site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यास च्याम्बरमा सबा घन्टा !

बिसौनीमा बस कुर्दै थिएँ । बस त आयो तर मलाई भिड छिचोल्ने आँट आएन । भिडमा उभिनुभन्दा पछि आउने बसलाई कुर्नु निको लाग्यो ।

आश्चर्य ! अर्को बस पनि त्यस्तै । अर्को बसमा भिडभाडसँगै झ्यालहरू बन्द थिए । फेरि पनि आँट गर्न सकिनँ । अनि वैकल्पिक बाटो अपनाएँ । 

तपाईंले अचेल सार्वजनिक यातायात अर्थात् ‘पब्लिक बस’ चढ्नु भएको छ कि छैन ? छैन भने त ठिकै हो । छ भने तपाईंले पनि मैलेजस्तै भोग्नु भएकै होला अनेक अप्ठेराहरू !

बस यात्रा मेरो दैनिकी हो । काममा हिँडेको दिन करिब तीन घन्टाको समय बसमा बित्ने गर्छ । यो दैनिकी अहिलेको मात्रै होइन बितेको करिब चालीस वर्षदेखिको हो । 

विसं २०४० सालतिर गौशालामा लाग्थ्यो मर्सिडिज कम्पनीको मिनिबस । चाबेल, चुच्चेपाटीदेखि गोठाटारसम्मका यात्रु गौशाला झर्थे, बस समाउन । आखिर सहर जो पुग्नु छ ! 

किनमेल गर्ने हुन् वा विद्यार्थी, घुमघाम गर्ने हुन् वा कर्मचारी, पशुपति दर्शनका लागि आउने तीर्थालु हुन् वा आम नागरिक । सबैका लागि सहज थियो, गौशालामा रोकिने बस । 

त्यस्ता बिसौनी अरू ठाउँ पनि थिए । अरू ठाउँमा पनि मानिसको लर्को उस्तै नै थियो ।

गाडीमा भिड त्यो समयमा पनि हुन्थ्यो । अफिस समयमा भिड साझा र ट्रली बसमा मात्र होइन टंगालतिर जाने तीनपाङ्ग्रेमा पनि हुन्थ्यो । कीर्तिपुर जाने बसको भिड लाखौं विद्यार्थीले भोगेकै हुन् ।  

गाडीमा आजको भिड भोगिरहँदा त्यो भिडको सम्झना अनायास आयो ! तर, त्यसबखतको भिडमा आजजस्तो सकसको सम्झना छैन । आज सार्वजनिक यातायातमा चढिरहँदा ती दिनहरू सम्झिन्छु । त्यो बेला सिंगो बस गुम्सिएको मलाई अनुभव छैन ! 

परन्तु आज दिनरात गुम्सिएको गाडीमा यात्रा गर्न बाध्य छन् राजधानीमा बस्दै आएका यात्रु ।

१५/२० दिन अघिको एउटा बिहान । बस चढियो । म बसेको ठाउँबाट माइतीघर पुग्न २५/३० मिनेटभन्दा बढि लाग्दैन तर जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वरको जामले गर्दा माइतीघर पुग्न ४५ मिनेटदेखि सबा घन्टासम्मको समय खाइदिन्छ । कहिलेकाहीँ पौने दुई घन्टा पनि बसमै बितेको नमीठो अनुभूति छ ।

त्यो दिन बिहान साँढे ७ बजेतिरको समय भएको र खासै भिड नहोला भन्ने लागेर झ्यालतिर नबसी छेउकै सिटमा बसेँ । तर, मैले सोचेजस्तो भएन । पेप्सीकोलासम्म पुग्दा बसको सिट भरिएर उभिनेहरू पनि सीटमा भन्दा बढी भए ! 

मलाई प्रख्यात व्यंग्यशिल्पी भैरव अर्यालको ‘सीट बीस भए भिड सौ तकको...’ ! सम्झना भयो । काठमाडौंको बसमा यात्रुले भोग्नुपर्ने समस्या अर्यालको पालोमा पनि उस्तै रहेछ ! त्यसमा कुनै कमी आएकोजस्तो लाग्दैन ।

त्यो दिन बिहानको समय भए पनि, बाहिर चिसोचिसो भए पनि, बस भने नराम्ररी गुम्सिएको थियो । छेउमा बस्नेलाई बिहानबिहानै ‘झ्याल खोल्नुस् न’ पनि भन्न सकिएन । छेउतिर बस्नेले त्यो गुम्सिएको ठाउँमा विवेक प्रयोग गरी थोरैथोरै हावा आउनेगरी झ्याल खोलेको भए पनि त हुन्थ्यो ! त्यो उनीबाट भएन । बरू उनले आफूले उनेको मास्कमाथि अर्को मास्क डब्लिए । 

म डबल मास्कमै थिएँ । कोरोना कहर पछिको समयमा जहिले गाडी चढ्नु परे पनि डबल मास्क लगाउने बानीजस्तै भएको छ, मेरो । तर झ्याल नखुल्दा डबल मास्कमा झन् सकस भयो । 

तर, के भन्ने ! कसरी बोल्ने ! बोल्न सकिनँ ।

झ्यालतिर बसेका ती मानिस तीनकुनेमा झरे । त्यसपछि देब्रे सर्दै मैले झ्याल ह्वाङ्ग पारेँ । बडो आराम मिल्यो । कसैलाई जाडो भए होेस् ! गाडी ३० सिटको भए पनि झ्याल र ढोका दुवै बन्द भएकाले सकसपूर्ण गुम्स्याहट स्वाभाविक थियो । 

ठूलो बसमा त यात्रुहरूले यस किसिमको सकस भोग्नुपर्छ भने माइक्रोबस र ग्यासबाट गुड्ने नीलो माइक्रोमा यात्रा गर्ने यात्रुको अवस्था यत्तिकै अनुमान गर्न सकिन्छ । यात्रुको के हाल हुँदो हो त्यो जीरे गाडीमा ?

त्यता कसले विचार पुर्याउने हो ? आम नागरिकको स्वास्थ्यमा त्यस किसिमको यात्राले असर पार्छ कि पार्दैन ? त्यतातिर कसैले केही बोलेको पनि थाहा छैन । कुनै बहस र छलफल भएको पनि थाहा छैन !

कोरोना महामारी निमिट्यान्न नभएकाले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा मापदण्डका कुरा बारम्बार गरिन्छ । यस्ता कुरा भाषणका बेला खुबै हुँदै आएको देखिन्छ । यति हुँदा पनि सार्वजनिक यातायातको उकुसमुकुस भिडभाड देख्दा लाग्छ ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ गएको छ कतै घाँस चर्न !

बसमा भिडभाड नहुने हो भने यो समस्या रहन्न होला । चालीस सिटको बसमा चालीस जनानै बसे झ्याल बन्दनै भए पनि खासै सकस नहोला । तर, ४० सिटमा ८० मानिस कोचेर झ्याल ढोका सबै थुने, त्यो ग्यास च्याम्बरभन्दा कमको होला र !

चार पाँच दिन अघिको कुरो हो । साँझपख कोठा तिर फर्किँदा बसमा यात्रु थपिँदै गए । बस बेलुन त थिएन, हावा भर्दै जाँदा तन्किने । मान्छे मान्छेको चाङ इँटाझै लाग्दै गयो बसमा ।

बसका सबै झ्याल बन्द थियो । केही खुलेका थिए, सिरसिर हावामात्र छिर्ने गरी । बढ्दो भिडका बीचमा त्यो सिरसिरे हावा कता हरायो हरायो ! बस गृुम्सिएर झ्यालका सिसामा बाफ जमिसकेको थियो । 

साँझ ७ बजे । बाहिर अँध्यारो बाक्लिँदो थियो । भित्र बाक्लो गुम्स्याइ ! सायद त्यही गुम्स्याइले एकजना यात्रुलाई बमन हुने संकेत देखापर्यो । उनी हतारहतार झ्याल खोल्न थाले । तर, कति दिनदेखि नखुलेको झ्याल एकै हातमा खुलेन । जोड लगाउनु पर्यो । जबै झ्याल खुल्यो ह्वारारारा ताजा हावा छिर्यो बसमा । संंभवतः सबैले सजिलो महसुस गरे ।

र, ती यात्रुले पनि झ्यालबाट टाउको निकालेर ओकले ! अनि केही बेरपछि सन्चो मानेर सिटमा टाउको टेकाए ।

यो यथार्थ हो । बसमा गुम्स्याइलो भिडभाड नभएको भए, झ्यालहरू अलि राम्ररी, दोहोरो हावा चल्नेगरी खुलेको भए, ती बान्ता गर्ने मानिसलाई त्यति गाह्रो हुने थिएन होला । ताजा हावाको ओहोरदोहोरले तिनलाई मात्र हैन सबैलाई सहज हुनेथियो । 

तर हैन, मानिसको असीमित भीड र गुम्सिएको वातावरण नहोस् भन्ने त्यहाँ कसैले चाहँदै चाहेनन् । न त यात्रुले । न त चालक र सहचालकले नै । चालक सहचालकले त  यात्रुको हित किन चाहन्थे र ! तिनले चाहने त आफ्नो हित मात्रै न हो । 
बसमा कोही बोल्दैथिए : ‘हैट ! लोकल बसमा पनि छाद्ने ? कस्तो देहाती मानिस होला ।’ 

मानिस देहातको भए पनि, सहरको भए पनि । राजधानीको भए पनि राजविराजको भए पनि, यात्रा गर्दा तिनले सहज वातावरण खोज्छन् नै । तर काठमाडौंका सार्वजनिक यात्रु बसहरूमा त्यो सहजपन भेटिँदैन । काठमाडौं जति घरैघरले गुम्सिँदै गएको छ, त्योभन्दा बढी यात्रा गर्ने सार्वजनिक यातायातहरू गुम्सिएर मानिसलाई दुःख दिँदै आएको छ ।

काठमाडौंमा पैदल यात्रा सम्भव देखिन्न । ८/१० किलोमिटर टाढा बसोबास र कार्यालय भएकाहरूका लागि बस यात्राको विकल्प देखिन्न । यो पंक्तिकारजस्ता धेरै यात्रु छन्, जो दैनिक ग्यास च्याम्बरझैँ बसमा यात्रा गर्न बाध्य छन् । के, हामीजस्ताले सधैँ यस्तै भोग्ने हो ? कोरोना कहरको यो असहज परिस्थितिमा निस्फिक्री यात्रा गर्ने अवस्था कहिले होला ! 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro