site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकप्रिय लोकगीतमा खडेरी लागेको कति भयो ?
SkywellSkywell

काठमाडौं । गएको हप्ता एउटा गजल चलनचल्तीको भाषामा ‘भाइरल’ भयो । ‘के लत बस्यो’ बोलको गजलले अधिकांश संगीत शुभेच्छुकबीच चर्चा बटुल्यो । सामाजिक सञ्जाल विशेषतः टिकटक प्रयोगकर्तामार्फत यो गजल लोकप्रिय हुन पुग्यो । पछिल्लो समय गुमनाम प्रायः रहेका तिलकसिंह पेलालाई यो गजलले नयाँ सांगीतिक जीवन दियो । दुई हप्तामा ३० लाख भ्युज पाइसकेको गजल यति धेरै लोकप्रिय भयो, तिलकको १० हजारभन्दा कम रहेको युट्युब च्यानलको सब्सक्राइबर बढेर ७६ हजार नाघ्यो ।

यो गीत आएपछि धेरैले भने– राम्रो गीत आउने क्रम सकिएको रहेनछ, केही समय ग्याप भएको मात्र रहेछ । “खाँटी सिर्जना स्वर र साधक कहिल्यै ओझेल पर्दैनन्, बरु कर्कस चिच्याहटहरू कुनैकुनै कालखण्डमा हावी भएको देखिन्छ । तर, यो सत्य हो, केबल आफू मात्र बाँच्ने कि संगीत सिर्जना पनि बचाउने त्यो अत्यन्त महत्त्वपूर्ण चिन्तन हो,” गीतकार तथा गायक रमेश बिजीले सामाजिक सञ्जाल फेसबुकमा लेखे । यो त एउटा प्रतिनिधि प्रतिक्रिया मात्र हो, यस्ता प्रतिक्रियाले सामाजिक सञ्जाल भरिएका थिए ।

नेपाली सांगीतिक क्षेत्र सुस्ताएका बेला तिलकको यो गजल आएको हो । जसले यस क्षेत्रमा तरंग सिर्जना गरिदियो । नेपाली सांगीतिक क्षेत्रमा गीत रेकर्डिङमा करिब ७० प्रतिशतले कमी आएको सर्जकहरूले बताइरहेका छन् । सबैभन्दा धेरै रेकर्डिङ हुने लोकदोहोरीको क्षेत्र झनै सुस्ताएको छ । यसको मुख्य कारण लामो समयदेखि कुनै पनि गीत लोकप्रिय नहुनु रहेको गायक तथा सर्जकहरूको भनाइ छ । गीत लोकप्रिय नहुनु भनेको लगानी सुरक्षित नहुनु पनि हो । जसको प्रत्यक्ष प्रभाव रेकर्डिङमा देखिइरहेको छ ।

KFC Island Ad
NIC Asia

हुन पनि हो, लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय लोकगीत आएको छैन । चार वर्षअघि आएको कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुने...’ बोलको गीत हिट भएपछि त्यही स्तरको अर्को लोकदोहोरी ‘बोल माया...’ ‘गलबन्दी...’ आए । ‘गलबन्दी...’ पछि त्यही तहको लोकप्रिय गीत तीन वर्ष भयो, आउन सकेको छैन । अझ लोकगीतको कुरा गर्ने हो भने त दशक नाघिसक्यो । त्यसो त पछिल्लो समयका ‘हिट’ भनिएका दोहोरीको भिडियो हटाइदिने हो भने ती गीतको अडियो मात्रै लोकप्रिय हुन्थ्यो ? भनेर प्रश्न गर्नेहरूको संख्या पनि सानो छैन । 

चलचित्रको गीतमा ‘कुटुमा कुटु...’ यता त्यस्तै लोकप्रिय अर्को गीत आउन सकेको छैन । १८२ मिलियन भ्युज पाएको यो गीतलाई अहिलेसम्म अरू चलचित्र गीतले पछि पार्न सकेको छैन ।

