site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
निराकरको क्रन्दन र मानव बेचबिखनको अनुत्तरित पाटो

थाइल्यान्ड र कम्बोडियाको सिमानामा पर्ने पोइपेटमा अवस्थित क्यासिनोमा भएको आगलागीमा झ्यालबाट ज्यानको भिख मागीरहेका नेपालका निराकर पाण्डेको तस्बिर राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा व्याप्त भएको छ । क्यासिनो रहेको भवनको १२ औं तलाबाट ज्यान बचाउन हारगुहार गर्दै साढे ४ घण्टापछि मृत्युवरण गरेका पाण्डेको ज्यान बचाउन सम्भव थियो वा थिएन भन्ने प्रश्नको उत्तर अझै पाइएको छैन ।

झट्ट सुन्दा अफ्रिका वा दक्षिण अमेरिकतिर पर्ने मुलुकजस्तो लाग्ने कम्बोडिया हाम्रो नजिकै पर्दो रहेछ भन्ने पनि यो घटनाले धेरै नेपालीलाई जानकारी भएको छ । कम्बोडिया कस्तो छ, को जान्छन्, कति नेपाली गएका छन्, अवस्था कस्तो छ, मानव बेचबिखनको अवस्था के छ भन्ने जस्ता विषयमा म यो लेखमा  उजगार गर्न चाहन्छु । विद्यार्थीका रूपमा प्रथम पटक २०१६ देखि २०१८ सम्म धेरै पटक गरेको यात्रा र यो २०२२ को मध्यमा २ महिनाको सानो अध्ययनको सिलसिलामा भएको बसाइको अनुभवका आधारमा यो लेख लेख्दै छु ।

कम्बोडिया कस्तो देश हो ?

दक्षिण पूर्वी एसियामा पर्ने कम्बोडिया  थाइल्यान्ड,  भियतनाम र लाओसँग सिमाना जोडिएको पर्यटक गन्तव्य मुलुक हो । धेरै संख्यामा धार्मिक सम्पदा, प्राकृतिक र रमणीय  स्थल तथा धेरै ससना टापुहरू यस मुलुकका प्रमुख आकर्षण हुन् । सन् १९७६ मा कहालीलाग्दो गृहयुद्धको अन्त्यसँगै कम्बोडियामा विकासको क्रम सुरु भएको हो । भौतिक पूर्वाधारमा देखिने नै गरी विकास गरेको देशको सामाजिक , राजनीतिक र आर्थिक पाटोमा भने खासै गति लिन सकेको छैन । धेरै जनता गरिबीको रेखामुनि रहेको र पुग्नुपर्ने क्षेत्रसम्म विकास नपुगेको त्यहाँका विभिन्न प्रान्तमा पुग्दा स्पष्ट देख्न सकिन्छ ।  सरकारले वैदेशिक लगानीलाई प्रवर्धन गर्दै विभिन्न व्यवसाय चलाएको भने देख्न सकिन्छ । पर्यटकीय गन्तव्य भएकाले त्यहाँ होटेल, रेस्टुराँ, लज, क्यासिनो र अरु मनोरञ्जन व्यवसायको पनि व्यापक वितार भएको छ ।फलस्वरूप विभिन्न देशबाट कानुनी र गैरकानुनी तवरले कम्बोडियामा काम खोज्न जाने क्रम जारी छ ।

नेपाली र कम्बोडिया

सन् १९८० को दशकदेखि नेपालीहरू अन्तर्राष्ट्रिय विकास नियोगका काम तथा व्यापारको सिलसिलामा कम्बोडिया पुगेको पाइन्छ । सङ्ख्यात्मक रूपमा अहिले कम्बोडियामा नेपालीहरु करिब ८ हजारभन्दा बढी रहेको अनुमान लगाउन छ । कम्बोडियाको राजधानी नोमपेन्ह, पोइपेट, सिमरिप्, सिहानोउक भिल, बाताम्बङ्ग, कम पोट, बाभेटलगायतका सहरहरुमा नेपालीहरुको बाक्लै उपस्थिति छ । परन्तु, वैधानिक बाटोबाट आउने नेपाली भने निकै कम पाइन्छन् ।  नेपाल सरकारसँग यसको अध्यावधिक तथ्यांक कही कतै उपलब्ध छैन । 

