म पहिरोमा खस्दा माटो थिएँ
बतासले टेक्यो र उडायो बेस्सरी
हुत्तिएँ, बरालिएँ
पछारिएँ, सोहोरिएँ
अनि, आइपुगेँ तिम्रो आँगनसामु
तब कसिंगर बनेँ म
तिम्रो आँखामा विनातिम्रो निम्तो पस्न पुगेँ
धरोधर्म जानीजानी पसेको थिइनँ
सत्तेसत्ते बिझाउँला भनी आएको थिइनँ
एउटा ठाउँमा थुप्रिराखेको माटोले
कति दूरीको यात्रापछि
कसैको घरआँगनमा पुगेर
कसिंगर बन्नुपर्छ,
यो थाहा हुँदैन रहेछ
यसको लेखाजोखा नहुने रहेछ
र, यसरी अनायासै आइपुगेँ
तिम्रा सुन्दर आँखाका आलीहरूमा
परेलीहरूको छेकबारलाई उछिनेर
पसिगएछु भित्रसम्म
र, पिरोल्न पुगेछु तिम्रा कोमल सुन्दर आँखाहरू
परन्तु, हे प्रिय सुन्दरी !
तिमी मलाई नढाँट
कसले दुखायो तिम्रो मन ?
कसले दियो तिमीलाई चोट ?
कसले पुर्यायो दिलमा आघात र रोयौ त्यसरी ?
किनकि,
यो त केबल एक बहाना थियो कि
कसिंगर परेर तिम्रो आँखामा
तिमी रोएकी थियौ भन्नु
त्यो त
साथीसँगीहरूलाई झुक्याएकी थियौ
परिवारजनलाई ढाँटेकी थियौ
उपस्थित समाजलाई छक्याएकी थियौ
किनभने,
जब निकाली फाल्दै थियौ मलाई
तिम्रा सुन्दर आँखाबाट बाहिर
मैले पढ्न भ्याएँ तिम्रा छातीबाट छुटेका
सूक्ष्म हिक्काहरू
वक्र पर्न खोजेका ओठका कम्पनहरू
अनुहारमा दबाइएका पीडाभावहरू
छल्किन नसकेका आँसुका आनाकानीहरू
म खुसी छु कि,
तिम्रो असली आँसु लुकाउन
आज यसरी तिम्रो बहाना भइदिएँ
म आज यसरी तिम्रो काम आइदिएँ ।