Royal Enfield Island Ad

पछिल्ला केही वर्षयता किन लोकगीतको क्षेत्रमा राम्रा गीत तयार हुन सकेनन् ? लोकगायक तथा संकलक दुर्गा रायमाझी व्यावसायिकताको मारमा लोकगीत–संगीत पर्दा राम्रा गीत आउन नसकेको र आएका गीत पनि ओझेलमा परिरहेको बताउँछन् । व्यावसायिक हुने नाममा लोकसंगीत ओझेलमा परेको उनको भनाइ छ ।

“एकाध गीत नआएका त हैनन्, तर ती पनि अपेक्षित नभएको चाहिँ पक्कै हो,” दुर्गा भन्छन्, “आएका गीत पनि अहिलेका व्यावसायिक गीतका कारण पछि परेका छन् ।”

लोकसंगीतका केही सर्जक अहिले पनि गम्भीरतापूर्वक लोकसंगीतको संकलनमा रहेको तर यसको संख्या निकै न्यून रहेको उनी सुनाउँछन् । कुमार बस्नेत, जयनन्द लामाको समयमा जस्तो अहिले लोकसंगीत संकलक नरहेको र भए पनि निकै कम रहेको दुर्गा बताउँछन् । पहिलाजस्तो सहजै नयाँ लोकसंगीत नभेटिने अवस्था रहेको उनको अनुभव छ । केन्द्रका मिडिया र सामाजिक सञ्जालको प्रभाव गाउँगाउँमा परिसकेको उनले अनुभूत गरेका छन् ।

“अहिले केन्द्रका मिडियाको पहुँचका कारण स्थानीय लोकसंगीत अतिक्रमणमा परेको छ । स्थानीयले आफ्नो ठेट लोकसंगीतभन्दा पनि केन्द्रका मिडियाबाट बज्ने गीत प्रयोग गर्ने र त्यसमा रमाउने गरेको देखिएको छ,” दुर्गा भन्छन्, “पहिला काठमाडौं वा जिल्ला सदरमुकामबाट टाढाका गाउँमा जाँदा केही न केही नयाँ भाका भेटिन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । सामाजिक सञ्जाल, टिकटक, मिडियाका कारण केन्द्रमा के चलिरहेको छ र के भइरहेको छ, त्यसैमा आफूलाई समाहित गर्ने गरेको पाइएको छ ।” केन्द्रका मिडिया र सामाजिक सञ्जालमा सहज पहुँचका कारण स्थानीय कला, संस्कृति र साहित्य मासिँदै गएको दुर्गाको ठम्याइ छ ।

“म केही समय पहिले तनहुँको सदरमुकामबाट टाढाको विकट गाउँमा गएको थिएँ । त्यहाँको स्थानीय भाका गाउँछन् होला भन्ने अपेक्षा थियो,” दुर्गा अनुभव सुनाउँछन्, “कौडा भाका गाए । मिलोस् नमिलोस्, उनीहरू कौडा भाकामा गीतहरू गाइरहेका थिए । केन्द्रकोे प्रभाव त्यहाँका स्थानीयमा देखिन्थ्यो ।” यस्तो प्रभाव पर्नु स्थानीय लोकसंगीत चाँडै लोप हुनु हो भन्ने उनको बुझाइ छ । त्यसैले अब सहजै नयाँ लोकभाका फेला नपर्ने उनी बताउँछन् ।

बजारमा आइरहेका भन्दा बिल्कुल फरक लोकभाका आए त्यो लोकप्रिय हुन सक्ने तर त्यस्तो सम्भावना निकै कम रहेको उनको भनाइ छ । चर्चाका हिसाबले सफलता पाए पनि व्यावसायिक सफलता कमै मिल्ने भएकाले यसमा थोरैले मात्र आँट गर्ने उनी स्पष्ट पार्छन् । “के लत बस्यो गीतलाई नै उदाहरण लिने हो भने यसको भिडियोमा खासै खर्च गरिएको छैन । यसको भ्युज पनि चर्चा कमाएजस्तो धेरै छैन,” दुर्गा भन्छन्, “टिकटकका कारण ठूलो चर्चा कमाए पनि चर्चाअनुसार युट्युबमा भ्युज छैन । भ्युज अपेक्षित नहुनु भनेको व्यावसायिक सफलता हात नपर्नु हो । जहाँ उच्च व्यावसायिकता हुँदैन, त्यहाँ मिहिनेत कमैले गर्छन् ।” यही नै राम्रा र नयाँ लोकसंगीत नआउनुको मुख्य कारण भएको उनी बताउँछन् ।

