काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफ्नो चरित्रमा ‘बलात्कार’ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको विशेष सयममा दलीय आधारमा बोलेकी सांसद राणाले देशमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताइन् ।
“सबैले देखिरहनुभएकै होला, म यो संसद्मा फिजिकल फर्ममै उपस्थित छु । म यसबाट के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगिसकेको रहेछ,” आरजुले भनिन्, “मलाई के लाग्यो भने, हाम्रो देशमा हुने फेक मिडियाप्रति सरकारको सुपरभिजन हुनुपर्यो ।”
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेको फेक अडियोको छानबिनका लागि उजुरी दिँदा उजुरी समेत सहज रुपमा स्वीकार नगरिएको बताइन् ।
“मैले ६ दिनअघि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा सहभागी भनेर सीबीआई र साइबर क्राइम सेलमा । दर्ता गर्न पनि अटेरी गरिएको थियो । विश्वास पनि लाग्दैन होला सत्तापक्षको ठूलो नेताको श्रीमतीलाई यस्तो भयो भनेर । तीन घण्टा लागेको थियो उुजरी दिन,” आरजुले भनिन्, “म गृहमन्त्रीबाट जवाफ चाहन्छु, किन अलमल थियो यो दर्ता गर्न ? ६ दिन हुँदा पनि किन बताउन सकेको छैन कि यो फेक हो कि होइन ?”
उनले आफू फेक हो कि होइन भनेर थाहा पाउन आतुर रहेको भन्दै नक्कली अडियो आफूविरुद्ध नभएर अरुको पनि रहेको बताइन् । उनले अडियोमा अरुको पनि नाम भए पनि आफ्नो विषयमा मात्र मिडियाले लेखेको बताइन् । यसअघि पनि राजनीतिमा आएका महिलाहरु पीडित भएको भन्दै आफू पीडित भएर नबस्ने बताइन् ।
“एज विमेन । यो क्यारेक्टर असाचिनेसन मात्र होइन । इट इज रेप अफ माइ क्यारेक्टर,” अंग्रेजीमा उनले भनिन्, “म एकदम कडाइका साथ भन्छु । विमेनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा बेहोर्नुपर्छ, म बेहोरिरहेकी छु । तर, यस्तो किसिमको कदम सबै महिलामाथि नगिरियोस् । यसअघि पनि धेरैलाई सुसाइड गर्न फोर्स गरेको छ मिडियाले ।”
उनले आफू त्यसरी हार खाने महिला नभएको भन्दै अडियोको सत्यतथ्य छानबिन चाँडो गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सबैजना एउटै ब्रसले पेन्ट भएको नहुने भन्दै आफूलाई मन नपराउनेले खेद्न पनि नपाउने बताइन् । उनले नाम आएका सबैको छानबिन गरेर दोषी र निर्दोश छुट्टाउनुपर्ने बताइन् ।
उनले योसँगै नागरिकता नै त्यागरे विदेशिन मानिसहरु किन बाध्य भइरहेका छन् भन्ने विषयमा पनि अध्ययन गरेर समस्या समाधान गर्नुपर्ने भन्दै मानव बेचबिखनविरुद्ध काम गर्ने संयन्त्र पनि आवश्यक भएको बताइन् ।