site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैले ब्रान्डकै ब्याज खाइरहेका छन्
Tiktok banner adTiktok banner ad

(नेपाली सांगीतिक क्षेत्रमा बाबु बोगटी अपरिचित नाम होइन । उनका करिब दर्जन गीत स्रोताले रुचाएका छन् । डेढ सय गीतमा स्वर भरिसकेका उनले सय गीत कम्पोज गरेका छन् । करिब ५० गीत लेखेका बाबुको अर्को परिचय पनि छ, त्यो हो नायक । २० चलचित्रमा अभिनय गरेका बाबु पछिल्लो आधा दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनी समय–समयमा नेपाल आउँछन् । र, गीत–संगीतमा काम गर्छन् । यही क्रममा उनी यति बेला काठमाडौंमा छन् ।

नेपालको यो बसाइमा उनले ‘सानान्नी’ रिमेक गरे । तिहारको छेको पारेर ‘सान्नानी–२’ लिएर आउँदै छन् । रिमेक नै किन ? नयाँ गीतबाट स्रोताको माया पाउन सकिँदैन ? अमेरिका बस्दा नयाँ लोकप्रिय गीत दिन कति कठिन हुन्छ ? सिनेमाको यात्रा के हुँदै छ ? यी र यस्तै प्रश्नको सेरोफेरोमा रहेर बाह्रखरीका नरेश फुयाँलले बाबु बोगटीसँग गरेको कुराकानीको सम्पादित अंश) 

करिब दुई दशकपछि पुरानै गीत लिएर किन आउनुपर्‍यो ?
योबीचको समयमा पनि मैले काम नगरेको होइन । ‘टिकुली’ आयो । ‘जमुना ब्याक अगेन’ आयो । हरेकपटक म नेपाल आउँदा कुनै न कुनै गीतमा काम गरिरहेकै हुन्छु । कुरा रह्यो ‘सान्नानी’ नै किन फेरि भन्ने, कमब्याकका लागि हो । यो ब्रान्ड हो । सान्नानी एक वर्ष चलेको गीत होइन । १० वर्षदेखि सुन्दै आएको गीत हो । हाम्रो पुस्ताले मात्रै होइन, अहिलेको पुस्ताले पनि सुनेको गीत हो यो ।

अहिलेका भाइबहिनीले गीत सुनेका छन्, तर कसको गीत भन्ने थाहा छैन । ‘जब साँझपर्छ’ म केही दिन अगाडि कन्सर्टमा गाउँदै थिएँ, प्लस टुका भाइबहिनीले मैलेभन्दा राम्रो गाइरहेका थिए । तर, कसको गीत भन्ने थाहा थिएन । सानो संसारको ‘सानो छ गाउँ’ गाइरहेका छन्, तर कसको भन्ने थाहा छैन । त्यसैले सान्नानी रिमेक गरौँ भनेर गर्न लागेको हो । एकपटक सुनिसके पनि फेरि कस्तो बनेछ भनेर सुन्नुहुनेछ । मिडियामा हाइप हुन्छ भनेर पनि हो । अर्को कुरा, ‘सान्नानी–२’ लिएर आउँदै छु । त्यसैले त्योभन्दा पहिला यो सुनाएर त्यसमा लैजाऊँ भनेर हो ।

ब्रान्डको ब्याज नै खाइरहने हो ?
सबैले त्यही त गरिरहेका छन् । सिनेमा होस् वा गीत, चलिसकेको ब्रान्डलाई लिएर आइरहेका छन् । नयाँ नाम लिएर आउने हिम्मत त निकै थोरैले मात्रै गरिरहेका छन् । मैले सान्नानी रिमेक गरे पनि पहिलाको जस्तै हाइप त्यसले पक्कै लिँदैन । र, त्यो अपेक्षा पनि मैले गरेको छैन । रिफ्रेस गरौँ भन्ने मात्रै हो । काग तिहारको दिन सान्नानी–२ आउने भएकाले कनेक्ट गर्न खोजेको मात्रै हो ।

नयाँ गीतमार्फत कमब्याक गर्न सजिलो छैन ? 
कठिन छ । तर, सक्दै नसकिने होइन । गाह्रो भने छ । मैले अरूसँग गीत किनेर राम्रो मिहिनेत गरेर आउने हो भने पनि चल्छ भन्ने निश्चित छैन । चल्यो भने त ठिकै हो । तर, चलेन भने पाँच/सात लाख रुपैयाँ खेर जान्छ । तर, सानान्नी–२ पूरै नयाँ गीत हो । शब्द, संगीत, एरेन्ज, भिडियो सबै नयाँ हो । ब्रान्ड भएकाले नाम मात्रै जोडेको हो । चल्छ÷चल्दैन थाहा छैन । तर, संगीतकर्मीको नाताले म यतिचाहिँ भन्न सक्छु, वानभन्दा टु धेरै राम्रो बनेको छ । त्यसैले पातालमै त नभासिएला भन्ने हो । अपेक्षा गरेको छु ।

पपुलर/लोकप्रिय गीत बनाउन अहिले पहिलाभन्दा कठिन हो ? 
पहिला थोरै मिडिया र प्लेटफर्म थिए । थोरै खटे पुग्थ्यो । मनोरञ्जनको माध्यम गीत नै मुख्य थियो । बिहानदेखि खोलेको रेडियो बेलुकासम्म बज्थ्यो । दुई–चारपटक दिनमै एउटै गीत बज्दा गीत सुन्थे । तर, अहिले धेरै प्लेटफर्म भए पनि कसको गीत कहाँ कति बेला बजिरहेको छ भन्ने धेरैलाई थाहा हुँदैन । माध्यम धेरै हुँदा कान पनि बाँडियो । सबै माध्यमबाट सबैको कानसम्म पुग्न त्यति सहज छैन । यति धेरै मिडिया र सामाजिक सञ्जाल छन्, ती सबैमा पुग्न त्यति सहज छैन । खर्च, समय, योजना र खटाइ सबैका हिसाबले पनि अहिले कठिन छ, नोटिस हुन ।

अहिले चल्यो भने भाइरल नै हुन्छ । सबैतिर पुग्छ । चलेन भने कसैलाई थाहै हुँदैन ।

भाइरल भए पनि एक/दुई महिना हो, त्यसपछि हराउने नै त हो नि ! 
हो । कुन बेला भाइरल हुन्छ र जान्छ, थाहा हुँदैन । अहिलेको पपुलारिटीको आयु छैन । हाम्रो समयमा त्यस्तो थिएन । एकपटक पपुलर भएपछि त्यो दिगो हुन्थ्यो ।

अहिले लामो समयसम्म चल्ने गीत सर्जकले सिर्जना गर्न नसकेको कि समय नै बाधक बनिरहेको छ ?
रेडियो नेपालमा हामीले सुनेका नारायणगोपाल, अरुण थापा, बच्चु कैलाशका गीत अहिले पनि हाम्रो जिब्रोमा छन् । कुन गीत बज्न लाग्यो सुरुको म्युजिक बज्नेबित्तिकै थाहा हुन्थ्यो । कारण के भन्दा रेडियो नेपालमा यति धेरै बज्थ्यो, दिनकै पटक–पटक सुन्दा याद हुन्थ्यो । गीत कम थिए । गायक/गायिका कम थिए । रेडियोमा भ्वाइस टेस्ट दिएर पास भएपछि मात्रै गाउन पाइन्थ्यो वा मुम्बई जानुपर्थ्यो । बज्ने सीमित प्लेटफर्म थिए । अहिले घरघरमा स्टुडियो छ । हरेक गायकको घरमा सानो स्टुडियो छ । घरमै काम गरेर गीत तयार पार्न सकिन्छ ।

कलाकार र गीत यति धेरै भए, कुन छानेर सुन्ने भन्नेमै स्रोता अन्योलमा छन् । तर, यसबीचमा राम्रा गीत–संगीत आइरहेका छन् । 

अब गीत कालजयी हुँदैनन् त्यसो भए ? 
क्वालिटी र क्लासका संगीत आइरहेको छ । नोटिस नभएको मात्रै हो । प्रविधि र प्लेटफर्मका कारण एउटै गीतमा कोही बस्दैन । गीत बनिरहेका छन्, सुनिरहेकै पनि छन् । हाइप मात्रै नपाएको हो ।

गीत चल्यो भने पनि तीन महिनापछि दर्शक/स्रोताले बिर्सिन्छन्, परिचय जोगाइराख्न महँगो पर्दै छ ?
समयले यस्तो बनाइदियो । जति नै भाइरल गीत बने पनि दुई–तीन महिनापछि त्यो गीत हराएर जान्छ । दर्शक/स्रोतामा आफ्नो उपस्थिति जोगाइरहने हो भने फेरि अर्को त्यस्तै गीत लिएर आउनुपर्छ । अडियो मात्रैले हुँदैन, भिडियो पनि चाहिन्छ । त्यसैले गीत–संगीत महँगो भइसकेको छ ।

यद्यपि, लोक फ्लेवरका केही गीत लामो समय चलेका पनि छन् । पाँच वर्षसम्म पनि ‘सुर्के थैली’ चलिरहेकै छ । अरू पनि लोकलयका गीत चलिरहेकै छन् । भलै, नारायणगोपालका जस्ता लोकप्रिय छैनन् । पहिला रेडियोमा बज्थे, अहिले मान्छेले मोबाइलमा सुन्छन् । तर, सुनिरहेका चाहिँ छन् ।

गीत–संगीतको प्याटर्न परिवर्तन भएको हो ? 
प्याटर्न होइन, एरेन्जमेन्ट चेन्ज भएको हो । अहिलेको पुस्ताले गाउने स्टाइल थोरै परिवर्तन गरेको छ । लोक र पप फ्युजन गरेको छ । अहिलेका भाइबहिनी अंगे्रजी, कोरियन गीत सुन्छन् । स्कुलिङ नै त्यस्तै भएपछि उसको सिर्जनामा त्यसको प्रभाव देखिनु स्वाभाविक हो । हामीले हिन्दी र नारायणगोपालका गीत सुन्यौँ । त्यसैले मेलोडी त्यस्तै आउँछ । अहिलेको पुस्ताले वेस्टर्न गीत सुन्छ । त्यसैले मेलोडी त्यस्तै आउँछ । अहिले गुगल सर्च गर्‍यो भने विश्वका विभिन्न देशका म्युजिक भेटिन्छ । त्यसैले त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।

नलेज लिनु त ठिक हो, चोरी नै हुन थाल्यो । यसले हामीलाई कता डोर्‍याउँदै छ ?
पूरै चोर्ने त होइन, कर्डस, प्रोगेसन, फ्लेवरचाहिँ लिएको देखिन्छ । यसको नकरात्मक असर पर्न थालिसक्यो । नेपाली टिपिकल मेलोडी के हो भन्ने मासिँदै गइसक्यो । तपाईं अमेरिका, अष्ट्रेलिया जानुस्, त्यहाँ तपाईंले पप, र्‍याप गीत गाए त्यहाँको नागरिकले वास्ता गर्दैैन । जब तपाईं लोकलयको गीत गाउनुहुन्छ, जोर मादल बजाएर झ्याउरे गीत गाउनुहुन्छ, तब उसले ध्यान दिएर सुन्छ । उसले नसुनेको कम्पोजिसन, बाजा उसले सुन्ने हो । अहिलेको जेनेरसनमा लोकलयलाई पछ्याउनेको संख्या निकै सानो छ । र, यसमा मात्रै केन्द्रित भएर यसबाटै दालभातको जोहो गर्न पनि कठिन छ । तर, जतिसुकै पपुलर होस्, हिट होस्, मिलियन भ्युज जाओस्, तर अन्ततः सम्झिने र दीर्घकालीन आयु हुने लोकगीतकै हो । पपगीतमा लाइफटाइम बाँच्न सकिँदैन । तपाईं आँखा चिम्लिएर दशवटा हिट गीत भन्नुस् त भन्दा हामीले सम्झिने गीत पपगीत हुँदैनन् । लोकलय र नारायणगोपालकै गीत हुन् ।

तपाईं अमेरिका सिफ्ट हुँदा ‘सान्नानी’जस्ता लोकप्रिय गीत थपिन सकेनन् नि ?
सत्य हो । यहाँ बसेजस्तो बाहिर बसेर काम गर्न सकिँदैन । जतिसुकै इफोर्ट लगाए पनि नेपालबाहिर बसेर यहाँ बसेर काम गरेजस्तो हुँदैन । सेड्युलमा लाइफ चल्छ । त्यसबाट थोरै समय निकालेर सिर्जनाको क्षेत्रमा काम गर्ने हो । त्यो पनि माहोल हुँदैन । यहाँ बस्दा हरेक दिन गायक, संगीतकार, गीतकार, एरेन्जर, निर्देशकसँग भेट हुन्छ । गीत–संगीतकै विषयमा छलफल र बहस हुन्छ । बाहिर त्यो माहोल हुँदैन । त्यसैले यहाँ रहँदा जति काम गर्न सकिन्छ, बाहिरबाट सम्भव हुँदैन ।

पश्चात्ताप हुन्छ ? 
पश्चात्ताप त हुँदैन । कारण, म त्यहाँ एक्लै बसेको छैन । श्रीमती र बच्चासँग बसेको छु । उनीहरूका लागि पनि म उपलब्ध हुनुपर्छ । काम गर्नुपर्छ । श्रीमान् र अभिभावकका हिसाबले त्यो मेरो जिम्मेवारी पनि हो । यो मेरो जिन्दगीको एउटा पाटो हो । यो मैले मिस गरेँ भने मेरो जिन्दगी अधुरो भएन र ? दुई दशक यो क्षेत्रमा बिताएपछि मैले मेरो परिवारलाई पनि समय दिनुपर्छ भन्ने लाग्छ । नेपाल आउँदा म पाँच/सात महिना बस्छु, गीत–संगीतमा काम गर्छु । उता जान्छु, उताकै रुटिनमा चल्छु । त्यसैले पश्चात्ताप नै त हुँदैन ।

नेपाल बसिरहेको भए ‘सान्नानी’, ‘तुलसी’जस्ता अरू नम्बर थपिन्थे भन्ने लोभ पनि लाग्दैन ?
मानवीय स्वाभाव हो, त्यो केही मात्रामा हुन्छ र स्वाभाविक पनि हो । बायोडाटा थपिन्थ्यो भन्ने लाग्छ । यहाँ आएका बेला ‘मुभीको गीत गाऊ’ भन्नुहुन्छ । यतै बसेको भए गाइन्थ्यो होला । ‘मुभीमा काम गरौँ’ भन्नुहुन्छ । यहीँ बसेको भए गरिन्थ्यो होला । धेरै काम गर्दा बायोडाटा अवश्य पनि थपिन्थ्यो होला ।

सिर्जना सकिएपछि रिमेकमा केन्द्रित हुने हो ?
सिर्जना सकिएर होइन, मार्केट नै त्यस्तै छ । बजारअनुुसार चल्नुपर्छ । पुराना गीतसँगै समय–समयमा नयाँ गीत पनि लिएर आउने हो । आइरहेको पनि छु । राम्रो गीत अहिलेको जेनेरेसनलाई सुनाउन पनि हो ।

रिमेक लिएर आउँदा आत्मसन्तुष्टि मिल्छ ?
काम गरिरहेको छु भन्ने हुन्छ । तर, रिमेक मात्रै लिएर आउने नयाँ सिर्जना नल्याउने हो भने सायद तपाईंले भनेजस्तो आत्मसन्तुष्टि हुन्छ कि हुँदैन भन्ने कुरा आउँथ्यो होला । यहीँ बसेका मेरा साथीभाइ न आफ्ना पुराना गीत नयाँ भर्सनमा ल्याएका छन् न त नयाँ गीत ल्याएका छन् । प्यासिभ भएर बसेका छन् । म किन रिमेक गरिरहेको छु भने, अझै केही गरौँ भन्ने हुटहुटी मसँग छ । यसले नयाँ काम गर्ने ऊर्जा पनि दिइरहेको हुन्छ ।

तत्काल तपाईंका कुनै चलचित्र आउँदै छन् ? 
छैन । कोभिड–१९ नआएको भए यति बेलासम्म चलचित्र आइसक्थ्यो । चलचित्रको गीत रेकर्डिङ भइसकेको थियो । स्क्रिप्ट लेख्न लेखकलाई पैसा दिइसकेको थिएँ । मेकरका रूपमा पनि चलचित्रमा काम सुरु गर्ने कुरा भइरहेको थियो । तर, त्यो रोकियो । रोकिएको त्यो कामलाई तत्काल निरन्तरता दिन केही समय अझै लाग्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro