जहाँसम्म क्षतिपूर्तिको कुरा छ, हामीलाई अहिले संक्रमित पशु बचाउनै चुनौनी बनिरहेको छ । विभागले क्षतिपूर्ति दिने सवालमा पहल चाहीँ गरेको छ तर, यो सरकारबाटै हुनुपर्ने निर्णय हो । त्यसैले विभागबाट यसो भन्नसक्ने अवस्था छैन ।

अन्ततः संक्रमणबाट जोगाउन पशुलाई के गर्ने ?
लम्पी स्किन संक्रमण हुन नदिन यो रोगविरुद्धको खोप (निथ्लिङ स्ट्रेन) दिनुपर्दछ । यो खोप गाइभैँसी, गोरु राँगा र तीन महिना पुरा भएका बाच्छाबाच्छी, पाडापाडीलाई तोकेको मात्रामा बर्सेनि खोप दिनुपर्छ ।

नयाँ पशु ल्याइएको भए २८ दिनसम्म तीनलाई अरुभन्दा अलग्गै गोठमा राख्नु पर्दछ । गोठ र पशुको सरसफाइमा ध्यान दिन पनि विभागले सुझाएको छ । लम्पी स्किन चौपायाबाट मानिसमा भने सर्दैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro