site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
जितेका मातृका कोइरालालाई हारेको घोषणा गर्ने पञ्चायतको पहिलो बालिग चुनाव

काठमाडौं । नेपालमा यस्तो पनि चुनाव भएको छ जहाँ बढी मत पाएका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पराजित घोषणा गरी उनीभन्दा कम मत पाएका कर्णबहादुर धिमाललाई विजयी घोषणा गरिएको छ । 

जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विजयी भएको घोषणापछि ‘सुधारिएको पञ्चायत’ अन्तर्गत गरिएको आम चुनावमा मोरङ जिल्लाको तत्कालीन निर्वाचन कार्यालयले यस्तो घोषणा गरेको थियो । 

जनमत संग्रहमा निर्दलीय पञ्चायती व्यवस्थालाई जिताएपछि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले गराएको चुनावमा यस्तो भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो ०१७ साल पुस १ गते संसद् विघटन गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएपछि बालीग मताधिकारका आधारमा गरिएको पहिलो चुनाव थियो । 

२०३८ वैशाख २७ गते गरिएको निर्वाचन अहिलेसम्म भएकामध्ये सबैभन्दा विवादित र धाँधलीपूर्ण मानिन्छ । 

वैशाख २९ गतेदेखि जेठ १ सम्म विराटनगरस्थित वीरेन्द्र सभागृहमा गरिएको मतगणनामा कोइरालाले ३१,१४० र धिमालले ३०,७२८ मत पाएका थिए तर मतगणनाको बुलेटिनमा धिमालभन्दा कोइरालाले कम मत पाएको विवरण प्रकाशित गरियो । 

कोइरालाका एजेन्टले विरोध जनाए तर छुट भएको मत पछि जोडिने भन्ने जवाफ दिइयो । 

अन्तिममा ‘लालटिन’ चुनाव चिह्न भएका बद्रीप्रसाद मण्डल (४२,३६०) र ‘हवाईजहाज’ छापका धिमाल (३९,७४६) मतसहित विजयी भएको घोषणा भयो । 

‘सूर्य’ चिह्न भएका मातृकाप्रसाद कोइराला (२९,७८५) मतसहित तेस्रो बनाइएका थिए । 

कोइरालाले उजुरी दर्ता गरे तर निर्वाचन अधिकृतले सुनुवाई गरेनन् । अनि निर्वाचन आयोग, काठमाडौंमा आकाशवाणीमार्फत् उजुरी दर्ता गरे । त्यसको सुनुवाई भएन । कोशी अञ्चलाधीशको दबाबमा जेठ १ गते राति  प्रहरी घेराभित्र परिणाम घोषणा गरिएको थियो । 

धाँधलीका उजुरी नै उजुरी
२०३७ वैशाख २० मा जनमतसंग्रह भयो– बहुदल कि निर्दल भन्ने विषयमा । 

बहुदलको पक्षमा करिब २० लाख भोट खस्यो भने २४ लाख मतसहित ‘सुधारिएको पञ्चायती व्यवस्था’ विजयी भएको घोषणा भयो । 

राजा वीरेन्द्रले ०३७ जेठ १ संविधान सुधारको घोषणा गरे । त्यसलाई कार्यान्वयन गर्न जेठ ८ मा न्यायाधीश वासुदेव शर्माको अध्यक्षतामा संविधान सुधार सुझाव आयोग गठन गरियो ।

‘अभिव्यक्ति र प्रेस स्वतन्त्रता’ दिने गरी संशोधन गर्न उक्त आयोग गठन गरिएको थियो । निर्दल जिताउन महत्वपूर्ण भूमिका खेलेका सूर्यबहादुर थापा २०३७ जेठ १९ मा प्रधानमन्त्री भए । 

उनैको नेतृत्वमा राष्ट्रिय पञ्चायतको चुनाव भएको थियो । निर्वाचनको प्रचारका क्रममा प्रधानमन्त्री थापाले १४ पटक हेलिकप्टरमा काठमाडौं–धनकुटा गरेको र ३३ पञ्चायत घुमेका थिए । 

काठमाडौंबाट बढी मत पाउने दुई जना राष्ट्रिय पञ्चायतका सदस्य निर्वाचित हुने व्यवस्था थियो । त्यसमा ‘घडी’ चिन्हकी नानीमैयाँ दाहाल (६५,७७७ भोट) पहिलो र ‘साइकल’ चिन्हका जोगमेहर श्रेष्ठ (२९,७४१ मत) चुनिएको घोषणा गरियो । 

दाहाल र श्रेष्ठबाहेका ३० जना उमेदवारले धाँधली भएको आरोप लगाउँदै मतगणना नै बहिष्कार गरे । तेस्रो हुने उमेदवार भुवनमान सिंहले व्यापक धाँधली भएको आरोप लगाए ।

ललितपुरका पराजित नौजना उमेदवारहरूले पत्रकार सम्मेलन नै गरी धाँधलीको विरोध गरे । 

राष्ट्रिय पञ्चायतमा पराजित उमेदवारहरूले विभिन्न जिल्लामा मतदान र मतगणनामा भएको धाँधलीको विरोधमा ०३८ जेठ ९ देखि टुँडिखेलको खुला मञ्चमा आलोपालो २४ घन्टे अनसन भयो । 

जेठ १६ देखि जीतबहादुर श्रेष्ठले आमरण अनसन थालेका थिए । उनलाई जेठ १८ गते राति प्रहरीले उठाएर लगेका थिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्