अग्रज लोकगायक कुमार बस्नेत खेम गुरुङको ‘वारि जमुना पारि जमुना...’ पछि सम्झनलायक लोकगीत नआएको बताउँछन् । गाउँगाउँ पुगेर लोकभाका संकलन गर्ने परिपाटी हराएको उनको गुनासो छ । “गायक/गायिका आफैँ लोकभाका संकलन गर्न जाऊन् भने आर्थिक उपार्जनको कुरा आउँछ,” कुमार भन्छन्, “सरकारले लोक कला, संस्कृति र साहित्यलाई हेरेको छैन । राज्यले नै चासो नदिएपछि कसरी लोकसंगीत आउँछ ?”

राज्य नै तमासे बनेको उनको टिप्पणी छ । नयाँ लोकसंगीत संकलनमा ध्यान नदिएको राज्यले भएका पुराना लोकगीत पनि संरक्षणमा चासो नदिएको कुमारको गुनासो छ । भएका पुराना गीतलाई रिमेक र अन्य नाममा बिगार्ने काम भएको तर राज्य यसमा मौन रहेको उनी बताउँछन् । “हाम्रा गीतको कपिराइट हामीसँग हुन्छ भने किन अरूले बिगारेर गाइरहेका छन् ?,” कुमारको प्रश्न छ, “आँखैअगाडि कसैले अरूको गीत चोरी गरेको छ, तर पनि राज्य हेरेर बसिरहेको छ । यस्तो अवस्थामा कलाकार बाँचिरहेका छन् ।”

लोकगीतका नाममा कमाउ धन्दा सञ्चालन भइरहेको उनको आरोप छ । लोक भन्नेबित्तिकै ठेट भाका, परम्परा र शब्द जोडिएर आउनुपर्नेमा अंग्रेजी शब्द समेत लोकगीतमा प्रयोग हुने गरेको कुमार बताउँछन् । “बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारीले लोकसंगीतमा बाउबाजेले प्रयोग गर्ने जे शब्द छ, त्यही प्रयोग गर्नू, बिगार्ने अधिकार छैन भन्नुहुन्थ्यो,” कुमार भन्छन्, “तर, अहिले लोकगीतको मूल मर्ममाथि नै प्रहार भइरहेको छ । आफूले त गरेनन् गरेनन्, हामी पुरानाहरूले संकलन गरेका गीत पनि बिगारिरहेका छन् ।”

मिडियाले पनि लोकसंगीत संरक्षण र प्रवद्र्धनमा सहयोग नगरेको भन्दै उनी असन्तुष्ट सुनिए । पैसा लिएर पुराना कलाकारका रिमेक गरेका गीत बजाउने गरेको कुमारको आरोप छ । “पैसा नतिर्ने कलाकारका गीत नै अहिले मिडियाले बजाउँदैनन्,” उनी भन्छन् ।

नेपालमा मात्र होइन, नेपाली गीतको दुरुपयोग अमेरिकामा पनि उत्तिकै भइरहेको उनी बताउँछन् । “कसले हाम्रा गीत अमेरिका पुर्‍याएर दुरुपयोग गरिरहेको छ, मलाई थाहा छैन । तर, त्यहाँ हाम्रा गीत विनाअनुमति त्यो पनि बिगारेर बजाइरहेका छन्,” कुमारले असन्तुष्टि पोखरे, “सम्भवतः कुनै म्युजिक कम्पनीले यो काम गरिरहेको छ भन्ने लाग्छ । नेपालमै त मूकदर्शक बनेको राज्यले अमेरिकामा भएको अवैध कारोबारको नियन्त्रणको त के अपेक्षा गर्नु ?”
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro