
इटहरी । एनसेल बाह्रखरी गल्फअन्तर्गत युवा उद्यमी सम्मेलन (योङ आन्टरप्रेनर्स कन्क्लेभ) सम्पन्न भएको छ । शुक्रबार बाह्रखरी मिडियाले सुनसरीको इटहरीमा आयोजना गरेको सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा कुनैपनि बैंकले निर्धारित प्रिमियम परिवर्तन गरेर ब्याजदर बढाउन नपाइने स्पष्ट पारे ।
युवा उद्यमीहरूले कर्जाको ब्याजदरलगायतका विषयमा उठाएका प्रश्नमा उनले कर्जामा एकपटक निर्धारण गरिएको प्रिमियमदर बैंकहरूले परिमार्जन गर्न नपाउने स्पष्ट पारे ।
“प्रिमियम परिवर्तन गर्न पाइँदैन । बेसरेटअनुसार कर्जाको ब्याजदर त्रैमासिक रूपमा परिमार्जन हुन्छ । त्यसमा व्यवसायी स्पष्ट हुनुपर्छ । यदि कुनै बैंकले त्यसरी ब्याजदर बढाउँछ भने राष्ट्र बैंकको गुनासो सुनुवाइ पोर्टलमा गुनासो गर्न सकिन्छ,” गभर्नर अधिकारीले भने, “राष्ट्र बैंकले गुनासोका आधारमा एउटै बैंकको १२ हजार ग्राहकको ब्याज फिर्ता गरेको छ ।”
उनले राष्ट्र बैंकले प्रोजेक्ट फाइनान्सलाई अगाडि बढाउनेतर्फ कदम चालेको पनि बताएका छन् । घरजग्गा धितोमा नभएर परियोजनाको आधारमा कर्जा दिनुपर्ने उनले बताए ।
उद्यमीहरूले देशको मेरूपदण्ड भएको भन्दै उद्यमीहरूलाई आफूले जहिले पनि सम्मान गर्दै आएको बताए । उनले उद्यमशीलतालाई मर्न दिन नहुने पनि बताए । “उद्यमशीलता मरे देश अगाडि बढ्न सक्दैन” उनले भने, “उद्यमशीलताले आन्तरिक उत्पादन बढाउछ, रोजगारी बढाउछ, समग्र आर्थिक वृद्धि र समृद्धिलाई सघाउँछ ।”
कोभिडको मारको बेलामा पनि उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति केन्द्रिय बैंकले लिएका कारण उद्यमशीलता मर्न नपाएको पनि उनले बताए ।
अर्थतन्त्रमा केही असहजता देखिएपछि आयातमा केही कडाइ गरिएको उनले बताउ । तर, यो धेरै समयसम्मका लागि नभएको उनको भनाइ थियो । “अहिले नै नचाहिने वस्तुहरूलाई किन अगाडि ल्याउने भनेर रोकिएको हो । सधै रोक्न सकिँदैन,” उनले भने । उनले अहिले नै अर्थतन्त्रदेखि आत्तिनुपर्ने अवस्थामा भने नरहेको पनि दाबी गरे ।
राष्ट्र बैंक एक्सेस टू फाइनान्स बढाउन चाहेको उनले बताए । “हामीले डिजिटल फाइनान्सलाई अगाडि बढाएका छौँ । नगद कारोबारलाई न्यूनीकरण गर्ने अभियानमा छौँ । यसले सुशासनलाई बढावा दिन्छ,” उनले भने । युवा उद्यमीहरूले डिजिटल कारोबारलाई बढावा दिने विश्वास पनि उनले व्यक्त गरे । “तपाईं युवा उद्यमीहरूले सही तरिकाले आर्थिक कारोबार गर्नुहुन्छ र डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने ।
उद्यम गर्न प्रक्रियागत झन्झटिलो रहेको महसुस आफूले पनि गरेको उनले बताए । प्रक्रियालाई सहज र सहज बनाउने राष्ट्र बैंकले गर्न सक्ने विषयलाई सुधार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
“देशको अर्थतन्त्रको भविष्य उद्यमशीलता हो । उद्यमशीलताबाट नै अर्थतन्त्रले गति लिनेछ । आफूलाई संकुचन गर्ने सोच नराख्नुहोला । कहिलेकाहीँ अर्थतन्त्रमा उतारचढाव आउन सक्छ तर नआत्तिनुहोला,” उनले युवा उद्यमीलाई आग्रह गरे ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक व्यवसायीको सहयोगी मात्रै भएको बताए । युवाहरूले ल्याएको भिजनमा बैंकले फाइनान्स गरेर सहयोग गर्ने मात्रै भएको उनको भनाइ थियो ।
उनले नेपालको परिवर्तनका लागि युवाहरूले आफ्नो सोचमा नै परिवर्तन गर्नुपर्ने पनि बताए । “अहिले युवाहरूमा ‘माइन्ड सेट’ हैन ‘सेट माइन्ड’ हुँदै गइरहेको छ । हाम्रो माइन्ड सिमेन्टेड भएको छ,” बैंकर शेरचनले भने, “कुनै पनि काम गर्न खोज्दा घाटा हुन्छ र बिग्रिन्छ भन्ने माइन्ड विगतदेखि बनाइँदै आइएको छ । जसले हामीलाई पछाडि धकेलिसकेको छ । अब हामीले सेट माइन्डलाई चेन्ज गरेर माइन्ड सेट गर्न जरूरी छ ।”
उनले अहिले पनि नेपालको अधिकांश युवाका अभिभावक छोराछोरी विदेश जाने भन्दा खुसी भएर पार्टी गर्ने अवस्था रहेको बताए । “हामोमा युवा विदेश जाने सोचलाई परिवर्तन गर्न अझै केही समय लाग्छ । देशको जुन कुनामा गएर पनि परिवारलाई सोध्नुस्, सन्तान बाहिर जाँदै छ भन्दा खुसी हुन्छन् ।” त्यो सोच परिवर्तन गर्न युवा उद्यमीले नेतृत्व लिन जरूरी रहेको उनले बताए ।
उनले अब औद्योगिक नेतृत्व युवाबाट नै हुनुपर्ने बताए । त्यसमा युवाहरू अगाडि बढ्ने विश्वास आफूले लिएको शेरचनले बताए ।
कन्क्लेभमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष तथा लक्ष्मी ग्रूपपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले प्रदेश नम्बर १ को जीडीपीमा कृषि क्षेत्रको योगदान २१ प्रतिशत, उद्योगको १६ प्रतिशत योगदान रहेको बताए । यो क्षेत्रमा वेरोजगारको संख्या अन्य प्रदेशहरूको तुलनामा निकै कम रहेको बताए । प्राकृतिक स्रोत साधन, उद्योगहरूको हव भएको क्षेत्र भन्दै उनले यो क्षेत्रमा उद्यमशीलताको निकै सम्भावना रहेको बताए ।
यस क्षेत्रको १८ लाख बढी जनसंख्या आर्थिक गतिविधिमा रहेको भन्दै उनले यो क्षेत्र उद्यमशीलताका लागि ऊर्वर रहेको पनि रहेको छ ।
उद्योग व्यवसाय प्रवर्द्धन गर्न सहजीकरण गर्नुपर्नेमा नियन्त्रण गर्नुपर्छ भन्ने मान्यता नीति निर्मातामा अझै पनि रहेको उनले बताए । नीतिगत अस्थिरता प्रमुख समस्या रहेको भन्दै उनले एकपटक ल्याएको नीति न्यूनतम ५ वर्षसम्म परिवर्तन हुन नहुनेमा जोड दिए ।
तीन तहको सरकार रहेको र तीनै तहको सरकार राजस्वमुखी भएकोसमेत उनले बताए । तर, उद्यमशीलता प्रवर्द्धनमा ध्यान नदिइएको उनले गुनासो गरे ।
उनले वैदेशिक लगानी भित्र्याउन सहज बनाउने केही काम राष्ट्र बैंकबाट भएपनि अझै सुधार आवश्यक रहेको पनि बताए ।
जग्गाको मूल्यवृद्धि हुँदा उद्योग स्थापनामा निकै समस्या आएको भन्दै उनले उत्पादित वस्तुले सहज पहुँच पाउन नसकेको पनि उनले बताए ।
तीन तहको सरकारले तीन तहको नियम बनाउँदा लगानीमैत्री वातावरण बन्न नसकेको समेत उनले बताए ।
उद्योग दर्ता प्रक्रियालाई डिजिटलाइजेसनमा लैजानुपर्नेमा उनले जोड दिए । एक्सेस टू फाइनान्सको समस्या रहेको पनि उनले बताए ।
नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले मञ्चले विभिन्न कार्यक्रममार्फत युवा उद्यमी जन्माउने काम गर्दै आएको बताए । नेपालमा मात्रै नभई उनले जापान, दक्षिण कोरियालगायतका युवा उद्यमीहरूसँग मिलेर युवा उद्यमशीलताको विषयमा काम गर्दै आएको बताए ।
“हामीले देश पहिलो भन्ने मान्यता राख्दै आएका छौँ । युवा उद्यमीबीच सम्पर्क स्थापना गर्ने, उद्यमशीलता सम्बन्धी तालिम, सेमिनार, स्वदेशी उत्पादनको मेला आयोजना गर्दै आएका छौँ । हामीले स्वदेशी उत्पादनको प्रवर्द्धनमा पनि काम गर्दै आएका छौँ,” उनले भने ।
उनले छिटो छिटो नीति परिमार्जन हुने समस्याले युवा उद्यमीहरू प्रभावित हुँदै आएको बताए । उनले नीतिगत स्थायित्व हुनुपर्नेमा जोड दिए ।
नेपाल युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष युनेशराज श्रेष्ठले प्रदेश १ लाई आर्थिक रूपपमा युवाहरूले नै बलियो बनाउनुपर्ने बताए । “हाम्रो क्षेत्र काँचो छ । यो क्षेत्रमा धेरै सम्भावना छ । हामीले नै हो बनाउने,” उनले भने । युवाहरूलाई प्रोत्साहन गर्नेगरी नै मञ्चले पनि काम गर्दै आएको उनले बताए ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले यस कार्यक्रमले उद्यमीका समस्या समाधान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कोभिड १९ ले आक्रान्त पारेको बेलामा गरिएको यो कार्यक्रमले निजी क्षेत्रलाई उत्साहि बनाएको उनले बताए । बाह्रखरी मिडियाले दुई वर्ष अगाडि सगरमाथा क्षेत्रमा आयोजना गरेको गल्फ प्रतियोगिताले विश्वको ध्यान तान्न सफल भएको उनले बताए । उनले युवाहरू निराश हुन नहुने बताए । प्रदेशसहित समग्र देशको संमृद्धिका लागि निःस्वार्थ रूपपमा लागे धेरै काम गर्न सकिने बताए ।
नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष एवं युवा व्यवसायी महेश पौडेलले यस कार्यक्रमले युवा उद्यमीहरूको समस्या नीति निर्मातासम्म पुर्याउन सफल हुने बताए ।
नीतिगत समस्या र नैतिकताको घडेरी नै सबैभन्दा ठुलो चुनौती भएको उनले बताए । नीतिगत स्थायित्व नहुनु र व्यवसायमैत्री वातावरण समस्याको रूपपमा रहदै आएको उनले बताए । यी दुई विषयमा सुधार गर्न सकिए समृद्धिको आधार तय हुने बताए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपालमा धेरै राजनीतिक परिवर्तन भएको भन्दै अबको क्रान्ति आर्थिक समृद्धिका लागि हुनुपर्ने बताए । लामो समयसम्म आर्थिक विपन्नता हुँदा त्यसले असर पारेको भन्दै अब सम्पूर्ण रूपपमा मुलुकको समृद्धिको यात्रामा लैजानुपर्ने बताए । त्यसका लागि राजनीतिक दलका नेताहरूमा दृढ इच्छाशक्ति पनि हुनुपर्ने बताए ।
मुलुकमा अनुशासन नभएसम्म समृद्धि हासिल हुन नसक्ने पनि उनको भनाइ थियो । “यो मुलुक बन्छ, प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ भनेर युवाहरूलाई आत्मविश्वास जगाउन सक्नुपर्नेछ । त्यसका लागि केही गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ । राज्यले त्यसको वातावरण बनाउनुपर्छ,” उनले भने, “निजी क्षेत्रले पनि कसरी विदेश पलायन भइरहका युवाहरूलाई यही राख्न सकिन्छ भन्ने विषयमा राज्यसँग सहकार्य गर्नुपर्नेछ ।”
प्रदेश १ मा आर्थिक विकासका लागि पर्याप्त स्रोत भएको भन्दै त्यसको भरपूर उपयोग गर्न सक्नुपर्ने र लगानी आकर्षित गर्न सक्नुपर्ने उनले बताए ।
बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेस केसीले गल्फका माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन सघाउने उद्देश्यले विगत पाँच वर्षदेखि गल्फ प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले युवाहरूको हातमा देशको भविष्य रहेको भन्दै युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा युवा उद्यमी मञ्च इटहरीका अध्यक्ष कुमुद निरौला, मञ्च सुनसरीका निवर्तमान अध्यक्ष विनोद पौडेललगायतले युवा उद्यमीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।