क्यासिनोमा काम गर्ने, सुरक्षा गार्ड, होटेलमा रोजगारीका लागि धेरै युवा कम्बोडिया पुगेको पाइयो । आकर्षक जागिर लगाइदिने प्रलोभनमा ६ देखि १२ लाख वा सोभन्दा बढी एजेन्टलाई तिरेका युवा यत्रतत्र भेटिन्थे । जागिरको अनिश्चितता, बास स्थानको बेठेगान, दुई छाक खान पनि पैसाको अभावजस्ता आधारभूत सुविधाबाट वञ्चित नेपाली युवा घर फिर्तीको प्रतीक्षामा बसिरहेका पनि भेटिन्थे । फ्नोम पेन्ह स्थित रिभर साइड पार्कमा साँझबिहान घुम्दा नदी किनारमा टोलाइरहेका नेपाली युवा प्रशस्तै भेट्न सकिन्थ्यो । ऋण गरी तिरेको लाखौं लगानी डुबाएको, पासपोर्ट एजेन्टले कब्जा गरेको, घर फिर्ता जाने टिकट नक्कली दिएको, एजेन्टले यो वा त्यो व्यक्तिलाई सम्पर्क गर्नु भनेर झुक्याएको, कसैले उद्धार गरिदियोस् र नेपाल सरकारले मानव बेचबिखनका एजेन्टहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याओस् भन्ने चाहना राख्दै मलिन अनुहार लिई नदी हेर्दै बस्नु उनीहरुको दिनचर्या नै हुने रहेछ ।

अझै कोभिड-१९ को लकडाउनमा मानव बेचबिखनका एजेन्ट वा दलालले प्रविधि र सामाजिक सञ्जाल प्रयोग गरी हजारौं नेपालीलाई अनलाइन कल सेन्टर र जुवा अखडामा जगिर दिने प्रलोभनमा त्यहाँ लगेको पाइयो । त्यस्ता  अनलाइन  कल सेन्टर वा अखडामा आकर्षक रोजगारीको प्रलोभनमा पुगेका युवा पनि निकै सङ्ख्यामा रहेछन् । अझै दयनीय त त्यस्ता मानव बेचबिखनमा संलग्न समूहले नेपाली युवालाई बन्धक बनाई एउटा कलसेन्टरबाट अर्को कलसेन्टरमा राम्रै रकममा बेच्ने गरेको पाइयो । पीडितसँग कुरा गर्दा र उनीहरूको भोगाइ सुन्दा वास्तवमै कसैले कल्पना गर्न नसक्ने दुःख पाएको अनुमान हुन्छ । एक्काइसौं शताब्दीमा पनि  यसरी मानवलाई वस्तु झै बेचिएको सुन्दा कहाली लाग्छ ।

पीडित युवाले आवाज उठाएपनि, पीडाका खबर समाचार बने पनि, नेपाल सरकारलाई जानकारी गराए पनि खासै यस विषयमा सरकार, अध्यगमन विभाग र मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाको प्राथमिकता भने यो विषय पर्न सकेको देखिएन ।

निराकर पाण्डे थाइल्यान्डमा पहिले पर्यटक भिसा लिई पछि रोजगारीका लागि  कम्बोडिया पुग्नुले पनि हामी त्यो देश पुग्ने माध्यमको अड्कल काट्न सक्छौँ । एजेन्टमार्फत विभिन्न देश हुँदै कम्बोडिया छिर्ने नेपाली टन्नै छन् तर त्यसको सही तथ्याङ्क  कतै छैन । आगलागी भएकै क्यासिनोमा पनि कती नेपाली थिए भन्ने ख्यकिन नहुनुले स्थिति प्रष्ट हुन्छ । 

मानव बेचबिखनका घटना ‘सेटिङ्ग’ वा मिलेमतो नभईकन सम्भव हुन्न । एजेन्टले नेपालका सरकारी निकायका साथै कम्बोडियाका अध्यागमनसँगको मिलेमतोमा मानब बेचबिखन गरिराखेका छन् । निराकर पाण्डेको घटनाको नैतिक जिम्मेवारी सरकार, अध्यागमन विभाग र सम्बन्धित संस्थाले लिएर आगामी दिनमा त्यसरी कम्बोडिया पुगेका नेपालीको सूचीकरण र सुरक्षाको पहल गर्न ढिलो गर्नुहुन्न । 

गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको भूमिका 

अरु देशमा जस्तै कम्बोडियामा पनि गैरआवासीय नेपाली सङ्घ  सक्रिय छ । उचित जनशक्ति, स्थान र आर्थिक स्रोतको कमी भए पनि त्यहाँको गैरआवासीय नेपाली सङ्घले उल्लेख्य काम गरिराखेको पाइयो । थाइल्यान्डस्थित नेपाली दूतावासको सहकार्य तथा सहयोग मानब बेचबिखनमा परेका नेपाली युवालाई घर फिर्ती को पहल गर्न पनि यो संस्था सक्रिय रहेछ । अलपत्र परेका, पासपोर्ट  एजेन्टको कब्जा परेकाले पासपोर्टविहीन भएकालाई आवश्यक कागजात मिलाउन, खाना र आवासको व्यवस्था गर्न, आवश्यक सहयोग र सूचना दिन, सम्भव भएको  खण्डमा  रोजगारी दिलाइदिन पनि संस्थाले गरेको पहल निकै प्रसंशनीय छ ।

अबको बाटो 

निराकरको दुखःल घटनाले मानब बेचबिखन तथा असुरक्षित आप्रवासन कति भयङ्कर छ भन्ने छर्लङ्ग पारेको छ ! अर्को घटना नहुँदासम्म कुरेर बस्ने हो भने हामी यस्त दुर्घटनाको समाचार पढ्ने र एक अर्कालाई गाली गर्नेबाहेक केही गर्न सक्दैनौ । यस्त घटना न्यूनीकरण गर्न तथा रोजगारीमा गएका युवाको सुरक्षाका लागि सबैको पहल आवश्यक हुन्छ । 

नेपाल सरकारका अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कले कम्बोडिया जाने नेपालीको बारेमा विस्तृत विवरण राख्नुपर्छ । शंका लागेका यात्रीलाई उचित प्रश्न र परामर्श गरेरमात्र पठाउनु जरुरी छ । अझै  अनुभव, उमेर, तालिम र कार्य दक्षता नभएका युवालाई जान प्रोत्साहन नै गर्नुहुन्न । विगतमा भएका घटनाबाट पाठ सिकी आफ्ना नागरिकको सुरक्षामा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण  अवश्यक छ ।

वैदेशिक रोजगारीमा जान आतुर युवाले अवैध तरिकाले कम्बोडिया प्रवेश गर्नुअघि विभिन्न माध्यमबाट आफ्नो काम, एजेन्टको विवरण र यात्रा कति भरपर्दो छ भनेर बुझ्नु  महत्त्वपूर्ण छ । इन्टरनेटबाट पाउने जानकारी तथा कम्बोडियामा वर्षौंदेखि बसेका नेपाली, पीडित युवा र त्यहाँ को गैरआवासीय नेपाली सङ्घसँग पनि आवश्यक जानकारी लिएरमात्र यात्रा तय गर्नु बुद्धिमानी हुन्छ । यसो नगर्दा  लाखौं डुब्न नदिन र आफ्नै ज्यान पनि  जोगाउन  सहयोग हुन्छ ।

नेपाल सरकारले कम्बोडियास्थित गैरआवासीय नेपाली सङ्घको समन्वयमा  सम्पर्क  कार्यालय स्थापना गरी नेपालीको विवरण अद्यावधिक  गरी सबैको जानकारी लिए तिनको सुरक्षा, अवस्थिति तथा उद्धार कार्यमा निकै सहज हुने देखिन्छ । यसका साथै कम्बोडिया लैजाने एजेन्टको पहिचान गर्दै कानुनी दायरा म ल्याउँदामात्र मानव बेचबिखनका घटनामा उल्लेख्य कमी हुनेछ ।  

 (मानव बेचबिखन, असुरक्षित आप्रवासन तथा आधुनिक दासता विषयका अध्येता)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro