site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
दुप्चेश्वरमा दुई दिन 

कल्पतरुको शतांकक समारोहमा भेटिए हास्यव्यंग्यकार पिँडालु पण्डित । अर्थात्, साहित्यकार वासुदेव गुरागाईं । जोसँग केही दिनअघि फोनमै पनि कुरो भइसकेको थियो ।

‘तपाईं कहाँ बस्नुहुन्छ कुन्नि ! सामाखुसी चोकबाट बिहान ठिक साढे ६ बजे हामी हिँड्छौँ, दुप्चेश्वरका लागि । त्यसअघि नै आइपुग्नुपर्ला राजेशजी,’ गुरागाईं सरले त्यहीँ भने ।

अचेल ५ बजे नै उज्यालो हुन्छ । जाडो महिना भए समयमा पुग्न गाह्रै हुन्थ्यो होला । तर, गर्मी मौसम छ । त्यसैले ढुक्कसँग भनेँ, ‘सवा ६ बजे म त्यहीँ हुन्छु ।’

Dabur Nepal

नुवाकोटस्थित दुप्चेश्वर साहित्य समाजको संयोजनमा हुने दुईदिने साहित्यिक यात्राका लागि लेखक/साहित्यकारहरूको एउटा टोली दुप्चेश्वर गाउँपालिका जाँदै थियो । यात्रामा थिए करिब २५ जना ।

समाजको अध्यक्ष भएकाले संयोजनकारी भूमिकामा गुरागाईं सरको व्यस्तता आफ्नै किसिमको थियो । सारा कुराको संयोजन गर्नु सहज थिएन । उनको व्यस्तता सामाखुसी चोकमै पनि देखिन्थ्यो ।

शनिबार साँझ नियात्राकार प्रतीक ढकाल दाइले फोन गर्दै ‘काँडाघारी, खहरेचोकबाट सँगै सामाखुसी जाने है’ भनेपछि म ढुक्क भएँ । र, जेठ २८ गते आइतबार बिहान साढे ५ बजे गोठाटारबाट खहरे ओर्लिएँ ।

दुई–तीन मिनेटमा पुगिने खहरे पुग्न करिब १० मिनेट लाग्यो । कलेज जाने विद्यार्थी हुन् वा काममा निस्किएकाहरू सब घरघरअगाडि उभिएका थिए । बस घरअघिल्तिर रोकिन्थ्यो । यात्रु चढ्थे ।

प्रतीक दाइले दिएको समय घडीको सुईले पार गरिसकेकाले आफूलाई छटपटी थियो । तर, बस चालकलाई मेरो हतारोसँग के सरोकार !

१० मिनेटपछि खहरे ओर्लिएँ । प्रतीक दाइ पुगिसकेका थिए । अनि, खहरेबाट ट्याक्सी लिएर हिँड्दा झन्डै ५.४० भइसकेको थियो ।

प्रतीक दाइलाई भनेँ, ‘प्रत्येक मान्छे प्रत्येक पाइलाको सम्झना भयो दाइ, यहाँ आउँदा आउँदै ।’

‘पीटर जे कार्थकको यो उपन्यास किन सम्झियौ तिमीले ?’

‘किनकि, प्रत्येक घर प्रत्येक स्टपका रूपमा परिणत भएको मैले अहिले हेर्दैहेर्दै आएँ । त्यसैले सम्झना भएको हो ।’

‘सार्वजनिक सवारीमा यात्रा गर्नेहरूको यो साझा समस्या हो । यात्रु घरघरै चढाउन बस रोक्ने, ओर्लिने ठाउँमा भने रोक्न आनाकानी गर्ने !,’ दाइले थपे ।

यस्तै कुराकानीमा अल्झिएका हामी दाइभाइ सामाखुसी पुग्दा ६ बजेको थियो । हामीलाई गुरागाईं सरले पाँच र छ नम्बरमा आइपुगेको जनाउ दिए ।

ककनी हुँदै दुप्चेश्वर जाने होला भन्ने मेरो सोचाइ थियो । तर, त्यसो होइन रहेछ । सामाखुसीबाट टोखाको बाटो शिवपुरी निकुञ्ज छिचोल्दै नुवाकोटको लिखु, थान्सिङ हुँदै उत्तरपूर्वी क्षेत्र प्रवेश गर्नुपर्दो रहेछ ।

बसमा सँगै थिए, कथाकार दीपक लोहनी । उनी नुवाकोटकै । चिनाजानी २०४५/४६ सालदेखिकै । उनले सुनाए साप्ताहिक पत्रिकामा साहित्यिक स्तम्भ लेख्दाका केही स्मृति ।

त्यहीँ हवाईपत्रिकाको कुरो उठ्यो । हुलाकको हवाईपत्रमा पत्रिकाको नाम राखेर पनि साहित्यिक पत्रिका छापिन्थ्यो, उहिले । आज त्यो चलन छैन । उनले हवाईपत्रिकामा लेखेको स्मरण गरे । अनि सम्झिए, तत्कालीन साप्ताहिक पत्रिकाहरूमा लेखेको क्षण ।

नुवाकोटकै काफलडाँडामा चियाचमेनाका लागि गाडी रोकियो । त्यहाँ खाजा खाएर फ्रेस भएपछि गाडी गन्तव्यतिर लाग्यो । नियात्राको सिद्धान्त लेख्ने नियात्राकार जय छाङ्छा भेटेका लेखौट गेडागुडी डायरीमा टिपिरहेका थिए । कोही साना टुक्रा कागजमा नामनामेसी टिप्दै थिए ।

र, दुप्चेश्वर महादेवका बारेमा लेखिएका बुकलेट तथा पुस्तकहरू हरेकका हातहातमा पुर्याए, गुरागाईं सरले ।

केही बेरपछि गाडी तराईको फाँटमा दौडिएझैँ दौडिन थाल्यो । लिखुदेखि बट्टार पुग्ने बाटोमा सरपट् दौडिरहेको गाडीको दाहिनेतिरको फाँटमा पहेँला धानका बाला लहराइरहेका थिए । धान पाकिसकेको भान हुन्थ्यो ।

दीपकले कविलास गाउँ बसबाटै देखाए । यो गाउँ पूर्वअर्थमन्त्री डा. रामशरण महत र वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको रहेछ ।

तुफानी राजमार्गलाई छोड्दै लेखक/साहित्यकार बोकेको बस दाहिने मोडियो । र, छिर्यो लिखु गाउँपालिकालाई पछाडि पार्दै पञ्चकन्या गाउँपालिकाभित्र । त्यहाँदेखि फिलिली बाटो सकिकयो । यहाँदेखि कतै पिच, कतै ढलान त कतै ढुंगामाटोको सडकमा गाडीले हल्लाउँदै हिँड्यो ।

यहाँबाट कति समय लाग्ला ? बिहानको खाजा खाएर हिँडेको पनि डेढ घण्टा बितिसकेको थियो । यो सवाल स्वाभाविक थियो । समाजका अध्यक्ष गुरागाईंले भने, ‘तादी गाउँपालिकापछि दुप्चेश्वर गाउँपालिका आउँछ । हामी तादीमै छौँ । अब केही बेर ।’

हामी तादीको सातबिसेमा पुगिसकेका रहेछौँ । मलाई रमाइलो लाग्यो । मैले सम्झिएँ, बाह्रबिसे र नौबिसे । यस्ता अझै पनि अनेक बिसेहरू होलान् नेपालभरि ।

करिब साढे ११ बजेको हाराहारी हामी दुप्चेश्वरको रामती गाउँ पुगेका थियौँ । जहाँको राउचुली होटेलमा हामी सबैले ज्यान बिसायौँ ।

गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष किशोर आचार्य पाहुनाहरूको स्वागतार्थ खटिए । उनी लेखक/साहित्यकारहरूसँग कुरा गर्दै वडाको आफ्नो जिम्मेवारी पनि निर्वाह गर्दै थिए । वडा कार्यालय टाँस्सिएकै थियो ।

बिहानको खाना खाएर केही समय आराम गर्न बस्यौँ हामी । कुराकानीको लहरो तन्किँदो थियो । थकाइ मार्ने मेसोमा लामै गफगाफ भयो ।

त्यसैबीच गुरागाईं सर आइपुगे । भोलेबाबाको दर्शनका लागि मन्दिरतिर लाग्ने समय भइसकेको उनको भनाइ थियो । सबै जर्याकजुरुक उठे ।

वरिपरि चट्टानी पहाड र जंगलबीच रामतीकै शिखरबेसीमा रहेछ दुप्चेश्वर महादेव मन्दिर । जसलाई ‘नुवाकोटको पशुपतिनाथ’ पनि भनिँदो रहेछ । दुप्चेश्वर महादेवलाई दुग्धेश्वर महादेव पनि भनिने जानकारी पायौँ ।

तादी नदी पार गरेपछि भर्याङ उक्लिँदै बीचमा पुग्यौँ हामी । समाजका अध्यक्ष गुरागाईंले दुप्चेश्वर महादेव मन्दिरको उत्पत्तिमाथिका किंवदन्तीबारे जानकारी गराए । यो मन्दिरबारे तीनवटा किंवदन्ती प्रचलित रहेछ । एउटा किंवदन्तीअनुसार दुप्चेश्वर महादेवलाई गोपालेश्वर पनि भनिँदो रहेछ ।

दुप्चेश्वर, दुग्धेश्वर र गोपालेश्वर जे भनेर सम्बोधन गरे पनि यस मन्दिरको अवस्थितिले हरेकलाई आनन्दित तुल्याउँछ । तलबाट माथि हेर्दा नै कस्तो भीरमा उत्पति भएको मन्दिर होला भनेर एक छिन सोच्न बाध्य बनाउँछ ।

त्यहीबीचको जमघटमा तस्बिर लिँदै गर्दा गुरागाईं सरले दुप्चेश्वर बाबाको आशीर्वादका साथ लेखिएको एउटा कवितावाचन गरे ।

उप्रान्त, फेरि भर्याङ चढ्ने क्रम सुरु भयो । विस्तारै हामी सबै दुप्चेश्वर महादेवको शरणमा पुग्यौँ । त्यो चट्टान र भीरका बीचमा अवस्थित महादेव मन्दिरले सबैलाई मोहित बनायो ।

कसैले कुरो उठाए पनि, ‘देवादिदेव महादेवको उत्पति धेरजसो अप्ठेरो ठाउँमै हुँदो रहेछ !’ यही क्षण मैले सम्झिएँ, मेरो जन्मथलो जलेश्वर र जलेश्वरनाथ मन्दिर । जहाँ भोलेबाबा हमेसा जलभित्र विराजमान रहन्छन् ।

शिलाका रूपमा अवस्थित दुप्चेश्वर महादेवस्थान वास्तवमा अत्यन्त रमणीय छ । दर्शनीय छ । पहाड र जंगलबीच रहेको दुप्चेश्वर महादेवको दर्शनका लागि तीर्थालुको आगमन दैनिकजसो हुनेरहेछ । तर, यसको पर्याप्त प्रचारप्रसार नभएकै कारण भीडभाड कम रहेको प्रस्ट देखिएको थियो । तथापि, शनिबारको दिन मन्दिरमा भीड हुने स्थानीयवासी बताउँदै थिए ।

काठमाडौंबाट चार घण्टाको यात्रामा दुप्चेश्वरधाम पुग्न सकिन्छ । केही कच्ची सडक र घुमाउरो बाटोले राजधानीको सामाखुसीदेखि ६४ किलोमिटर मात्रको दूरीमा रहेको दुप्चेश्वर सही अर्थमा ‘नजिकको तीर्थ हेला’ भएको अनुभूत भयो ।

त्यसो त दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिका यस क्षेत्रको आध्यात्मिक एवम् पर्यटकीय विकासमा दत्तचित्त भएर लागिरहेका छन् । त्यसमाथि दुप्चेश्वर साहित्य समाज आफ्नो ठाउँबाट सक्रिय छ ।

मन्दिरको दर्शनपश्चात् त्यस भेगका केही भाग घुम्ने कुरो भएको थियो । तर, पानी दर्किएकाले जस्ताले छाएको एउटा चौतारोमा हामी अडियौँ । कोही सिमसिमे पानीमा रुझ्दै अगाडि बढे । र, तादीमा पौडी नै खेलेर आए ।

भ्रमणका कर्ताधर्ता गुरागाईं सरसँगै ठाकुर शर्मा भण्डारी, प्रतीक ढकाल, रामप्रसाद पन्त, युवराज नयाँघरे, डा. शैलेन्दुप्रकाश नेपाल, जय छाङछा, विनोद नेपाल, दीपक लोहनी, तुलसीहरि कोइराला, तिलक लुइँटेललगायत धेरैजसो अगाडि बढे ।

चौतारोमा हामी मात्रै रह्यौँ । हामी अर्थात् किशोर पहाडी, श्रीओम श्रेष्ठ, शंकर भारती, शिवप्रसाद आचार्य र म । पानी कम हुनासाथ हामी पाँचै होटेलतिरै लम्कियौँ ।

भोलिपल्ट बिहानै मन्दिर दर्शन गरेर ८ बजे समुन्द्रटारस्थित दुप्चेश्वर गाउँपालिका पुग्नुपर्ने कार्यक्रम बनेको थियो । राति अबेलासम्म साथीभाइ गफिएर बसेकाले कतिपय ढिला उठे । त्यसमाथि मध्यरातदेखि दर्केको पानीले मन्दिरसम्म जाने हिम्मत भएन । अघिल्लो दिनै दुप्चेश्वर बाबाको दर्शन गरिसकेको हुँदा हामी होटेलतिरै अलमलियौँ ।

होटेलमै अलमलिने धेरै रहेछन् । तल चिया पिउन भनेर ओर्लिँदा पो थाहा भयो, को मन्दिर गयो को गएन भन्ने ।

पानीमा रुझेरै भए पनि मन्दिर गएकाहरू फर्किएपछि सबैलाई बोकेर बस समुन्द्रटारतिर हुइँकियो । केही बेरमै हामी दुप्चेश्वर गाउँपालिकाको तीनतले भवनको छतमा बनाइएको सभाहलमा थियौँ ।

गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडा नम्बर–६ का अध्यक्ष किशोर आचार्य, दुप्चेश्वरस्थित साहित्य समाजका अध्यक्ष साहित्यकार वासुदेव गुरागाईंलगायत व्यक्तिले दुप्चेश्वर क्षेत्रको पर्यटकीय विकास विस्तारका विषयमा लामो बोले ।

उपस्थित लेखक/साहित्यकारहरूले मन्तव्यका क्रममा दुप्चेश्वर क्षेत्रको विकासका विषयलाई लिएर अनेक सुझाव दिए । आफूलाई लागेको कुरा भने । पिच सडकको निर्माण, बस्नलाई होमस्टे अथवा होटेलहरूको व्यवस्थापन, सूर्यमतीका नामबाट पनि सम्बोधन गरिने तादी नदीको संरक्षण, त्यस भेगको वन जंगलको संरक्षण, स्थानीय उत्पादन तथा लोकपरिकारको व्यवस्थापन तथा तिनको प्रचारप्रसारले दुप्चेश्वरलाई सबैको नजरमा पार्ने लेखक/साहित्यकारको भनाइ रह्यो ।

हरेक वर्ष मंसिरमा धान्यपूर्णिमाको अघिल्लो दिन दुप्चेश्वर महादेव मन्दिर रहेको शिखरबेसी क्षेत्रमा मेला लाग्ने रहेछ । त्यस बेला दर्शनार्थीको भीड हुने गरेको बताइए पनि दुप्चेश्वर क्षेत्रको प्रचारप्रसारमा कमी भएको गाउँपालिकाका प्रमुख थापा, समाजका अध्यक्ष गुरागाईंसहित सबैले स्वीकार गरे ।

यदि, थोरै मात्र विकास हुने हो र प्रचारप्रसारले गति पक्डिने हो भने चार घण्टामा पुग्न सकिने दुप्चेश्वर सुन्दर एवम् आकर्षक धार्मिकस्थल हुने कुरामा दुई मत रहन्न ।

मलाई लाग्यो, यहाँसम्म आउजाउ गर्ने बाटो सहज हुने हो भने परिवारसहित यो धार्मिक क्षेत्रको यात्रामा निस्किन सकिन्छ । सबै साथीभाइ परिवारसहित दुप्चेश्वर आउने कुरा गर्दै थिए । त्यो मौका पक्कै पनि जुर्छ नै ।

गाउँपालिकामा सम्पन्न अन्तरक्रियामा लामो समय खर्च भयो । हामीलाई साँझ काठमाडौं फर्किनु थियो । त्यसैले अलिक पर रहेको होटेलमा बिहानको खाना खाएर बस चढ्दा दिउँसोको साढे १२ भन्दा बढी भइसकेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro