site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
बूढा हो, तिमीहरू घरै बस ! 

एक दुई साताअघिको एक दिन । अँध्यारो भइसकेको थिएन । उज्यालै थियो । पुतलीसडकस्थित पुरानो सेन्चुरी बैंकपारिको बस बिसौनी (सडकपेटी नै ! न त्यहाँ बिसौनी भनेर तोकिएको छ न त कुनै पूर्वाधार नै बनाइएको छ ) मा मानिस टन्नै थिए । 

म कोठा फर्किन भनेर त्यही पेटीमा गाडी कुरिरहेको थिएँ । मूलपानीतिर जाने भएकोले मैले बस चढ्ने ठाउँ त्यही थियो । बाबाचोक जाने नेपाल यातायात एकचरण त्यहीँ रोकिन्छ । 

र, ललितपुर बालकुमारीदेखि चावहिल गोपीकृष्ण हलपारिसम्म पुग्ने नेपाल यातायात पनि त्यहीँ रोकिन्छ । अनि बस आइपुग्दा घर फर्किनेहरू गाडी चढ्न उछिनपाछिन गर्छन् । भित्र छिर्छन् र सिटको बन्दोबस्त गर्छन् ।

Dabur Nepal

करिब २० मिनेट कुरेपछि मैले चढ्ने बस आइपुग्यो । गाडी ढिलो आउने र ट्राफिक प्रहरीले पनि धेरैबेर रोक्न नदिने भएकाले यात्रुको दौडादौड अस्वाभाविक हैन । आआफ्नो बसमा केही यात्रु दौडिएरै चढे ।

बस घन्टाघर हुँदै पुरानो बसपार्कतिर मोडियो । पुतलसीसडकमा हत्तारिएर चढेकी एक महिला यात्रु ‘यो सुकेधारा जाने गाडी होइन ?’ भन्दै अत्तालिइन् । गाडीका सहचालकले ‘हैन, बाबाचोक जाने हो’ भनेपछि महिला ‘रोक्द्यौ मलाई रोक्द्यौ’ भन्दै ढोकातिर बढिन् ।

तिनी पुरानो बसपार्क अघिल्तिर ओर्लिन् । नेपाल यातायातले अरू यात्रु चढाउन थाल्यो ।

मलाई लाग्यो, गाडी चढ्ने बखतमै ती महिलाले मूलपानी बाबाचोकसम्म र चावहिल गोपीकृष्ण हलसम्म उल्लेखित सानो बोर्डमा ध्यान दिएको भए उनले पुतलीसडकबाट सभागृहअगाडि आइपुग्नु पर्ने थिएन । सायद, गाडी चढ्न फेरि पुतलीसडक नै गइन् कि !

सार्वजनिक यातायातबाटै यात्रा गर्ने भएकोले यस्ता धेरै घटनाको साक्षी भएको छु म । धेरैपटक धेरै यात्रुले ‘कासी जानु कुतीको बाटो’ झैँ भोग्नु परेको हुन्छ । तिनले थोरैमात्र पनि जाने ठाउँको नाममा ध्यान दिए अथवा सहचालकसँग एक वचन सोधे दोहोरो कष्ट बेहोर्नु पर्दैनथ्यो होला ।

हामी केही साथी २०४५ साल माघ महिनामा दिल्ली पुगेका थियौँ । हामी दुई तीन दिन दिल्ली बस्दा रुट नम्बर उल्लेख भएको दिल्ली नगर निगमको बसमा पटकपटक यात्रा गरेका थियौँ ।  कहिले दक्षिणी दिल्लीबाट पालिकामार्केट पुग्नु पर्थ्यो । कहिले स्वर्गद्वारीबाट पहाडगन्ज । हामीलाई गन्तव्यसम्मको यात्राका लागि अमुक अमुक नम्बरको बस चढ्न सुझाइएको थियो । 

र, हामी सुझाएअनुसारकै रुट नम्बर लेखिएको बस चढेर गन्तव्यमा पुगेका थियौँ । यसरी एउटा अङ्कले हामीलाई हामी पुग्नुपर्ने ठाउँमा पुर्याएको थियो । त्यहाँ हामीले ती महिलाले झैँ अर्को रुटमा गुड्ने गाडी चढेको भए हाम्रो हालत के हुन्थ्यो होला ? यतिबेला सोचिरहेको छु । 

हामी कहाँ भने अहिले ठूला बसहरूमा रुट नम्बर लेखिएको मैले पाएको छैन । कुनैकुनै टेम्पो वा माइक्रो बसमा देखिए पनि ठूला बसमा नम्बर छैन ।

एकताका काठमाडौंमा पनि निश्चित ठाउँका लागि निश्चित नम्बर तोक्ने चलन थियो । चावहिल बौद्धतिर २ नम्बरको गाडी वा टेम्पो हिँड्थ्यो भने लगनखेलका लागि १४ नम्बरको गाडी । त्यस्तै भक्तपुरका लागि यस्तै ९ वा १० नम्बर तोकिएको थियो क्यार । महाराजगञ्जतिर जाने ५ नम्बरको टेम्पो अहिले पनि फेला पर्छ ।

तर ठूला गाडीहरूमा रुट नम्बर उल्लेख छैन । गाडी अगाडिको सिसामा अड्याइएको सानो बोर्डमा यात्रा रुट लेखिएको हुन्छ । बस् । अब यात्रुले त्यो सानो अक्षर पढ्ने कि गाडीमा सिटको जोहो गर्न छिटोछिटो गाडीमा उक्लिने ! र, यही हतारोले यस किसिमको धोका कतिलाई मिल्दै आएको छ । त्यही धोका तिनै महिलाको भागमा पर्यो ।

ट्राफिक प्रहरी अथवा सरोकारवाला निकायले काठमाडौंका हरेक रुटलाई नम्बरमा बाँडिदिए कम्तीमा सार्वजनिक यातायात (बस वा माइक्रो वा टेम्पो)मा चढ्दा नम्बर हेरेर आफूलाई चाहिएको नम्बरको गाडी नै चढ्न सकिन्थ्यो । र, कुनै शंकाविना गन्तव्यसम्म यात्रा गर्न सकिन्थ्यो । 

बसका सहचालकले ठाउँको नाम फलाक्दा–फलाक्दै पनि यात्रु गलत बसमा उक्लिन्छन् भने त के भन्न सकियो र ! तर, कहिलेकाहीँ सहचालकले यात्रु तान्नैलाई पनि गाडी पुग्दै नपुग्ने ठाउँका मान्छे हालेको पाइन्छ । 

एकपटक नयाँ वानेश्वरबाट वीर अस्पतालसम्म पुग्नुपर्ने यात्रुहरू बाटोमा बस कुरिरहेका थिए । बस देखेर तिनले ‘वीर अस्पताल जान्छ’ भनेर सोधे । सहचालकले जान्छ जान्छ भन्दै पाका उमेरका तीनजना यात्रु चढाए । (ती तीनैजना ६५÷७० वर्षका देखिन्थे ।) त्यो बस भने सुन्धारा पुगेर वीर अस्पतालतिर नमोडिएर त्रिपुरेश्वरतिर झर्थ्यो । यस्तोमा ती पाका यात्रुहरूले सहिदगेटदेखि वीर अस्पतालसम्म हिँडेरै पुग्नु पर्थ्यो । यो तथ्यबाट तिनीहरू अनभिज्ञ थिए ! तिनलाई कस्ले भनिदिने यो कुरा । कसैले कुरो उठायो भने त्यसैले सहचालकको खप्की सुन्नुपर्ने हुनसक्थ्यो । 

ती वृद्ध यात्रुहरूलाई सहचालकले नै ‘गाडी वीर अस्पतालसम्म जाँदैन, सहिदगेटसम्म मात्रै पुग्छ । त्यहाँबाट हिँडेर जानुपर्छ है’ भन्ने जानकारी दिएको भए बसमा चढ्ने मन भए चढ्थे, नभए चढ्ने थिएनन् । तर, यहाँ सहचालकले यात्रुलाई धोका दिए । यस्तो धोका धेरै यात्रुले धेरै बसमा धेरैपटक पाएका होलान् ।

यस स्थितिमा पनि रुट नम्बर काम लाग्ने थियो । बसमा रुट नम्बर लेख्ने चलन  भइदिएको भए ती पाका यात्रुहरूले आफूलाई चाहिने नम्बर खोजी गरेर बस चढ्ने थिए र ठाउँमा पुग्ने थिए । बिचरा ती वृद्धहरूलाई घामपानी छिचोल्दै वीर अस्पतालसम्म हिँड्दा कति सकस भयो होला ? अनुमान गरौँ त !

वास्तवमा सार्वजनिक यातायातबाट यात्रा गर्ने अथवा सेवा लिने यात्रुहरूलाई सहज होस् भन्ने कोही कसैले चाहेको देखिँदैन । सहरको यात्रा सहज होस्, नगर बसले तोकिएको ठाउँमा पुर्याइदेओस् र त्यहीँबाट उठाएर फर्किनुपर्ने ठाउँसम्म ल्याइदेओस् भन्ने सर्वसाधारण यात्रुले चाहन्छन् । तिनले चाहेर के हुन्छ ? 

सोच्नु पर्नेले त्यतातिर सोचेको देखिँदैन । यसतर्फ कसैले ध्यानदृष्टि पुग्थ्यो भने राजधानीको सार्वजनिक यातायात ‘यातना केन्द्र’ बन्ने थिएन । बस चढ्न र ओर्लिन खोज्ने वृद्ध यात्रुहरू उक्लिँदा वा ओर्लिँदा बस बिसौनीमा टक्क रोकिन्थ्यो होला र सबै ओर्ली सकेपछिमात्र चल्थ्यो होला बस । अहँ ! त्यस्तो दृश्यको त कल्पना पनि गर्न सकिन्न । 

यतातिर न त ट्राफिक प्रहरीले नै कहिल्यै ध्यान दिएको पाइएको छ न त बस चालक वा सहचालकले नै । ज्येष्ठ नागरिकहरूलाई बस चढ्न र ओर्लिन सधैँ सकस भइरहेको देखिन्छ सार्वजनिक गाडीमा ।

कोटेश्वरको एउटा प्रसँग यहाँ प्रस्तुत गर्नु असान्दर्भिक नहोला । निकै अघिको कुरा हो । कार्यालय समय घर्किसकेको थियो । तथापि जाम उस्तै थियो । कोटेश्वर ट्राफिक जामका लागि प्रसिद्ध छ । केही ज्येष्ठ नागरिकहरू कोटेश्वर चोकमै ओर्लिने तरखर गर्दै थिए । गाडी रोकिएन । 

गाडीबाट ओर्लिनुपर्नेहरू कराउन थाले । तर, ट्राफिक प्रहरीको  आदेशले बस तीनकुनेतिर ओर्लिँदै गयो । र, तीनकुने नपुग्दैको भैरव मन्दिरअगाडि पुगेर रोकियो । अनि मात्रै कोटेश्वरमा उत्रिनुपर्ने यात्रुहरूलाई ओरालियो । जसमा केही ज्येष्ठ नागरिकहरूसमेत थिए ।

कोटेश्वर ओर्लिनेहरू रिसाउँदै थिएँ । सहचालक ट्राफिक प्रहरीलाई दोष दिँदै थिए । आखिर दुःख त यात्रुले पाएकै हुन् । यस्ता दुःखको निवारणका लागि ट्राफिक प्रहरीले केही गर्न सक्दैन ? कि गर्न नचाहेको हो ? 

यस्तै हो भने त सार्वजनिक यातायातबाट सेवा लिने यात्रुहरूले बस चढ्नै छोडिदिए भएन र ! कि त भन्नु पर्यो – ‘बूढाबुढी हो, तिमीहरू घरै बस । बस नचढ् । काठमाडौंमा चल्ने बस तिम्रा लागि होइनन् ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro