site stats
बाह्रखरी :: Baahrakhari
देश
भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बिमा

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बिमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार ९८६ नागरिकको निःशुल्क दुर्घटना बिमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए । 

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बिमा गरेको हो । बिमा सम्झौताअनुसार सामूहिक दुर्घटना बिमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबिमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए । 

Argakhachi Cement Island Ad

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बिमा गरेको उनले बताए । “राष्ट्रिय बिमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ”, अध्यक्ष बन्जराले भने, “सम्झौतासँगै बिमा कार्यक्रम पनि लागु भएको छ ।”

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बिमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बिमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बिमा पोलिसी लागु भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए । 

बिमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अंगभंग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बिमाका शर्तहरू सामूहिक दुर्घटना बिमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बिमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्