
पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम मर्जरमा गइरहेका छन् । एक वर्षअघि २८ रहेको वाणिज्य बैंकको संख्या अहिले २१ मा झरेको छ ।
वाणिज्य बैंकहरू एकापसमा मर्जर हुँदै जाँदा त्यहाँ मानव संशाधन व्यवस्थापनमा चुनौती पनि थपिँदै गएको छ ।
बैंकका विषयमा अहिले जनमानसमा भ्रमपूर्ण सन्देश समेत प्रवाह गरिएको छ । यिनै विषयमा केन्द्रित रहेर नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीसँग बाह्रखरीले गरेको कुराकानी–
दुई संस्था एकैपटक मर्ज गर्नुभयो । मानव संशाधन व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
मर्जरमा सबैभन्दा ठूलो चुनौती नै मानव संशाधन व्यवस्थापन थियो । हामीले फाइनान्स कम्पनी र वाणिज्य बैंक नै मर्जर गर्यौँ । फरक संस्थामा काम गरेका कर्मचारीलाई एकैपटक अर्काे संस्थामा ल्याउँदा असहज त भयो नै । तर, सकेसम्म मिलाउन कोसिस गर्यौँ । अर्काे संस्थामा काम गर्ने तरिका र पोजिसनले पनि समस्या पार्यो ।
मानव संशाधन व्यवस्थापनामा विचार गर्नुपर्ने दुईवटा कुरा थिए । अरू साधनस्रोतजस्तो मानव संशाधन व्यवस्थापन हैन । भौतिक सम्पत्ति त कागजतमा मिलाए हुन्छ । तर, मान्छेको मिलानमा मनको मिलन हुनुपर्छ । हाम्रोमा पनि दुई संस्थाबाट आएकाहरूलाई मनले नबिलको बनाउनुपर्ने थियो । यो ठूलो चुनौती थियो ।
कसैलाई पनि मर्का नपर्ने गरी व्यवस्थापन हुनुपर्ने थियो । हामीले कोसिस राम्रो गर्यौँ । खाइपाइ आएको तलबभत्ता मर्जर एक्विजिसनसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार नै गर्यौँ । पोजिसन पनि केही थपिए ।
अर्काे संस्थाबाट आएका कर्मचारीलाई उनीहरूको पफर्मेन्स हेरेर एडजस्ट गर्ने गर्यौँ । नबिलको सिस्टममा जो अब्बल भयो, उसलाई हामीले एडजस्ट गरिसकेका पनि छौँ । निश्चित समय पनि दिएका छौँ ।
युनाइटेड फाइनासन्सको हकमा त्यहाँ असिस्टेन पोजिसनमा भएकाहरूको तलब नबिलमा आएपछि पाँच वर्षभित्र एकरूपता गर्ने भन्ने सर्त गर्यौैँ । सबैको एकैपटक एकरूपता गर्दा ठूलो खर्च भार पर्ने देखियो । त्यसले पनि प्रत्येक वर्ष तलब वृद्धि गर्ने गरेका छौँ ।
नेपाल बंगलादेश बैंकको हकमा पनि नबिल बैंकको एउटा पोजिसनमा पुग्न कति वर्ष अनुभव चाहिन्छ, अनि त्यहाँ कुन तहमा पुगेको छ भनेर हामीले अध्ययन गर्यौँ। प्रमोसन प्रोग्रेसनको हामीले अध्ययन पनि गर्यौँ । अधिकृतभन्दा तल हामीले एडजर नगर्ने र अधिकृत लेबलका ५० प्रतिशत साथीहरूलाई ६ महिनाको पफर्मेन्सको आधारमा नबिलकै अधिकृत वा सोसरहका सेवा सुविधा दिने सहमति गर्यौँ । यो हामीले अहिले गरिसकेका पनि छौँ ।
दुवै संस्थाका कर्मचारीलाई नबिलियन बनाउँदा कत्तिको सकस भयो ? उनीहरूले कस्तो अनुभव गरेका छन् ?
पोजिसनको पक्षमा अरू संस्थाबाट आएकाहरूले केही मन दुखाएको पनि सुन्छु म । त्यो कल्चरमा १० वर्ष लिड गरेको सीईओ अहिले यो बैंकको सीईओ हुनुहुन्छ । त्यहाँका कर्मचारीहरूलाई यहाँ एडजस्ट हुन सजिलो छ । काम गर्ने सिलसिलामा पफर्मेन्स नै हो । जहाँ गए पनि काम देखाउनैपर्छ । काम गर्नेलाई जहाँ पनि सम्भावना हुन्छ ।
एनबि बैंकबाट एचआर हेडबाट रिटायर हुनुभएकोलाई हामीले यहाँ ल्याएर एचआर डिपार्टमेन्ट हेड बनाएका छौँ ।
असहज भयो भने सम्बन्धित क्षेत्रमा भन्ने हो । बाहिर गएर कुरा गर्नु हुँदैन । पफर्मेन्स बेसमा हाम्रो सेवा सुविधा हो ।
हामीले समस्या सम्बन्धित ठाउँमै भन्ने हो । एनबि बैंकबाट आउनुभएका साथीहरूले त्यस्तो महसुस गर्नुभएको छ भने एचआरमा खुल्ला रूपमा कुरा राख्न सक्नुहुन्छ । उहाँहरूसँग काम गर्नुभएकै सीईओ हुनुहुन्छ । उहाँसँग पनि राख्दा हुन्छ ।
कार्यालयमा सबैको मन खुसी बनाउन सकिँदैन । सबैको मन खुसी बनाउने हो भने आइस्क्रिम बेच्ने हो । हामी आइस्क्रिम बेच्दैनौँ ।
बाह्य कारणले बैंकिङ क्षेत्रमा तनाव बढेको देखिन्छ । आन्तरिक प्रतिस्पर्धा त भइगयो । बाह्य फ्याक्टरले कर्मचारीमा कस्तो खालको तनाव बढेको छ ?
बैंकमा काम गर्न गाहो छ, स्ट्रेस छ, बढी जिम्मेवारी हुन्छ भनिन्छ । यसमा मेरो प्रस्ट जवाफ छ । काम नगरेर के गर्ने त ? आफ्नो अफिस समयमा काम गरेर पफर्मेन्स देखाए त आफ्नै लागि हो नि !
हामी घरमा छिटो गएर पनि फेसबुक र टिकटक चलाउँछौँ । कामलाई हामीले जिम्मेवारीका रूपमा लिनुपर्छ । हामीले बढी सिक्यौँ भने करियर बन्नु हो ।
हामीले कामसँग समाउने हो । त्यसलाई बोझका रूपमा लिने हैन । नेपालमा जति बिदा कहाँ हुन्छ ? नेपालमा जस्तो काम गर्न सजिलो कुनै मुलुकमा पनि छैन ।
ब्याजदरको विषयले बजारबाट बैंकका कर्मचारीलाई जसरी धम्की आएको छ, त्यसले कस्तो असर पारेको छ ?
मैले त कहिल्यै पनि त्यस्तो देखेको छैन । एउटा आधार नभएको मान्छेलाई मिडियाले उचालेर बजारमा भ्रम पैदा भएको हो ।
एउटा दुर्गा प्रसाईंले के भन्यो भनेर मिडियाले किन प्रचारप्रसार गरेको ? बिक्छ भन्दैमा जे पनि बेच्ने हो र ? अहिले नेपालमा प्रतिबन्धित लागुऔषध कोकिन र हिरोइन किन बिक्री नभएको त ? यो त महँगोमा बिक्री हुन्छ नि ! हो मेरो भनाइ यही हो ।
मिडियाले बेकारमा उसलाई बोकेको हो । मिडियाले जे पनि प्रचारप्रसार गर्न मिल्छ ? जिम्मेवार व्यापारीले के सामान बेच्ने भनेर उसले विचार गर्ने हो नि त ।
मिडियाले सोसाइटीको माइनसेट परिवर्तन गर्छ । तर, के सन्देश प्रवाह गर्ने भन्ने कुरा उसले जान्नुपर्छ । टीआरपीको पछाडि लाग्नु त भएन । अहिले नेपाली समाज एकदमै नकारात्मक भएको छ । नकारात्मक कुरा गर्यो भने सबैलाई मन पर्छ । राम्रो कुरा गर्दा फटाहा र चोरजस्ता शब्द बर्सिन्छन् । के हामीले बनाउन खोजेको समाज यही हो त ?
तर, पछिल्लो समय सबैले बुझ्दै गएका छन् । अहिले दुर्गा प्रसाईं र एउटा बैंकर्सको कुरा राख्ने हो भने कसको कुरा सुन्छन् र कसलाई के भन्छन् भन्ने त्यहीँबाट छुट्टिन्छ । बैंक भनेको सर्वसाधारणको पैसाबाट चलेको हुन्छ । एउटा व्यक्तिले के भन्यो भन्ने कुरा ठूलो हैन, सबैले आफ्नो पैसाको जोखिम लिनु हुन्न ।
मान्छेमा विवेक छ । समय तलमाथि मात्र हो । त्यस्ता गलत कुरा गर्नु हुन्न । किन भन्दा निक्षेपकर्ताको चार करोड डिपोजिटर बैंक खाताबाट हामीले पैसा जम्मा गरेका हौँ । बैंक डुब्न हुँदैन । बैंक डुब्यो भने कोही पनि पैसा राख्न आउँदैन ।
बैंक डुब्यो भने सर्वसाधारणको पैसा डुब्छ । बैंक डुब्नुपर्छ भनेर कसैले पनि भ्रम छर्न हुँदैन । बैंकले गर्दा गाउँगाउँबाट पैसा पठाउन सजिलो भएको छ । पहिले पैसा झिक्न र पठाउन दुई दिन हिडेर जानुपर्ने बाध्यता थियो । लाइन लागेर पैसा झिक्नुपर्थ्यो । अहिले कति सजिलो भएको छ । यहीँ बसेर मोबाइलबाट पैसा पठाउन सकिने व्यवस्था छ । यस्तो परिवर्तनलाई चाहिँ हामीले भुल्नु हुन्न ।
जनताको पैसा राखेको बैंकको चार÷पाँच लाख लगानीबाट आज कति अर्बपति भएका छन्, यसको गुणदोष केही हुँदैन ? त्यसलाई हामीले भुल्ने ? हामीचाहिँ पारदर्शी भएकै कारण गाली खानुपर्ने हो ? तलबभत्ता बढी खायो भनेर हामीलाई गाली गरिन्छ । हामी बैंकर्सहरूले पनि वित्तीय साक्षरता दिन नसकेको हो । सामान्य जनतामा त्यो चेतना हामीले सिर्जना गर्न सकेनौँ । गर्वका साथ भन्छु, आजका दिनसम्म दुई लाख ६५ हजार रुपैयाँ कर राज्यलाई तिर्छु । घुस त खान्नँ नि ! किन खान्नँ भने मलाई पुग्ने गरी तलबभत्ता छ ।
अरू कम्पनीको सीईओले कति तलब खान्छ भनेर कसलाई थाहा छ ? स्कुलमा फी कति बढेको छ भनेर कसैलाई थाहा छ ? जनताको पैसामा हामीले यसरी खेदो खन्न हुँदैन । हामीले यस्ता कुरामा ध्यान दिनु हुँदैन । हामीले गर्व गर्नुपर्छ । किनभने, हामी बैंकर्स हो । हामीले जनताको पैसा सुरक्षित राखिदिएर अरूले व्यवसाय गरेका छन् । हामीले यथार्थतालाई भुलेर गलत सूचना फैलाउन हुँदैन ।
बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
अहिले वाणिज्य बैंकका शाखाहरू पाँच हजारभन्दा बढी भइसकेको अवस्था छ । सबै बैंक तथा वित्तीय संस्थाको शाखा ११ हजारभन्दा बढी पुगेको अवस्था छ । लगभग ७५ हजार साथीहरू अहिले बैंक तथा वित्तीय संस्थामा कर्मचारी छन् ।
नलेजफुल र अनुभवी जनशक्तिको अभाव त भएकै हो, तर अरू क्षेत्रमा भने जनशक्ति पर्याप्त छन् ।
बैंकिङ क्षेत्र त्यस्तो धेरै टेक्निकल क्षेत्र हैन । केहीकेही मात्र टेक्निकल छ । सिक्न खोज्ने मान्छेलाई पाँच महिनामा राम्रो बैंकर्स बनाउन सकिन्छ ।
तपाईं केन्द्रीय बैंकबाट करियर सुरु गरेर अहिले निजी क्षेत्रमा हुनुहुन्छ । पहिले र अहिले काम गर्ने शैलीमा कति फरक छ ?
काम गर्ने शैलीमा अहिले र पहिले धेरै फरक छ । पहिले हाकिमको कोठामा मुटु कमाउँदै पस्नुपर्ने समय पनि थियो ।
हाकिमको अगाडि हाँस्नु हुँदैन भन्ने पनि मान्यता थियो । मैले काम गर्दा यस्तो थियो । लिडरसिप पनि एडमिनिस्टेटिभ टाइपको थियो । तर्साएर, थर्काएर काम गराइन्थ्यो ।
आजको लिडरसिपचाहिँ अहिले जति बेला नि एभालेवल छ, ‘यु क्यान टक यु क्यान सेयर एनिथिङ विथ हिम अर हर’ भन्ने कुरा छ । त्यो लेवलको म्यानेजमेन्टबाट यो लेवलसम्म आउँदा, त्यति बेला एडमिनिस्ट्रेटिभ पावर उसले क्यारी गरेर, उनीहरू सकेसम्म आफैँमा पावर राखेर पावर्ली बलियो हुन्थे भने आज रिलेसनसिप म्यानेजमेन्ट र पिपुल रिकोमेन्डेसनको लेवल र मान्छेलाई ‘वन’ गर्छन् ।
त्यति बेला लिडरहरूले पावर वन गर्थे, आज पिपुल वन गर्छन् । ‘सो डाइनामिक्स ह्याज टोटल्ली चेन्ज्ड’ । आज कुनै सफल लिडरसिप रोलमा बस्ने मान्छेले पिपुल वन गरेन भने त्यसले काम गर्न सक्दैन । किन भन्दा आज मान्छेहरूलाई च्वाइस र अप्सन बढी छ र हरेक मान्छे ‘ह्याँ’ भन्ने वाला फिलिङमा छ । त्यसैले तलब, सुविधाभन्दा मान्छेलाई वन गरिराखेपछि काम गर्न सजिलो छ जस्तो लाग्छ ।
एडमिनिस्ट्रेटिभ लेवलबाट पावर होल्ड गर्नेदेखि लिएर आज पिपुलको सेन्टिमेन्ट होल्ड गर्ने लेवलमा डाइभर्जन भइसकेको छ । आज त पिपुल म्यानेजमेन्ट स्किल भएको, रिलेसनसिप म्यानेजमेन्ट स्किल भएको र अलिकति सेल्स मार्केटिङ स्किल भएको मान्छेले अब्बल गरेको छ । त्यही भएर बैंकिङ क्षेत्रको लिडरसिपमा धेरै कुरा चेन्ज भएको छ ।
तर, जति कुरा गरे पनि अनुभव र एक्सोपोजर भनेको चाहिँ दुईचार बल्याड्याङ बिताएरै, दुईचार हन्डर खाएरै, दुईचार दुःख पाएरै, गर्नुहुन्छ÷हुन्न भन्ने कुरालाई ‘सिजल्ड’ मान्छे नै चाहिन्छ । त्यही भएर कतिपय ठाउँमा अलिकति एग्रेसिभ, आक्रामक बढी हुने, जसको कारणले बैंकिङ सेक्टरमा कताकता समस्या पनि देख्नुहुन्छ ।
अहिलेको लिडरसिपमा ‘मिक्स’ र ‘ब्लिन्ड’ भनेको एउटा कुरा फायर, स्ट्राटिजिक माइन्डसेट र पिपुल म्यानेजमेन्ट स्किल, सेल्स मार्केटिङ स्किल भएको मान्छे पनि चाहियो । सँगसँगै अनुभव र म्याच्युरिटी त्यसको ब्लिन्ड भयो भने अहिलेको लिडरसिपमा, एचआर म्यानेजमेन्ट, पिपुल म्यानेजमेन्ट र बैंकिङ लिडरसिपमा धेरै कुरा चेन्ज हुन्छ ।
धेरै चिज चेन्ज भएको छ । राष्ट्र बैंक नै चेन्ज भएको छ । पहिलाको र अहिलेको राष्ट्र बैंकका अधिकारी हेर्ने हो भने उनीहरू नै बढी अनुभवी, ज्ञानी र फ्लेक्जिबल छन् ।
तर, त्यो हुँदै गर्दा उनीहरू रोल जिम्मेवारीमा डग्दैनन् । पहिला अलिकति अटोक्रेटिक स्वभावको, पावर, पोजिसनै मेरो ठूलो हो भन्ने खालको थियो भने अहिले त्योभन्दा पनि मेरो रोल अथोरिटी हो, तर मैले सपोर्ट गर्नुपर्छ भन्ने छ ।
नबिल बैंकले कुन आधारमा कर्मचारी लिन्छ ? कसरी जागिर दिइन्छ ?
हामीले गर्ने भनेको जुनियर टेलर भन्ने पोजिसन, तीनवटामा चाहिँ फ्रेस रिक्रुट गर्छाैँ । बैंकिङ क्षेत्रमै भएका साथीहरू, अनुभव भएका साथीहरूलाई टाइलेन्ट रनमार्फत गर्छाैँ । नबिलले गर्ने सबै रिक्रुटमेन्ट पारदर्शी छ । हामीले विज्ञापन खुलाएर मात्रै रिक्रुट गर्छाैँ । अहिले मर्जर, एक्विजेसनपछि, धेरै कुरा म्याचुरिटीपछि हाम्रो पनि टर्नओभर, रिजाइनहरू बढ्न थालेको छ ।
कतिचोटि विज्ञापन खोल्ने भनेर हाम्रो वेबसाइटमा ‘जब वाच’का लागि क्यारियर सेक्सन खुला गरेर त्यहाँबाट आएका सीभी हेर्दै आवश्यकताअनुसार एचआरले हायर गर्ने कि भन्नेमा पनि छौँ ।
नबिलले तलब कम दिएको हल्ला चलेको थियो, के भन्नुहुन्छ ? नबिल आफ्नो स्तरबाट तल झरेको हो ?
नबिलको स्ट्यान्डर भन्ने कुरा मान्छेले काँ’निर कम्पेयर गर्यो भने, एसिस्टेन्टकै तलब ६०/७० हजारभन्दा माथि हुन्छ । नबिलको हिजो असिस्टेन्टकै तलब पनि ६०/७० हजार हुन्थ्यो, आज २०/२२ हजारमा जुनियर असिस्टेन्ट हायर गर्न थाल्यो भन्ने त्यो इस्स्यु हो । यो भनेपछि त नबिलको स्ट्यान्डर घट्यो । एउटा कुरा प्रतिप्रश्न गर्छु– नबिल हिजो एडभान्टेज थियो, आज त्यो एडभान्टेजमा छ त ?
म डाइनोसर हुने हो त ? डाइनोसरभन्दा म जिराफ हुने हो नि त ! डाइनोसर हुँदा त लोप हुन्छ ।
हिजो नबिल कर्पाेरेट सेन्ट्रिक बिजनेस मोडलमा थियो । लोन कर्पाेरेट थियो । कम इम्प्लोई, कम ब्रान्चबाट काम गरेका थियौँ । कर्पाेरेन्ट अकाउन्ट पनि ठूलो थियो । कस्ट अफ डिपोजिट एकदमै कम थियो । हाम्रो कर्पाेरेट लोनहरू थियो । टन्न कमाउँथ्यौँ । कम कर्मचारीले कम ब्रान्चमा काम गरेका थियौँ । त्यो प्रिभिलेज नबिलसँग थियो ।
आज आएर, त्यहाँबाट यहाँ आउँदा यो ३८/३९ वर्षको इतिहासमा आज के भयो भन्दा मानिसले मेरो ब्याजदर अरू बैंकको हाराहारी भएको कति वर्ष भयो, पाँच कि छ वर्ष भयो ?
आज नबिलको जति डिपोजिट इन्ट्रेस्ट रेट हो, अरूको पनि त्यही हो । मेरो रेभ्युन्युमा अरूभन्दा बेटेर माइलेज लिने ठाउँ नभएपछि कस्टमा मात्रै माइलेज लिएर जानु भनेको त मैले सुसाइड गेम त लिन सक्दिनँ । अब बैंकलाई के प्रेसर बन्यो भने, अब म रेभ्युन्युमा अरूजत्तिकै हुन थालेँ भने कस्ट पनि अरूजत्तिकै हुनुपर्यो । त्यसको लागि अहिले कर्मचारीलाई फलानो बैंकको कर्मचारीको तलब ३० हजार, तेरो पनि ३० हजार गर्छु भन्न मिल्छ ? सोप्रति कर्मचारीको खर्च घटाउन मैले नयाँ रिक्रुटमेन्टको तलब, सुविधा घटाउनुप¥यो । त्योअनुसार बैंकले निर्णय गरेर नयाँ पोजिसन एड गरेर सुरुआती तलब दियौँ ।
कसैले त्यो कम भयो भन्यो भने यही सेक्टर हो, कतिवटा बैंक छन्, जुन बैंकले पाँच महिना कन्ट्रयाक गरेर तीन दिनचाहिँ बिदा बस् भनेर, केही सुविधा नदिने गरेर । नबिलले बैंकले पाँच महिनाको कन्ट्रयाक्ट गर्दैन । गर्या छैन ।
१०/१२ हजारमा काम गर्ने कतिजना छन् ? ‘हजुर म इन्टर्न नबिल बैंकको पाऊँ, इन्टर्नसिप मात्रै पनि गर्न पाए मेरो जीवन उद्धार हुन्छ’ भन्ने मान्छेलाई मैले आज होइन, तिमी नबिलको पर्मानेन्टमा आऊ, सबै सुविधा हुन्छ, सरकारले १३ हजार ५०० तोकेको भन्दा बढी दिन्छु भन्दा त्यसैलाई इस्स्यु बनाएर मैले ६० हजार पाउनुपर्छ भन्यो भने म कसैलाई सहयोग गर्न सक्दिनँ ।
त्यो मान्छे मैले आउट सोर्सिङबाट लिएको भए तलब १३ हजार ५०० हुन्थ्यो, कुनै बिदा पाउँदैनथ्यो । कुनै सुविधा पाउँदैनथ्यो । भोलि नबिल बैंकको कार्ड नबोकेर आउट सोर्सिङको कार्ड बोकेको हुन्थ्यो । त्यो ठिक कि बैंकमै काम गरिसकेपछि तिमीले काम नबिल बैंकबाट सुरु गर्यौ, पर्मानेन्ट कर्मचारीमा आयौ, तिम्रो सबै सोसल सेक्युरिटी पनि दिन्छौँ, तिमी नबिलको कार्ड झुन्ड्याएर हिँड भन्दा यो बेटर होन्त !
इन्ट्री गरेपछि क्षमता छ भने मास्टर्स गर्नुस्, एमटी खुलेको छ, हामीले अहिले एमटीको इन्टरभ्यु लिइरहेका छौँ । काम गरिरहेको मान्छे, अनुभव हुन्छ, माथि जानुस् । बजारमै पनि अन्य बैंक छ, चित्त बुझेन भने । यो चिजलाई त मैले बेटर गरेको हो ।
अब हेर्ने के भने, पहिलाको जस्तो छैन । समय, स्थिति परिवर्तन भयो । मैले त अहिलेको समयानुसार सबै व्यवस्थापन गर्नुप¥यो । खर्च व्यवस्थापन गर्नुपर्यो । त्यो प्रेसर बैंकिङ सेक्टरलाई नै छ । हामी हिजोभन्दा धेरै ठाउँमा कस्ट कन्ट्रोल गरेर गएका छौँ । त्यही प्यारामिटर्समा पर इम्प्लोई कस्टलाई पनि एउटा रेन्जमा ल्याएर काम गरेको हो । सुरुमा त्यो गरेपछि त भोलि दौडिन्छ, जान्छ, भोलि नबिलको सीईओ हुन्छ । उद्देश्य त्यो हुनुपर्यो ।
पहिलेपहिले नबिल बैंक कर्मचारीका लागि ‘ग्रीन जब’ हुन्थ्यो, अहिले छोडेर जाने धेरै छन् । के कारणले यस्तो भयो ? जनशक्ति किन रोक्न सकिएन ?
एकैपटक धेरै स्टफहरूले छोडेर गए भने राम्रो हैन । तर, केही गए भने राम्रो हो । किनभने, नबिल बैंकमा जब स्टार्ट गरेको मान्छेको स्तर बढेको हेर्न चाहन्छौँ । एक समय नबिलको असिस्टेनमा प्रवेश गरेको व्यक्ति त्यही पदबाट रिटायर भएको पनि छ । आफ्नो क्षमताअनुसारको काम भएन भने त्यसले संस्था परिवर्तन गर्नैपर्छ । उसले सीईओ हुन्छु भन्ने उद्देश्य राख्नुपर्छ । एकै ठाउँ गुम्सिएर बस्नु हुँदैन ।
यस्तो उद्देश्य बोकेको मान्छे निस्किएकै राम्रो । अनि, असन्तुष्ट भएर बस्नु भनेको त्यसले अरूलाई पनि असन्तुष्ट बनाउनु हो । एउटा कुहिएको आलुले सबैलाई कुहाउँछ भनेजस्तै हो, कर्मचारीमा पनि । यसलाई अन्यथा लिनु हुँदैन । निस्किएर खाली भएको पदमा अर्काे व्यक्ति आउँछ । नयाँ भर्ना खुल्छ । संस्थालाई पनि फाइदा नै हुन्छ । नयाँ कल्चरबाट आउँछ । एउटा जीवन्त संस्थामा यो प्रक्रिया हुनैपर्छ ।
बैंकिङ क्षेत्रमा महिलाको प्रतिनिधित्व कम छ, विशेष गरी माथिल्लो पोस्टमा । उनीहरू प्रतिस्पर्धामा कमजोर भएर हो ?
ओभरल बैंकिङ सेक्टरको हेर्नुहुन्छ भने महिलाको प्रतिनिधित्व ४५ प्रतिशत जब होल्डर छन् । यो बैंकिङ क्षेत्रमा अत्यन्त राम्रो पक्ष हो । तर, उच्च लेवलमा अत्यन्तै कम छ । हाम्रो बैंकमा पनि एकजना मात्र कार्यकारी हुनुहुन्छ । कहिलेकाहीँ मिटिङमा ढिलो आउँदा पनि सबै पुरुष भएर हो कि भनेर पनि प्रश्न गर्छौँ ।
महिलाको कर्तव्य बढी भएकाले पनि उनीहरूको वृद्धि विकासमा समस्या पुगेको छ । महिलालाई हेर्ने समाजको दुष्टिकोणले पनि महिला अगाडि बढ्न सक्दैनन् । महिला बच्चा हुर्काउन रातभर सुत्दैनन् । त्यो समयसम्म त काममा प्रतिस्पर्धी पुरुष साथीले उछिनी सक्छ । त्यसैले पनि महिलाहरू उच्च लेवलमा कम भएको जस्तो लाग्छ ।