यही वैशाख १२ गते नेपाली कांग्रेसबाट गल्कोट नगरपालिकाको प्रमुख पदको टिकट प्राप्त गरेपछि उमेदवारी मनोनयन गर्नजाने क्रममा मेरो एकजना शुभचिन्तकले सोध्नुभयो - भरत जी टिकट त लिनु भयो तर तपाईँको जित्ने आधार के? मैले सहजै उत्तर दिएँ - मेरो निष्ठा, मेरो पार्टी संगठन र पाँच राजनीतिक दलबीच बनेको गठबन्धन । उहाँले एकैछिन निधारमा गाँठो पार्दै भन्नुभयो - पैसाबिना चुनाव जित्न सकिएला र? मेरो सहज उत्तर थियो सकेकै हो र सक्नुपर्छ । अनि शुभकामना दिएर उहाँ आफ्नो बाटो लाग्नु भयो ।
उहाँ आफ्नो बाटो लागेपछि मलाई भने अलिकति चिन्ता, डर र भरोसा एकैसाथ लाग्न थाल्यो । मैले सोचेँ - के साँच्चै पैसाबिना चुनाव जित्न सकिन्न त ? मैले विगत सम्झेँ उसो भए मैले २०७४ को चुनाव कसरी जितेँ त ? त्यतिबेलै मलाई २०७४ सालको चुनावमा मेरो मातृपार्टी संगठन, संगठनका क्रियाशील एव साधारण सदस्य साथीहरू र गल्कोटे जनताको उत्साह झल्झल्ती आँखा अगाडि घुम्न थाल्यो । अनि ढुक्क भएँ - पैसाबिना पनि चुनाव जित्न सकिन्छ । हो, त्यसका लागि आफूमा निष्ठा, इमानदारी, लगनशीलता, धैर्य र निरन्तरता हुनुपर्छ जुन मैले विगत पैंतालीस वर्षदेखि पार्टी प्रतिबन्धित अवस्थामा हुँदा होस् वा खुला अवस्थामा अनुसरण गर्दै आइरहेको छु । त्यसमाथि अहिले त मलाई पाँच दलीय गठबन्धनको साथ छ ।
त्यसपछि लाग्यो यो अवस्थामा मलाई चुनाव जित्न र पुनः एकपटक गल्कोटे जनताको सेवामा आफूलाई समर्पित गर्न कुनै शक्तिले पनि अब रोक्न सक्दैन । यही सामर्थ्य र शक्तिलाई लिएर म मनोनयन दर्ता गर्न गएँ ।
मनोनयनका क्रममा मेरो मातृपार्टी संगठन र गठबन्धनका साथीहरूले जुन उत्साह र हौसला देखाउनु भयो त्यसपछि लाग्यो अब म दोस्रो पटक पनि गल्कोटको मेयर निर्वाचित त भैसकेँ तर जनअनुमोदन र घोषणालाई मात्र मैले वैशाख ३० गतेसम्म पर्खनु पर्नेछ ।
अहिलेको चुनावमा गल्कोटको सन्दर्भलाई हेर्ने हो भने मेरै पार्टीको एकजना पूर्वसदस्य (अहिले उहाँ पार्टीनीति उल्लंघन गरेकोले कारबाहीमा परि निलम्बन हुनुभएको छ) साथीले स्वतन्त्र उम्मेदवारको रूपमा उमेदवारी दर्ता गराउनु भएको छ । उहाँ तत्कालीन अवस्थामा पार्टीको अधिकारिक र जिम्मेवार कार्यकर्ता भएकोले त्यो उमेदवारी फिर्ता लिन र पार्टीको नीति र संसदीय अभ्यास एवं परम्पराविरुद्ध नजान पार्टी केन्द्र, जिल्ला, स्थानीय तह र व्यक्तिगतरूपमा मैलेसमेत कोसिस तरे पनि उहाँले मान्नु भएन । उहाँ किन त्यसरी पार्टी नीति र संसदीय परम्पराविरुद्ध नजानु पर्नेथियो ।
गौरव गर्न सकिने विगत र आशालाग्दो भविष्य भएको जिम्मेवार पार्टी कार्यकर्तामा यस किसिमको विचलन आउनु उहाँ स्वयंका लागि हानिकारक त छँदै छ लोकतन्त्र र संसदीय परम्पराको लागि पनि राम्रो होइन । उहाँले अझै पनि गहन विचार गर्नुहुनेछ र पार्टीको आधिकारिक उम्मेदवारलाई नै सहयोग र समर्थन गर्नुहुनेछ भन्नेमा म अझै पनि आशावादी छु ।
मेरो उमेदवारीपछि केही साथीहरूले मेरो पुन: उमेदवारी किन ? भन्ने प्रश्न पनि गर्नुभएको छ । त्यसबारेमा मैले यसै पत्रिका बाह्रखरीमार्फत स्पष्ट पार्ने प्रयास गरेको थिएँ । जीवनभर देश र जनताको लागि केही गर्ने अठोट लिएर आफ्ना व्यक्तिगत र पारिवारिक चाहना र अवसर तीलाञ्जलि दिएको राजनीतिक कार्यकर्ताले उचित समय आएपछि कार्यकारी पदम़ा जान र सोमार्फत आफूलाई जनताको सेवामा समर्पित गर्न खोज्नुलाई अन्यथा भन्न र मान्न मिल्ला र? मैले पनि गरेको त त्यही हो ।
झन्डै चारदशक देश, लोकतन्त्र र जनताको स्वतन्त्रता एवं समाज सेवामा आफ्नो जीवन अर्पण गरेको ममा आफ्नै नेतृत्वमा आफ्नै गाउँ ठाउँको सेवा गर्न इच्छा जागृत हुनुलाई अन्यथा ठान्न वा मेरो अति महत्त्वाकांक्षा भन्न मिल्ला र ? आफ्नो मात्रै दुनो सोझाउने र स्वदेशम़ा वा विदेशमा रहेर अर्थोपार्जन गरी मेरो व्यक्तिगत जीवनमात्र सुखी र समृद्ध बनाउने मेरो क्षमता नभएकाले होला र ? तर, मैले त्यो बाटो रोजिन र कहिले वकालत त कहिले समाजसेवामार्फत यो वा त्यो रूपमा गल्कोटको सेवामा नै आफूलाई समर्पित गरेँ । एक कार्यकालमात्र आफ्ना योजना र कार्यक्रम लागु गर्न पर्याप्त नहुने ठानेर नै संविधानमै एकजनाले लगातार दुई कार्यकालसम्म सेवा गर्न पाउने भनेर उल्लेख गरिएको छ । दुई कार्यकाल लेख्ने ठाउँम़ा एक कार्यकालमात्रै लेखेको भए त हुन्थ्यो तर लेखिएन । किनभने आफूले थालेका विकास निर्माणका कार्यलाई तार्किक निष्कर्षमा पुराएर ठोस परिणाम निकाल्न कम्तीमा पनि दुई कार्यकाल त चाहिन्छ । केही साथीले प्रथम कार्यकालम़ा गर्नुपर्ने जति गर्न नसकेको गुनासो गर्नुभएको छ । हुनसक्छ गर्नुपर्ने जति हुन नसकेको पनि होला तर साथीहरूले बुझिदिनुपर्ने के छ भने २०७४ सालम़ा हामीले काम सुरू गर्दा देशले भर्खर संघीयताको सुरुआती अभ्यास गर्दै थियो । त्यस अवस्थामा नगरपालिकाको भौतिक पूर्वाधारको अभाव, कर्मचारीको अभाव, हामी जनप्रतिनिधिको आफ्नै अनुभवको कमीलगायत शान्ति प्रक्रियाका थाती रहेका विषयको कारण पनि भने जति हुन नसकेको होला ।
त्यो म स्वीकार्छु तर जति भयो त्यो हामीहरूको अथक र अविरल प्रयासको परिणाम हो । हाम्रो नगरपालिका सुशासन, आर्थिक अनुशासन, सेवाप्रवाह, भौतिक विकासजस्ता सूचकांकहरूलाई लिएर नेपाल सरकारले गरेको नगरपालिकाको मूल्यांकन र स्तरीकरणमा देशभरमा सातौं र गण्डकी प्रदेशमा दोस्रो हुनुले पनि हामीले गरेका कामको पुष्टि गर्दैन र ?
त्यसैले मेरो बुझाइम़ा अधिकतम हुनसकेन होला तर औसतभन्दा माथि नै काम भएको छ र मभन्दा अर्को जो कोही भएको भए पनि हुने यति नै हो । मलाई मेरो काममा र गल्कोटे जनतामाथिको मेरो निष्ठाप्रति पूर्ण विश्वास र गौरव छ ।
संसदीय व्यवस्थामा पार्टीगत चुनाव हुनु नै सबैभन्दा उत्कृष्ट प्रक्रिया हो तर हाम्रो देश लामो समयको आन्तरिक द्वन्द्वबाट भर्खर शान्ति प्रक्रियामा प्रवेश गरेको र शान्ति प्रक्रियाका तमाम कार्यको निर्क्योल हुन अझै बाँकी रहेको अवस्थामा देशमा सक्रिय राजनीतिक शक्तिहरूबीच सहकार्य र सहमति हुनु राष्ट्रिय आवश्यकता मान्नु र ठान्नुपर्छ । सोही कुरालाई मनन गरेर नै पाँच राष्ट्रिय पार्टीले गठबन्धन गरेर चुनावमा जाने र आफूबीचका मतान्तरलाई थाती राखेर केही समय सम्पूर्ण ऊर्जा देश विकासम़ा लगाउने प्रयास र अठोट स्वरूप अहिलेको पाँचदलीय गठबन्धन निर्माण भएको हो । गल्कोट नगरपालिकाम़ा पनि पाँचदलीय गठबन्धन एक भएर चुनावम़ा जान लागेको छ जुन अति सान्दर्भिक र स्वागत योग्य छ । त्यसैअनुरूप संख्याको बाँडफाँट भएर मनोनयन समेत दर्ता गरी चुनावमा होमिएका छौँ । यस परिस्थितिमा गठबन्धन दलका सम्पूर्ण सदस्य साथीहरू र शुभचिन्तक एक भएर आगामी चुनावम़ा गठबन्धनका उमेदवारहरूलाई जिताउन गल्कोटवासी आमाबुवा, दिदिबहिनी र दाजुभाइलाई अनुरोध गर्छु । बाटो बिराएका साथीहरूलाई पुनः मूलप्रवाहमा आउन आग्रह गर्छु । राजनीतिक इमानदारी, निष्ठा, आआफ्नो मातृपार्टी संगठन र गठबन्धनमा संगठित राजनीतिक दलको संयुक्त प्रयास नै हामी गठबन्धनका साझा उम्मेदवारहरुको साझा शक्तिको स्रोत हो भन्ने मनन गर्न सबैमा आग्रह गर्छु ।