योग के हो ?
योग प्राकृतिक रूपमा पनि भइरहेकै हुन्छ । योग आत्मा र परमात्माको मिलन पनि हो । हामीले कुनै किसिमले आराम गर्दा आत्मा र परमात्मा नजानिदो ढंगले एकाकार भएको अनुभूति गरेका हुन्छौँ । योगको लक्ष्य भने सचेततापूर्वक त्यस्तो एकाकार हुनु हो । योग एक बहुआयामिक विषय हो र यसका धेरै पक्ष हुन्छन् । ऋषि पतञ्जलीले आठ आयामको चर्चा गरेका छन् । ती आठ आयाममा आसन, प्राणायाम, धारण, ध्यान, याम, नियम, प्रत्याहार, समाधि पर्छन् । धेरै कम मानिसले मात्र यसको अवलम्बन गरेका हुन्छन् । साथै विनायोग पनि स्वस्थ र फुर्तिलो जीवन बाँचिरहेका हुन्छन् । तसर्थ, सामान्य सफल जीवनका लागि योग अपरिहार्य भन्न मिल्दैन ।
तैपनि, सचेत योगका विविध महत्त्व रहेको हुन्छ ।मानिसका इच्छा असीमित हुन्छन् । इच्छा र तृष्णाकै कारण मानिसका मनमा सुख वा दुःख उत्पन्न हुन्छ । शारीरिक वा मानसिक दुखले मानिसलार्इ असन्तुलित बनाउँछ । सुख झनै क्षणिक हुन्छ । सुखको आशामा पनि मानिस दुखी बन्न पुग्छ । तसर्थ, इच्छाका पछाडि कहिलेसम्म दौडिने भन्ने प्रश्न उब्जिन्छ ।यस विषयमा पूर्वीय ऋषिमुनिले दुःख र इच्छाको चक्रव्यूहबाट छुटकरा पाउने एकमात्र माध्यम योग हो भनेका छन् ।
सामान्य अर्थमा बुझ्दा योगले स्वस्थ जीवन, मानसिक शान्ति र सामाजिक सुसम्बन्ध बढाउनुका साथै समस्त चराचर जगत र वातावरणप्रति सौहार्दता राख्न सघाउँछ । त्यसैले शारीरिक सुगठनका लागि गरिने अभ्यास वा खेलकुदभन्दा यो व्यापक छ । यो एक जीवन दर्शन र समष्टि जीवनशैली हो । यसलार्इ स्वस्थ जीवनको माध्यमदेखि बिमार पर्दा उपचार गर्ने चिकित्साको माध्यम समेतका रूपमा अपनाउन सकिन्छ । यो शरीर लचिलो बनाउने विधिमात्र होइन भन्नेमा स्पष्ट हुनु जरुरी छ ।
अर्को अर्थमा योग बहुस्तरीय चेतन शरीरको शुद्धीकरण र व्यवस्थापन पनि हो । विभिन्न तत्त्वदर्शीले मानव शरीरलार्इ पाँच तहमा विभाजन गरेका छन् । हाम्रो आँखाले सजिलै देख्न सकिने शरीरलार्इ अन्नमय कोष भनिएको छ । श्वासको समग्र प्रणालीलार्इ प्राणमय कोष भनिएको छ । त्यसभन्दा सूक्ष्म शरीर अर्थात् मनलार्इ मनमय कोष भनेर चिनिन्छ । मनको शक्तिद्वारा संचालित हुने बौद्धिक शरीरलार्इ विज्ञानमय कोष नामले चिनाउने गरेको पाइन्छ । अन्त्यमा अभौतिक शरीरलार्इ घेरेर बस्ने तत्त्वलार्इ आनन्दमय कोष भन्ने गरिएको छ । तसर्थ यिनै शरीरहरूको शुद्धीकरण र बोध नै योग हो भन्न सकिन्छ ।
सामान्यतया हामीले बुझ्ने गरेको योग अभ्यास विभिन्न ऋषिमुनिद्वारा विभिन्न समयमा विकास गरिएको हो । खासगरी शास्त्रमा चौरासीलाख जीव भएजस्तै त्यति नै प्रकारका आसन विकास गर्न सकिन्छ भन्ने मत रहेको पाइन्छ । प्रत्येक एक लाखको लागि एउटा मुख्य आसन विकास भएको र त्यसकै आधारमा चौरासी प्रकारका आसनहरू मूल आसनका रूपमा रहेको भन्ने विश्वास मानिन्छ । जे भए पनि मानिसहरूले प्राणीको अवलोकन गरेर आसनहरूको विकास गरेको बुझ्न सकिन्छ ।
योग अभ्यास गर्ने व्यक्तिले नियमितरूपमा योग अभ्यास गर्नुपर्ने, ठीक ढंगले गर्नुपर्ने र आवश्यकताअनुसारको अभ्यास गर्नुपर्नेमा दुर्इ मत देखिँदैन । कुनै पनि मानवीय क्रियाकलाप उद्देश्यमूलक नै हुन्छ । तसर्थ जे जति उद्देश्य राखेर गरिन्छ त्यसका लागि पर्याप्त पनि हुनुपर्छ । योग मानिसको छनोटको विषय पनि हो । किनभने मानिसका उद्देश्यका आधारमा अन्य माध्यमहरू पनि अपनाउन सकिन्छ । उदाहरणका लागि चीन, जापान र भियतनामजस्ता देशमा योग अभ्यासजस्तै विभिन्न किसिमका अभ्यासहरूको विकास भएको पाइन्छ ।
केही समययता मानिसहरुको बढ्दो व्यस्तता खानपान, असन्तुलन र मानसिक तनावले गर्दा योग अभ्यासको आवश्यकता झन् झन् बढी महसुस हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेदेखि यसले थप व्यापकता प्राप्त गरेको छ । योग टिभी, योग गुरु र इन्टरनेटका विविध माध्यमबाट यसको व्यापक प्रचारप्रसार भइरहेको छ । अवश्य पनि मानिसहरूले योग अभ्यासबाट केही न केही लाभ पाइरहेका छन् । तर, तथ्यांकका आधारमा अझैपनि अनुसन्धानबाट वैज्ञानिक रूपमा लाभ वा लाभ शून्यता वा हानिका बारेमा कमैमात्र तथ्य बाहिर आएका छन् । यसैले अब योगलार्इ विज्ञानसँग जोड्नैपर्ने देखिन्छ । अनिमात्र जीवनमा योग आवश्यक छ त भन्ने प्रश्नको ठोस उत्तर दिन सकिएला ।
जीवनका सबै उपयोगी कुराको आरम्भ वैज्ञानिक तथ्यका आधारमामात्र भएका भने थिएनन् । विज्ञानको विकास हुनुपूर्व नै मानिसहरुले अनुभव र अनुभवको पुस्तान्तरणको आधारमा उपयोगी संस्कार अपनाउँदै आएका हुन् । त्यस्ता विषयलार्इ पछि विज्ञानका सहाराले सही वा गलत प्रमाणित गर्ने कार्य भएका छन् । विज्ञानका सहाराले त्यस्ता अभ्यासलाई परिस्कृत बनाइएका छन् । तसर्थ आदीमकालदेखि विकास हुँदै आएको योगलार्इ विज्ञान र आधुनिक चिकित्सासँग जोड्नु अत्यन्त जरुरी भइसकेको छ । अनिमात्र मानिसका जीवनमा के कस्ता अवस्थामा के कस्ता योग अभ्यास के कस्ता प्रयोजनका लागि आवश्यक छ भन्ने एकिनका साथ भन्न सकिएला । तबसम्मका लागि योग गुरुहरूको भर पर्नु नै उत्तम विकल्प देखिन्छ । चेतना अति सूक्ष्म तत्त्व भएकोले वैज्ञानिक अनुसन्धान कति हदसम्म सभव हुन्छ भनेर पनि त पर्खनै पर्छ ।
म्याग्दै – ६, तनहुँ