site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ,विशेष
‘आन्तरिक पर्यटकलाई उत्साही बनाउन जरुरी छ’

कोभिड १९ का कारण पर्यटन क्षेत्रमा ठुलो असर परेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० को अभियान चलेको थियो ।  सोही कारण पर्यटन क्षेत्रमा धेरै लगानी भएको थियो । गण्डकी क्षेत्रका मात्रै नभई बाहिरका मान्छेहरु पनि पोखरामा आएर पर्यटन क्षेत्रमा लगानी गरेका थिए । तर, दूर्भाग्य, अहिले धेरै व्यवसायी धरासायी बन्नुभएको छ । लामो समयदेखि पर्यटन क्षेत्रमा लगानी गरिरहनुभएकाहरु पनि मन्द अवस्थामा हुनुहुन्छ । 

अहिले पर्यटन क्षेत्रमा भएको लगानी गाह्रो अवस्थामा छ । आगन्तुक नभएपनि आफ्ना कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ, होटेल मेन्टेन राख्नुपर्ने अवस्था छ ।  पोखरा क्षेत्रमा लगानी गर्नुभएका करिब २ सय जना व्यवसायी पलायन भइसक्नुभएको छ ।  ठूला व्यवसायीहरुले भने आफ्नो व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ । 

विदेशी पर्यटक नहुँदा पनि आन्तरिक पर्यटकका कारण यो व्यवसाय अहिले अगाडि बढिरहेको छ ।  अहिले पोखरामा आन्तरिक पर्यटकको नै चहलपहल बढी देखिन्छ । आन्तरिक पर्यटकलाई उत्साहि बनाउन जरुरी छ । भदौं, असोज लागेपछि सरकारले केही जहजता प्रदान गरेपछि आन्तरिक पर्यटन चलायमान हुँदै आएको छ । 
आन्तरिक पर्यटक आइदिनाले नै २० प्रतिशत जति पर्यटन क्षेत्र चलायमान बनेको छ । 

आन्तरिक पर्यटककै कारण यो क्षेत्र विस्तारै चलायमान हुँदै आएको छ । आन्तरिक पर्यटकहरुले के चाहनुहुन्छ, त्यसतर्फ व्यवसायीले ध्यान दिनुपर्छ ।  म अटोमोबाइल क्षेत्रमा लागेको २२–२३ वर्ष नै भइसक्यो । पर्यटन क्षेत्रमा लागेको ४–५ वर्ष मात्रै भएको छ । पहिलेदेखि नै पोखराको पर्यटन क्षेत्र राम्रो थियो ।  पर्यटनका लागि सुन्दरताको क्षेत्र हो, गण्डकी । लामो समयसम्म एउटा व्यवसायमा आवद्ध भएपछि पर्यटन क्षेत्रमा पनि जोडियौं । अहिलेको समयमा पारेको अप्ठ्यारोले गर्दा एक दुई वटा क्षेत्रमा मात्रै आवद्ध हुने होइन अरु क्षेत्रमा पनि लगानी गर्नुपर्छ भनेर नयाँ क्षेत्रमा प्रवेश गर्न लागेका छौं । 

यो संकटले एउटा क्षेत्रमा मात्रै लाग्ने होइन भन्ने सिकायो । २८ वर्षदेखि अटोमोबाइल क्षेत्रमा लाग्दा, त्यही क्षेत्रमा मात्रै लाग्नुपर्छ, अन्य क्षेत्रमा लगानी गर्दा फेल हुन्छौं भन्ने लाग्थ्यो ।  तर, जे जति सकिन्छ अरु क्षेत्रमा पनि लगानी गर्नुपर्छ भन्ने यो संकटले सिकायो ।  सरकारको मायाँ, हौसला, प्रोत्साहन हामीले नखोजेर पनि होला । त्यसैले अहिले महिला उद्यमीका लागि १५ लाख रुपैयाँसम्म बिना धितो ऋण दिने कुरा आएको छ । पर्यटन, हस्तकला वा अन्य जुनसुक क्षेत्रमा पनि लाग्ने महिलाका लागि ४ देखि ५ प्रतिशतसम्मको ब्याजदरमा रहेछ । 

त्यसैले मैले पनि अहिले कृषिको क्षेत्रमा लगानी गर्ने प्रयास गरिरहेको छु । कृषि क्षेत्रमा अर्गानिक खेती गर्ने योजना बनाएको छु । त्यसबाट केही जनालाई रोजगारी पनि मिल्छ । आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले प्रोत्साहन दिनुपर्छ । आन्तरिक पर्यटककै कारण हाम्रो व्यवसाय चलेको छ भने हामीले पनि उहाँहरु (आन्तरिक पर्यटक) लाई खुसी बनाउने खालका कुराहरुलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ । 

विशेषगरी सरकारले नै पर्यटन क्षेत्रलाई अगाडि बढाउनुपर्छ, पर्यटन क्षेत्रबाटै अगाडि बढ्न सकिन्छ भन्ने जुन उद्देश्य थियो । अहिलेको सन्दर्भमा आन्तरिक पर्यटनलाई नै प्रबर्द्धन गर्नुपर्छ ।  विदेशमा मानव निर्मित वस्तुबाटै आम्दानी गरिरहेका छन् । हाम्रो प्राकृतिक रुपमै सुन्दर छ, गण्डकी क्षेत्र नै । चारै तिर हिमाल छ, माछापुच्छ«ेको छायाँ देखिने फेवा ताल छ, जताजतै डाँडाकाडाँ, हरियाली वातावरण छ, यही क्षेत्रलाई फरक तरिकाले गन्तव्य बनाउनुपर्ने छ । नयाँ गन्तव्यको पनि आवश्यकता छ । 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा थापाको यस्तो धारणा आएको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।  अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।


 
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०९:५४