बुधबार पक्राउ परेको करिब सय किलो सुन राष्ट्र बैंकको टक्सार विभागमा तौलका लागि पुगेको टोली । तस्बिर– बाह्रखरी
काठमाडौं । ‘विमानस्थलमा सरसरफाइकर्मीसमेत सुन तस्करीमा संलग्न’, ‘विदेशबाट ल्याएको अवैध सुन बाहिर निकाल्न बाटो नै बनाएको पाइयो’, ‘डीएसपी बनेर विमानस्थलमा सुन लुट्ने पक्राउ’, ‘विमानस्थलबाट ९ किलो सुन भन्सार एजेन्टले नै चोरी गरे, बिक्री गरेर जग्गामा लगानी’, ‘विमानस्थलमा शौचालयमा लुकाएर राखिएको सुन फेला, सफाइका कर्मचारी पक्राउ’, ‘दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने व्यक्ति पक्राउ’, ‘विमानस्थलमा पक्राउ परेका व्यक्तिले शौच गर्दा एक किलो सुन निस्किएपछि...’, ‘सुन तस्करको नयाँ जुक्ति, यसरी ल्याउँछन् विदेशबाट अवैध सुन’, ‘विमानस्थलमा सुन तस्करी रोक्न सशस्त्रको नयाँ टोली परिचालन’, ‘विमानस्थलमा सुन तस्करीको नयाँ तरिका : पाँच दिनमा चार किलो बरामद’, ‘सुन बोकेर आउने १७ भरिया विमानस्थलबाट पक्राउ’, ‘कुकरको तल्लो भागमा राखेर ल्याएको सुन पक्राउ’, ‘भेपमा राखेर ल्याएको ९ किलो सुन विमानस्थलबाटै हरायो ।’
पछिल्ला दिनका समाचार हेडलाइन हुन् यी । विगत केही वर्षमा विमानस्थलबाट सुन पक्राउ पर्नु सामान्यजस्तै बनेको थियो ।
समाचारपत्रका पाना पल्टाउँदा दैनिक विमानस्थलमा सुन बरामद भएकै समाचार देख्न, पढ्न र सुन्न पाइन्छ ।
तर बुधबार बेलुका सार्वजनिक भएको एउटा समाचारले भने निकै ठूलो तरंग सिर्जना गरेको छ ।
त्यो हो– विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सामग्रीमा करिब एक क्विन्टल अवैध सुन भेटियो ।
राजश्व अनुसन्धान विभागका अनुसार करिब १० दिनअघि एउटा सूचना विभागसमक्ष आइपुग्यो– ठूलो मात्रामा अवैध सुन भित्रिँदैछ । त्यसमा माथिल्लो निकायसम्म मिलेमतो देखिन्छ ।
त्यसपछि राजश्व अनुसन्धान विभाग सतर्क रह्यो सादा पोशाकका प्रहरी पनि परिचालन गर्यो, आफ्नो टोली त्यसैमा सक्रिय गरायो ।
असार ३० गते शनिबार हङकङबाट काठमाडौं आएको जहाजमा ल्याइएको स्कुटरको ‘ब्रेक सु’ भित्र सुन राखिएको पत्तो विभागलाई भएको थियो ।
मंगलबार भन्सार पास भयो, पास हुनासाथ पक्राउ गरियो । बुधबार सूचना सञ्चारमाध्यममा बाहिरियो ।
“पहिले त हामीले समातेको ब्रेक सु मा सुन छ कि छैन भनेर पत्ता लगाउनै गाह्रो भयो,” विभागका एक अधिकृतले बाह्रखरीसँगको कुराकानीमा भने, “सुन हो भन्ने कन्फर्म भएपछिमात्रै यो कुरा बाहिरिएको हो । तर अलि छिटो बाहिरियो । अनुसन्धानले पूर्णता नपाउँदै खबर बाहिरिएकाले संलग्नताको आशंका गरिएका सबैलाई पक्राउ गर्न सकिएन ।”
रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा आएको उक्त सामानमा कति परिमाणमा सुन ल्याइएको छ भन्ने अहिले अनुसन्धानकै विषय बनेको छ ।
राजश्व अनुसन्धान विभागले राष्ट्र बैंकको टक्सार विभागमा गएर बरामद भएको सबै वस्तुको तौल लिँदा १५५ केजी देखिएको छ । अब त्यसमा सुन छुट्टयाएर तौल लिन बाँकी छ ।
विभागका एक अधिकृतका अनुसार करिब सय केजीको हाराहारीमा सुन हुन सक्ने अनुमान गरिएको छ ।
सोही लटमा आएको अन्य सामग्रीमा पनि सुन छ कि भनेर विभागको टोलीले बिहीबार विमानस्थलमा थप अनुसन्धान गरेको छ ।
तर सुन भए नभएको यकिन गर्न सकेन ।
तस्करीको शृङखला
राजश्व अनुसन्धान विभागले यति ठूलो परिमाणमा अवैध सुन फेला परेपछि नेपाल हुँदै सुन तस्करी कति हुँदो रहेछ भन्ने अनुमानित तथ्य देखाउँछ ।
बीसौँ वर्षदेखि यसरी तस्करी भइरहेको छ । कतिपय तस्करीमा ठूला नेता, ठूला व्यापारी नजोडिएका होइनन् तर कारवाही हुन सकेन । अर्थात् अनुसन्धान नै त्यहाँसम्म पुग्न सकेन ।
किन यस्तो हुन्छ ?
यसै विषयमा केन्द्रित रहेर बाह्रखरीले विभागका एकजना अधिकृतसँग ‘अफ दि रेकर्ड’ कुराकानी गरेको थियो ।
उनका अनुसार नेपालबाट दैनिक यतिकै संख्यामा अथवा अझै बढी सुन तस्करीको आशंका विभागका अधिकारीलाई छ ।
तर पुष्टि गर्न निकै गाह्रो छ ।
किन ?
उनको जवाफ थियो– सुन तस्करहरुको जालो निकै ठूलो र बलियो छ । अनि सरकार पनि यसलाई पूर्ण नियन्त्रणमा ल्याउन चाहँदैन ।
“हामीलाई पटक–पटक सूचना आउँछ तर कहिले सरकारको साथ पाइँदैन, कहिले माथि (सरकार) थाहा हुँदा हुँदै मौन रहेपछि हामीले बुझ्नुपर्दो रहेछ,” ती अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने,“जब लगानीकर्ताबीच कुरा मिल्दैन, अनिमात्रै हामीलाई सूचना आउँछ । कुरा मिलेसम्म सूचना पनि आउँदैन ।”
उनले अहिले पक्राउ परेको अनुमानित सय केजी सुन पनि लगानीकर्ताबीचको विवादका कारण सूचना आएको हुन सक्ने आशंका गरे ।
“यसको सप्लाई चेन हुँदो रहेछ । यो नेपालमा खपत हुने सुन होइन । विदेशबाट आएको सुन नेपालको रुट हुँदै दिल्ली पुर्याइन्छ,” उनले यसअघिका आफूहरुले गरेको अनुसन्धानमा पत्ता लगाएको विषय कोट्याउँदै भने ।
नेपालमा विशेष गरेर तीन स्थानबाट तीन नाका हुँदै बढी अवैध सुन भित्रिन्छ ।
ती हुन् हङकङ, चीन र दुवइ । तीन नाका हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी नाका र रसुवा नाका ।
जुन नाकाबाट बढी सामान नेपाल भित्रन्छ त्यहीँबाट तस्कारी गर्न उनीहरुलाई सहज हुन्छ ।
“जब जब यी नाकामा कन्ट्रोल गर्न थालिन्छ, त्यसपछि संखुवासभा, ताप्लेजुङ, मुस्ताङलगायतका नाकाबाट सानो सानो परिमाणमा सुन आयात भएको हामीले पाउछौँ, त्यसरी नै तस्कर पक्राउ गरेका छौँ धेरैपटक,” ती अधिकारीले भने ।
विभागले पछिल्लो दुई महिनामा २२ पटक ब्रेक सु आएको अनुमान गरेको छ तर ती अधिकारीले सबै पटक नै सुन नै आयात भएकोमा भने आशंका गर्छन् ।
“तस्करहरुले कसरी गर्दा रहेछन् भने पहिला २–४ पल्ट सामान पठाउँदा रहेछन् सहजै पास भयो भने थोरै थोरै सुन राखेर पठाउँदा रहेछन् । विस्तारै उनीहरु ठूलो परिमाणमा पठाउन थाल्दा रहेछन्, हामीले गरेको अनुसन्धानमा यस्तै देखिन्छ,” उनले भने ।
दुबई, हङकङ वा चीन जहाँबाट भए पनि नेपालको बाटो हुँदै सुन नयाँ दिल्लीसहित भारतका विभिन्न स्थानमा पुर्याउने गरेको पाइएको छ ।
किन ल्याइन्छ त सुन ?
सुन यसरी ओसारपसार गर्न पाइँदैन । व्यक्तिले थोरै परिमाणमा ल्याउने सुनको भन्सार तिर्नुपर्छ । अर्थात् एक किलो सुनको भन्सार करिब १० लाख बढी पर्छ ।
भन्सार छलेपछि त्यो फाइदा भयो । जहाँबाट सुन लिएका हुन्छन् त्यहाँ ठूलो परिमाणमा लिँदा किलोमा पाँच–सात लाख रुपैयाँ कममा पाइने गरेको अनुसन्धानमा संलग्न अधिकारीको भनाई छ ।
काठमाडौंदेखि दिल्लीसम्म पुर्याउन कम्तिमा पनि १५ ‘क्यारियर’ले काम गरेको पाइएको छ ।
“यसमा लगानी गर्नेहरु अधिकांशको कालो धन हो,” ती अधिकारी भन्छन्, “भारतमा किन्नेहरु पनि त्यस्तै हुन् ।”
भारतमा डिजिटल कारोबार बढेपछि सुन तस्करीको बाटो करिब बन्दजस्तै भएको छ । त्यसैले नेपालको बाटो प्रयोग गरेर सुनको तस्करी भइरहेको छ ।
जब जब भारतीय बजारमा यस्तो तस्करी बढ्छ भारतीय रुपैयाँ कमजोर हुन थाल्छ । अवैध सुनमा लगानी गर्नेहरुले केही दिनमा नै कम्तिमा पनि १५ प्रतिशत फाइदा उठाउन सक्छन् ।
“भारतमा डिजिटल करेन्सी बढ्दो छ । कालो धन हुनेहरुले थुपार्ने भनेकै सुन रहेछ,” अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, “हाम्रोजस्तो देशमा सुन, डलर, भारतीय रुपैयाँ र तस्करी एक अर्कासँग सम्बन्धित देखिन्छन् । सुन तस्करी जति बढ्छ त्यति भारतीय रुपैयाँको मूल्य घट्छ । सुन तस्करले भारतीय रुपैयाँ दिन्छ । त्यो भारतीय रुपैयाँ कम मूल्यमा दिएर हिँडिहाल्छन् । तस्करी भएका सामानमा त्यो रकम लगानी गरेको देखिन्छ ।”
यसैगरी दैनिक ५० देखि सय किलोसम्म सुन अनौपचारिक माध्यम हुँदै भारत तस्करी हुने गरेको अनुमान छ ।
“आज समातेपछिमात्रै तपाइँहरुलाई थाहा भयो तर दैनिक ५० देखि सय किलोसम्म सुन ओसारपसार भइरहेको हामीले सूचना पाउछौँ,” उनले भने, “कुन सामानमा छ भन्ने पत्तै लाग्दैन । कार्टुनको बीचमा राखेको सुन कसैले पत्ता लगाउनै सक्दैन । किनकि विमानस्थलमा रहेको एक्स रे मेसिनले देखाउँदैन । प्रत्येक सामान फोरेर हेर्न सक्ने अवस्था हुँदैन । जस्तो कि जुत्ताभित्र सुन हुन्छ, हजारौँ बन्डल हुन्छन् कुनमा सुन छ भनेर अनुमान लगाउनै गाह्रो हुन्छ ।”
भारतमा कालोधन यसमा प्रयोग हुने भएकाले अझ कति बढी मूल्यमा बिक्री हुन्छ भन्ने पत्ता लगाउन समस्या परेको उनको बुझाइ छ ।
यस्तो तस्करी राज्यले रोक्नै सक्दैन ?
बाह्रखरीको प्रश्नमा उनको जवाफ थियो– राज्यले कन्ट्रोल गर्न नचाहेको हो नसकेको होइन ।”
किन चाहँदैन ?
उनले जवाफमा भने, “पानी धमिलो भयो भने जे गरे पनि हुँदैन र ? जसको लगानी छ त्यसको चंगुलमा सरकार र कर्मचारी परेका छन् । कालो धनको लागि नेपाल स्वर्ग छ भन्ने विदेशीमा परेको छ । यहाँ नेपालीमात्रै होइन विदेशी पनि खेल्छन् ।”
उनको आशंकामा सुनमा लगानी कर्मचारी र राजनीतिज्ञकै पनि हुन सक्छ ।
जसको कम्पनी छ उमात्रै कानुनी दायरामा आउने भएकाले रकम कसको हो ? कहाँबाट लगानी भइरहेको छ पत्तै पाउन समस्या पर्ने उनको भनाइ छ ।
पक्राउ गरेको सुन के हुन्छ ?
दैनिकजसो पक्राउ परेको सुन के हुन्छ ? यो धेरेको चासोको विषय बन्छ । यसरी अवैधरुपमा ल्याउँदा जफत भएको सुन राष्ट्र बैंकमा बुझाइन्छ ।
राष्ट्र बैंकले त्यसलाई गालेर अन्तिम परिमाण कायम गर्छ अनि सोही दिनमा सुनको बजार मूल्य कति छ सोहीअनुसार कायम गरेर जसले पक्राउ गरेको हो उसैको खातामा धरौटी राखिदिन्छ । अर्थात् अदालतमा मुद्दा पुगेपछि अदालतको खातामा सोही सुन बराबर मूल्यको धरौटी राख्छ । मुद्दाको फैसला भएपछि धरौटी फिर्ता हुन्छ । सुन राज्यको ढुकुटीमा जम्मा हुन्छ ।