
काठमाडौं । नेपाल भाषामा निर्माण भइरहेको चलचित्र 'तिबः दि सपोर्ट'को एक महत्त्वपूर्ण अंशको छायांकन अमेरिकाको मेरिल्यान्ड राज्यको गाइथर्सबर्गमा सम्पन्न भएको छ ।
अमेरिकामा भएको छायांकनमा कलाकार दिवाकर धौभडेल, मिला श्रेष्ठ र रवि शाक्यले अभिनय गरेका छन् ।
सर्जु रञ्जित र समिता रञ्जित श्रेष्ठको लगानीमा निर्माण भइरहेको चलचित्रको छायांकन निर्देशन तथा सम्पूर्ण प्राविधिक जिम्मा रोशन श्रेष्ठले लिएका छन् ।
चलचित्रका निर्देशक रवि सायमीले कथावस्तुको मागबमोजिम अमेरिकामा पनि दृश्य छायांकनको आवश्यकता देखिएको बताए । उनले 'दि हिमालयन भाइब्ज (टीएचभी)'ले यसको जिम्मा नलिएको भए चलचित्रको महत्त्वपूर्ण परियोजना असम्भव हुने बताए ।
ओमशंकर श्रेष्ठको कथा, शुसिल राजोपाध्याय र ओमशंकर श्रेष्ठ र रवि सायमीको पटकथा तथा राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ र संघरत्न शाक्यको गीत तथा भुपेन्द्र बज्राचार्य र शिव साहीको संगीतमा बनिरहेको यस चलचित्रमा शुसिल राजोपाध्याय, सरस्वती मानन्धर र कृष्ण भक्त महर्जन र आशाकाजी थकुलगायतका कलाकारको अभिनय रहेको छ ।