site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९,राजनीति
कर्णालीमा २२ दलको धरौटी जफत
फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिबार कर्णालीका प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरुको धरौटी जफत भएको जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने २८ मध्ये कर्णाली प्रदेशमा २२ राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन परिणाम प्रतिवेदनानुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन् । पुरुष २५ (६२.५ प्रतिशत) र महिला १५ जना (३७.५ प्रतिशत) निर्वाचित भएको उनले बताए ।

उनका अनुसार कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

“प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ११३ पुरुष र तीन महिला गरी कुल ११६ जनाको अन्तिम उमेदवारी कायम भएको थियो,” उनले भने, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कुल २०० जना उमेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।”

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा चार लाख ९७ हजार ९८० महिला, पाँच लाख १० हजार ४२० पुरुष र अन्य तीन गरी कुल १० लाख आठ हजार ४०३ मतदाता कायम रहेको उनले बताए ।

आयोगको प्रतिवेदनानुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ (६०.९६ प्रतिशत) मत खसेकामा पाँच लाख ८९ हजार ४८४ (९५.९ प्रतिशत) मत सदर र २५ हजार २३३ (४.१० प्रतिशत) मत बदर भएको छ । समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ (६०.४ प्रतिशत) मतदान भएकामा पाँच लाख ७७ हजार ८२९ (९४.१ प्रतिशत) मत सदर भएको छ । उक्त निर्वाचनमा ३५ हजार ६८० (५.८२ प्रतिशत) मत बदर भएको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउने वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुने व्यवस्था छ । जसअनुसार कर्णाली प्रदेशसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्व भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्थाका सात हजार ५५३ र दुई अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको जनाइएको छ । आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । रासस

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०९:३६