site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाडो महिनामा योग

योगले शरीर र मनलाई परमात्मासँग जोड्ने हुँदा यसलाई ‘जोड’ पनि भनिन्छ । योग जातपात, धर्मसम्प्रदाय, वर्ग, उमेर, लिङ्ग र समय आदिमा सीमित हुँदैन । योग सबैका लागि काम लाग्ने सार्वभौम विषय हो । 

योग विज्ञानअनुसार जीवनशैली अपनाउनेलाई योगी भनिन्छ । आफूले गरिरहेको काम वा पेसामै रहेर योगको ऊर्जा लिन र जीवन सन्तुलित बनाउन सकिन्छ । योग गर्ने व्यक्त्तिको बोलीचाली, रहनसहन, खानपान र दैनिक चालचलनमा बिस्तारै परिवर्तन आउँछ । योग रोगीहरुका लागि उपचार पद्धत्ति पनि हो भने योगीहरुका लागि मुक्त्तिको साधना हो । 

बदलिँदो जीवन शैलीले जनजीवनमा भागदौड बढेको छ । आफ्नै लागि पनि समय पनि छैन । समय हुँदा पनि सामाजिक सञ्जालमा झुुम्मिने आदत बनिसक्यो । बरु रोग लागेर अस्पताल जान र औषधि खान तयार हुन्छन् तर शारीरिक व्यायाम गरेर शरीरलाई स्वस्थ राख्न चाहँदैनन् । 

शरीर, मन, भावना, चेतना सबैसँग हुन्छ । स्वस्थ बन्न पनि सबै चाहन्छन् । तर, २४ घन्टामा एक डेढघन्टा शरीरलाई समय दिन अप्ठेरो मान्छन् । यतिमात्र गरे बाँकी २२ – २३ घन्टा त चार्ज भएर शरीर सन्तुलनमा रहन्छ । मोबाइल चार्ज गरेजस्तै शरीरलाई पनि दैनिक योग, प्रणायाम अनि ध्यानले चार्ज गर्न जरुरी हुन्छ । 

योगले शरीर सन्तुलनमा राखी विकारलाई बाहिर निकाल्ने काम गर्छ । रोग लाग्न नदिने वातावरण बनाउँछ । शरीर स्वस्थ राखी श्वासप्रश्वासको गतिलाई बढाई भाव संतुलनमा राख्छ । विचलित चित्तलाई शान्त बनाई शरीरलाई पूर्णरुपमा स्वस्थ राख्ने उपाय योग हो । योगबलले मानिसलाई केही काम गरी छाडने उत्साह बढाउँछ भने मस्तिष्कमा नयाँ सिर्जना ल्याउँछ । महान कार्य सम्पादन गर्ने सङ्कल्प अगाडि बढाउन सहयोग गर्छ । 

जाडोमा योग

जाडो महिनामा चिसोको कारण शरीर निस्कृय हुन्छ । चिसो हुनाले शरीरलाई ओछ्यान वा तातो लुगाभित्र राख्छौँ ।

यसले गर्दा आलस्य बढ्दै जान्छ । चिसो मौसम हुने हुनाले चिया कफीको साथै खाना पनि अरुबेला भन्दा बढि रुच्ने हुनाले शरीरको तौल बढ्ने हुन्छ । परिश्रम कम हुने हुनाले पसिना निस्कन पाउँदैन । शरीरको रक्त्तसंचार, श्वासप्रश्वास र स्नायुतन्त्रमा शिथिलता आउँछ । जाडोयामको खानेकुरा, रहनसहनले बाथ, कफको समस्यासँगै रगत बाक्लो हुन्छ र मुटुसम्बन्धी रोगले च्याप्छ । गर्मी महिनामा भन्दा जाडो महिनामा रक्तचाप बढ्छ भन्ने चिकित्सकहरुको भनाइ छ । तसर्थ जाडो महिनामा धेरैजसो हृदयघातबाट मृत्यु भएको सुनिन्छ । 

जाडो महिनामा चिसो हावाको घनत्व बढी हुन्छ । चिसोले रक्त्त नलीलाई खुम्च्याउँछ । यसले गर्दा रक्त्तचाप बढ्ने जोखिम बढी हुन्छ । रक्त्तचापको वृद्धिले हृदयघातको सम्भावना रहन्छ । कोलस्ट्रोल बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । रक्त्तसंचार राम्रोसँग नभएको कारणले हात, खुट्टा, नाक बढी चिसो हुनेगर्छ । पर्याप्त प्राणवायु नपुगेका कारण नै चिसो बढी हुने हो । तसर्थ शरीरको तापक्रम बढाउन योग गर्न आवश्यक हुन्छ । 

योग गर्ने मानिसलाई जाडो र चिसोको खासै अनुभूति हुँदैन । योगको ऊर्जाले नै शरीर तातिएको हुन्छ । जाडो महिनामा टन्सिल, रुघाखोकी, कफ, दम र निमोनिया धेरै हुनेगरेको पाइन्छ । शरीरमा प्रतिरोधात्मक शक्त्ति कम हुनाले नै यी रोगहरुले सताउने हो । यसका लागि हामीले योगबललाई नै जोड दिनुपर्छ । 

जाडो महिनामा प्रातः भ्रमण (मर्निङ वाक)

बिहान चिसोको कारणले कतिपय मानिसलाई मुटुको समस्यामा झन् बढी असर गरेको पाइएको छ । वायु प्रदूषणका कारण फोक्सो, मुटु, एलर्जी, दमजस्ता समस्या देखापर्छन् । धेरै जनालाई कोठाभित्र योग गर्दा झन्झट र हिँड्न सजिलो लागे पनि वायु प्रदूषणको कारण उपयुक्त्त हुँदैन । अव्यवस्थित सवारीसाधनको चाप, बाटोघाटो साँघुरोको कारण बिहान सडकको पेटीमा हिँड्दा माथि उल्लेख गरेबमोजिम चिसोको कारण रक्त्तनलीमा परेको प्रभावसँगै कति जनाले त ज्यानै गुमाउनु परेको छ भने कति अपाङ्ग भएर बस्नु परेको छ । 

बिहान हिँड्नु राम्रो हो तर शुद्ध हावा र निर्धक्क हिँड्न डुल्न सकिने व्यव्स्थित ठाउँ छैन । चिसो याममा पाका मानिसले हिँड्ने नगरेकै राम्रो मानिन्छ । अर्को कुरा घुँडा दुख्ने समस्या हुनेहरुलाई यस्तो हिँडाइले झन् असर पारेको हुन्छ । घुँडा दुख्ने, ढाड कम्मर दुख्ने रोगहरुका लागि लाभदायी योगका विभिन्न आसन छन् । योग शिविर वा योग प्रशिक्षकबाट सिकेर घरमै बसेर पनि गर्न सकिन्छ । 

अन्य व्यायाम र प्रातःभ्रमणबाट शरीर कसिलो बनाउन त सक्छौँ तर मनोबल, भावबल, चित्तबल र आत्मबल बढाउन सक्दैनौ । यसको लागि योग अभ्यास नै गर्नुपर्छ । मर्निङवाकमा शरीर त एकोहोरो हिँडिरहेको हुन्छ तर मन भने विभिन्न कुराहरुमा जान्छ । यसबाट जति लाभ हुनुपर्ने हो त्यति हुन सक्दैन । मनलाई शुद्ध र सफा राख्न योग साधनानै चाहिन्छ । योगमा जति गहिराइमा पुग्यो त्यति मन शान्त र आनन्द हुन्छ । योगका विभिन्न आसन, अभ्यास, साधना आदिका माध्यमबाट शारीरिक, बौद्धिक, आध्यात्मिक शक्त्तिको विकास हुन्छ । 

योग व्यायामले सकारात्मक ऊर्जा दिन्छ । प्राणायामले जागेको ऊर्जालाई सकारात्मक बनाउँछ भने ध्यानले स्थिर बनाउँछ । ध्यान मन सफा गर्ने निर्विकल्प तरिका हो । अर्थात्, योग सधैँका लागि र सबैका लागि हो । हर मौसम अनि हर दिन योग गर्दा शारीरिक, मानसिक अनि आध्यात्मिकरुपमा उच्च चेतना युक्त्त भएर बाँच्न सिकिन्छ । बढ्दो जाडोसँगै शरीरलाई ऊर्जावान् र गतिशील राख्न योग अभ्यास गरौँ ।

(योग प्रशिक्षक) 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro