site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सपुतको ‘पिर’ले उधारेको फाँट

प्रकाश सपुतको गीत ‘पिर’ले नयाँ क्षितिज उद्घाटित गरेजस्तोे लाग्छ । कसैलाई लाग्दो हो हाम्रो मानमर्दन भयो । श्रव्यदृश्य मिश्रित गीती प्रधान ‘पिर’ सार्वजनिक भएपछि कसलाई पीर पर्यो त्यो भनिराख्नु जरुरी रहेन । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले ‘... को खुट्टे तान्’ भनेजस्तो टिप्पणी पढेपछि पीर पर्नेको पहिचान भइसक्यो । 

सपुतलाई धन्यवाद छ जसले यथार्थ उद्घाटित गरिदिए । तीप्रति सहानुभूति छ जसले सपुतको रचनाले आफूलाई मर्मान्तक चोट पुगेको माने । तर, यी दुवैले आत्मसमीक्षा गर्दा सिर्जनाको स्वतन्त्र अस्तित्वमा हानि वा मानहानि होलाजस्ता लाग्दैन । 

पिरले कसको मर्ममा घोच्यो ? त्यो बताइरहनु जरुरी छैन । तैपनि भनिदिऊँ – जसले लोकतन्त्रविरुद्ध आफ्नो राजनीतिक लक्ष्य बनायो, जसले संसदीय पद्धतिविरुद्ध सत्र हजार निहत्था नागरिकलाई बलीवेदीमा चढायो । यसभन्दा धेरैका अंगभंग भयो, टुहुरा भए, विधवा वा विधुर भए । कति बेपत्ता पारिए ? करिब तीन हजार ? 

यी सबैको जीवन मूल्य के हो ? मानिसको सबैभन्दा ठूलो अधिकार के हो ? बाँच्ने अधिकार । त्यही जीवन खोसियो यति धेरैको । प्रकृतिले दिएको जीवन खोस्ने अधिकार कसैलाई हुन्छ ? कुनै पनि नाममा चाहे त्यो ‘जनयुद्ध’ नाम दिइयोस् वा विद्रोह जीवन लुट्ने अधिकार कसलाई हुँदैन । 

नेपालमा दुर्भाग्य यस्तो आतंक वर्षौं रह्यो । नाम परिवर्तन भए, गरे तर आततायी कृत्य परिवर्तन गरेनन् । अनेक नाम र ढोंगी क्रान्तिकारी नारामा बनाइएका अनगिन्ती ती टुहुरा, ती अपांगता हुने, ती अभिभावक खोसिएका वा वैधव्य बेहोर्न बाध्य बनाइएका र अन्ततः पराश्रित भएकाहरुको कथाव्यथा न हो ‘पिर’ । अनि यी दुःखीको कथा व्यथा बोल्दा परिवर्तनको ध्वाँस दिने कथितहरुलाई किन पिर ? किन चिन्ता वा किन विरोध ? 

यति लेखिसकेपछि बुझ्नु भयो होला — ‘पिर’को वास्तविक सर्जक को हो ? प्रकाश सपुत त होइनन् । यसका सर्जक पुष्पकमल दाहाल हुन् जो आफूलाई ‘प्रचण्ड’ भनाउन चाहन्छन् वा ‘प्रचण्ड’ भनिदा गर्वले कुम हल्लाउँछन् वा उत्तरी छिमेकका अधिनायक माओको नाम प्रतिपल जप गर्छन् । 

नेपाली भन्नै पर्यो, उनी कास्कीतिर जन्मिएका रे । चितवनमा हुर्किएका, आरुघाटतिर पढाएका तर उनलाई माओको पहिचानमा मोह छ । उनको पहिचान माओ हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइन । यो फगत देखावटी नाम, जस्तै छद्म सिद्धान्त । 
फर्किएर हेरुन् हजारौँको जीवनको अँध्यारो जसको सर्जक स्वयं यिनले आफूलाई भेटेछन् । के यो असत्य हो ? त्यसो भए ऐना अघिल्तिर अनुहार नियालून् । तिनले असामयिक मृत्यु दिएकाको लाममा तिनी स्वयं वा तिनका परिवारका कुनै सदस्य वा आफन्त र प्रियलाई त्यसरी मार्न चाहन्थे वा चाहन्छन् ? 

हो, यहीँनिर प्रकाशको सिर्जना म्युजिक भिडियोको ‘पिर’मा पिर छ । पिर काल्पनिक हो कि सत्य ? सत्य हो भने अपांगता भएको पात्र (स्वयं प्रकाश) देह व्यापारमा (केशु पुन)  वा जहानको जीवनका लागि छोरी रुवाउँदै विदेश जान अभिशप्त (रक्षा पन्त) महिलाको व्यथा प्रकाश सपुतले कोरा कल्पनामा सिर्जना गरेको भन्न सकिएला ? प्रकाशको सिर्जनाको आधार कोरा कल्पनामात्रै हो त ?

यी पंक्तिमा यति धेरै सत्यारोपपछि पनि पुष्पकमल दाहालले अत्यन्त कम बोल्ने स्वीकृत वा सम्मानित भाषा यसपटक बोलेका छन् । यो भाषा चाहिँ प्रशंसनीय छ, लोकतान्त्रिक छ । के दाहाल लोकतान्त्रिक नेता हुन खोजेकै हुन् ? त्यसो भए उनलाई स्वागत छ । उनको दीर्घ राजनीतिक जीवनको स्वागत छ । 

उनले प्रकाश सपुतको सिर्जनालाई सिर्जनाकै रुपमा बुझ्न आग्रह गरे । भने – यो सिर्जना हो, पिरको रचनामा  विवाद गर्नु वा आपत्ति गर्नु आवश्यक छैन । दाहालले आफ्ना उग्र कार्यकर्तालाई भने, संयमित कार्यकर्ताको स्वरमा स्वर मिलाए । सबैका सामु भने, विश्वले सुन्ने गरी भने । उनको भनाइ सहिष्णु र लोकतान्त्रिक सुनियो । 

प्रायः ध्वंशको कठोर वाणी बोल्ने दाहालले यसपटक भने संयम बोले । क्षमाशील नेतृत्वको गुण देखाए । यो स्थायी चिन्तन हो वा होइन ? समयले पारख गर्ने नै छ । कहिले काहीँ दाहाल यस्तै छनकमनक  दिन्छन् ।     

नजिकैको उदाहरण, नेपाली कांग्रेस नेतृत्वमा वर्तमान सरकार बन्दा, बनाउँदा दाहालको उद्घोष थियो–‘संविधानको रक्षाको लागि, लोकतन्त्रको स्थायित्वको लागि’ । उनको भनाइमा कहीँ कतै माओवादी अधिनायकत्वको लेप थिएन, तानाशाहीको मन्तव्य थिएन, थियो त लोकतन्त्र । अनि लाग्छ – दाहाल लोकतन्त्रवादी नै हुन् कि ? हुन खोजे ? सत्य भविष्यमा उनैले उद्घाटित गर्लान् । 

लोकतन्त्रवादीको चाहना छ – प्रभावी रहून् र दाहाल लोकतान्त्रिक नेता बनून् । तर, उनका उग्र कार्यकर्ता र ‘बढी खरानी धस्ने’ तत् ठाउँका नेता दाहालको गर्धनका घाँडो भएका छन् । त्यसैले उनी न घाँटीको घाँडो फाल्न सक्छन् न माओवादी पुच्छर चुडाउन नै । घाँडो र पुच्छरले दमित दाहाल लोकतन्त्रको वकालत गर्न प्रायः हच्किन्छन् । हच्किएकै छन् ।  

प्रसंग त सपुतको ‘पिर’को हो । उनलाई धन्यवाद छ, किनभने उनले भूल स्वीकार गर्ने सन्देश दिए । आफ्नो सिर्जनामा कसैप्रति चोट पुर्याउने उद्देश्य होइन, सत्यमात्र खोलेको हो भने । चोट पुग्ने विषयमा ‘रियलाइजेसन’ गरे । यही न हो लोकतान्त्रिक चरित्र । 
सपुतको ‘पिर’ सुनियोमात्र भने त झन् कसैले आपत्ति गर्नुपर्ने लाग्दैन । जब दृश्य हेरिन्छ तब देह व्यापारको वाध्यता उद्घाटित हुन्छ र त्यस कृत्यको कारणमा आफूलाई ठान्नेहरुले आपत्ति प्रकट गर्छन्, धम्कीको भाषा सञ्जाल वा अन्य माध्यमबाट व्यक्त गर्छन् । हो तिनलाई सम्झाउँदै दाहालले भनेका होलान् – आपत्ति गर्नु छैन । 

एउटा प्रसंग याद आउँछ – जतिबेला नेपालमा बहुल विचार निषेधित थियो, राजनीतिक दलहरु प्रतिबन्धित गरिएका थिए । त्यस बेला राजाको नेतृत्वको निर्दलीय पञ्चायती शासन व्यवस्था थियो । थियो – श्री ५ को सरकार । अहिलेका युवालाई यो इतिहास अनौठो लाग्छ, अविश्वसनीय कथाजस्तै । किनभने पञ्चायतको अन्तिम दशकतिर जन्मिएको बालक नै आज ३० नाघेको पठ्ठो युवा छ । 

प्रतिबन्धित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय काडमाडौंको जमलमा थियो । कुराकानीको सन्दर्भ त याद छैन तर कांग्रेस नेता बासु रिसालले त्यतिबेलाका जल्दाबल्दा विद्यार्थी नेता बलबहादुर केसीलाई भनेको सम्झन्छु । रिसाल बित्नुभयो । नेता केसीलाई याद छ वा छैन ? । नेता रिसालले भन्नुभयो– ‘हेर बलबहादुर, कतिपय सत्य कुरा पनि सार्वजनिकरुपमा भन्न मिल्दैन, हुँदैन । जस्तै दुईजीउ महिलालाई देख्दा तिमी सोध्न सक्छौ– तिमीले के गरेर के भयौ ? हो, सत्य प्रमाणित हुन्छ तर सार्वजनिक गर्न वा भन्न हुदैन’ । भाव यही थियो । 

प्रकाश सपुतले पनि बुझे होलान् । सत्य, सत्य नै हो । उनले त्यही सत्य देखाइ दिए । चर्को विरोधको कारण पनि त्यही बाध्यात्मक सत्य थियो विद्रोहीको देह व्यापार । कसका कारण ? यही खोले उनले तर नेता रिसालले भनेजस्तै सत्य प्रमाणित हुन्छ, आफैँ बोल्छ तर सार्वजनिक भन्न मिल्दैन । कि कसो ? 

कथित ‘जनयुद्ध’का लडाकुको दुःखबारे धेरैले लेखे, विश्लेषण गरे । कथित लडाकुले लुटेको जीवनको गाथा कमैले लेखे ।  प्रकाशले पनि त्यही गरे । तर, सिर्जना कलाको शक्ति जसले धेरैलाई हल्लाइ दियो । पिरको सन्देशले एकथरीलाई पूरै प्रतिक्रियात्मक बनाइ दियो । 

सर्जक प्रकाश सपुतसँग अर्को आग्रह छ – जो उनैले खोलेको पाटो र फाँट हो । ‘पिर’मा विद्रोहीको अन्ततः वेदना छ ।  अब अर्को सिर्जना गर सपुत ‘विद्रोहको नाममा लुटिएका, मारिएका, बेपत्ता वा अंगभंग भएका र सहाराहीन बनाइएका टुहुरा, विधवाको कथामा श्रव्यदृश्य देऊ ! प्रतीक्षा रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro