काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी र बोटिङ रोकिने भएको छ । वर्षात सुरु भएपछि जंगल सफारी र बोटिङ गर्न निकुञ्जले रोक लगाउन लागेको हो ।
निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा निकुञ्ज क्षेत्रमा जंगल सफारी तथा नारायणी र राप्ती नदीमा बोटिङ गर्न रोक लगाउँदै आएको छ ।
सोहीअनुसार यस वर्ष पनि मनसुन सुरु भएको भन्दै असार १६ गतेदेखि जंगल सफारी र बोटिङमा रोक लगाउने निर्णय भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
वर्षात् समयमा नदीको बहाव बढ्ने र निकुञ्जमा कच्ची बाटो बिग्रने जस्ता कारणले पर्यटकहरूलाई समेत हिँडडुल गर्न अप्ठरो हुने भन्दै बोटिङ र जंगल सफारी बन्द गर्ने लागेको उनले बताए ।
वर्षात् सकिएपछि पुनः बोटिङ र जंगल सफारी सञ्चालन गरिने सूचना अधिकारी तिवारीले बताए ।