काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद गैरेले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभएर शक्ति र पहुँचका आधारमा बजेट योजना छनोट गरेको आरोप लगाए ।
उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखिएको बताए ।
उनले अहिलेको बजेटले यो देश चार नेताको जस्तो देखिएको आरोप लगाए ।
"अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनुस् । नेपाल राष्ट्र किन भन्ने । चारजना मन्त्रीको देश भनेर भनौँ । यस्तो खालको असन्तुलनबाट देश अघि बढ्न सक्दैन । सरकारको नियत नै देश विकासको भएन," उनले भने ।