काठमाडौं । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोहर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो ।
समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा भन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरुमा आत्मनिर्भर बन्नुपर्ने बताए ।
मन्त्री महतले आफूले यस्ता विषयहरु बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए । उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यसबारेमा बुझिसकेको प्रतिक्रिया दिए ।
साथै, मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे । श्रेष्ठले मन्त्री महतले लामो जवलाफ दिइरहेको र त्यसको कारण सांसदहरुले प्रश्न गर्न नभ्याएको बताए ।
लगत्तै, सांसद श्रेष्ठले लाखौँ रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौँ रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ? भन्ने प्रश्न गरे । उनले फेरि मन्त्री महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने ? भन्दै प्रश्न गरे ।
हतार भयो भनेर नहुने भन्दै कि बैठक नै राख्नुनहुने उनले बताए । मन्त्री महतलाई हतार भए जानुहोस् भन्दै श्रेष्ठले असहमति प्रकट गरे ।
सांसद श्रेष्ठको जवाफपछि मन्त्री महतले आफूले यसबारेमा धेरैपटक सुनिसकेको र जिज्ञासा नराख्न आग्रह गरे । यसको जवाफमा सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ भन्दै प्रश्न गरे ।
मन्त्री महत र सांसद श्रेष्ठबीचको सवाल–जवाफ
श्रेष्ठ : पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो । त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आकलन हुँदैन । उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मनगढन्ते हुन्छन् । एकपटक भ्युटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ हो । डाँडा आफैँ भ्युटावर हो नि त । व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौँ, त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न ।
अर्थमन्त्री : भ्युटावरको कुरा मैले संसद्देखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।
श्रेष्ठ : निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ । सहकारी बेस लाइन अर्थतन्त्र हो यो ।
अर्थमन्त्री : बुझेँ, बुझेँ ।
श्रेष्ठ : मन्त्रीज्यु, हतार नगर्नस् न ।
जवाफ नै लामो दिइराख्नुभएको छ तपाईँले । प्रश्न सोध्दा तपाईँलाई ध्यानाकर्षण त गराउनुपर्छ नि ।
लाखौँ रुपैयाँ खाएर सहकारी भागिरहेको छ । खर्बौँ रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ? यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ?
तपाईँलाई हतार भयो भनेर हुन्छ ? कि बैठक नै राख्नुभएन । सभापतिज्यु, यस्तो हो भने बैठक नै नराखिदिनुहोस् । उहाँलाई हतार छ, ठिक छ, जानुहोस् ।
अर्थमन्त्री : तपाईँहरुले पटकपटक यी कुराहरु राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु । व्याख्यात्मकभन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।
श्रेष्ठ : बुझेको भए संकट किन छ ?
अर्थमन्त्री : संकट मैले आजको आजै संकट समाधान हुन्छ र ? त्यसको लागि म इमान्दार प्रयास गर्छु ।
श्रेष्ठ : आजको बैठकको औचित्य के ?
अर्थमन्त्री : सभापतिज्युले बोलाएर म आएको हो नि ।
श्रेष्ठ : तपाईँ त समितिप्रति जवाफदेही हुनुहुन्छ नि । हाम्रो औपचारिक प्रणालीबाट खर्बौँ रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस् । त्यसले पनि असर गरेको छ ।