ढोरपाटन । बागलुङको बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालोपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । वि.सं. २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । वि.सं. २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो ।
२६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो । त्यस बेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो ।
लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आस पलाएको थियो । तर, अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरू निराश छन् ।
वि.सं. २०७८ चैतमा विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबार समेत गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको सात करोड रुपैयाँ लागतमा काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी बल्खुले धावनमार्ग कालोपत्र गरेको थियो ।
लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ । राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए ।
पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्र रूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उनी भन्छन्– “विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ । तर, जहाड उडानको कुनै टुंगो छैन ।”
बलेवा बजारका रूपमा विकास भएको छ । पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दै छ । तर, जहाज नचल्दा यहाँका स्रोतसाधन गुमानाम छन् । यस क्षेत्रका स्रोतसाधनको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।
बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद भएको बताए । विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।
“पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए । उति बेला अहिलेको जस्तो मेसिन आएका थिएनन्, तर पनि विमान चलेको थियो । अहिले मेसिन आए, काम पनि भयो । तर, विमान आएन,” अध्यक्ष खत्रीले भने ।
यो विमानस्थलबाट २०४८ सालसम्म काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेका थिए । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का अब सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन् ।
कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ ।
विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस