
पोखरा । पोखरामा जारी १० औँ नेपाल लिटरेचर फेस्टिभलको सेसन 'फिल्म समीक्षकको समीक्षक' सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो । बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए । समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए ।
फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो । मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए ।
स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्वीकार्ने बताइन् । तर, उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन् ।
“तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन,” स्वस्तिमाको बुझाइ छ ।
अनुप सुवेदी फिल्म समीक्षक आम दर्शक भन्दा बढी बुझेको हुनुपर्ने बताउँछन् । दर्शकलाई 'कन्भिन्स्ड' गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन् । तर, समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ । कारण के त ?
“एउटा समीक्षकले पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ । अनि समीक्षा पनि गर्नुपर्छ । यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,” दीपेन्द्र भन्छन् ।
स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन् । “एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त ? मैले यसको अनुभूत गरेको छु,” स्वस्तिमा भन्छिन् ।
अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन् । उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन् । “समीक्षकले त पाठकलाई सचेत गराउने हो नि । तर मेकरलाई सिकाइरहेको पाइन्छ,” उनी भन्छन् ।
अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन् । “कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्नेमात्र छ । किन राम्रो गर्यो किन गरेन भन्ने तर्क आउन्नन् । त्यसको डिटेलिङ छैन । हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरू कुरा पनि हो भनेर नबुझेको हो कि,” उनी थप्छन् ।
दीपेन्द्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउछन् । “संख्यात्मक रूपमा समीक्षा दयनीय अवस्थामा छ । सम्पादकले प्राथमिकतामा नराखेर हो कि,” उनी भन्छन् ।
समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा छ, दीपेन्द्रको । “कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,” उनी भन्छन् ।
नेपालमा 'पेड रिभ्यूको ट्रेन्डबारे पनि दीपेन्द्र भन्छन्, “नेपालमा पेड रिभ्युको चलन छ । विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ । यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ । फिल्म नै पूरा नहेरी लेख्छ,” उनी भन्छन् ।