site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयकबारे राष्ट्रपतिलाई गरेको सिफारिस प्रधानमन्त्रीले फिर्ता लिनुपर्छ : प्रेम सुवाल
फाइल तस्बिर।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्रीले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने उनको तर्क छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकिर गर्दै पछि हट्न आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था पनि उपयुक्त नभएको बताए ।

“प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरुरी छ । र, संसद्मा नागरिकता विधेयक ल्याउन जरुरी छ । जन्मको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबा दुवै वंशजको आधारमा नेपाली नागरिक हुनुपर्ने कानुनी व्यवस्था जरुरी छ,” उनले भने, “गैरआवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरु हुन् । नेपालको भूराजनीतिअनुसार गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त छैन ।”

सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्