
पोखरा । डेरी उत्पादनले बजार नपाउँदा कास्कीका किसान र व्यवसायी मर्कामा परेका छन् । व्यवसायी निरज श्रेष्ठले कोभिडपछि उत्पादनले बजार नपाउँदा किसान निकै मर्कामा परेको बताए ।
कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी डेरी व्यवसायी श्रेष्ठले ले आफ्ना समस्या यसरी सुनाए–
कोभिडको असर त पर्ने नै भयो । पहिलो लकडाउन देखिको पहिलो हप्तामा नै बिक्री वितरण र संकलनमा असर पर्यो ।
बिक्री वितरण २५ प्रतिशतमा झरेको थियो । बिक्री बजार चाहिँ अहिले बल्ल ६० प्रतिशत बजार रिभाइभ भएको छ । आन्तरिक पर्यटकको अलिअलि चहलपहल छ । हाम्रो बिक्री बजार होटेल पनि थियो ।
संकलनतर्फ चाहिँ मेन सिजनतर्फ जाँदै थियो, दुध संकलन गरेर मेन सिजनको लागि पाउडर बनाएर राख्ने भन्ने हुन्थ्यो । अहिले सबै डेरीमा फ्याट र पाउडर स्टकमा छ । यसको प्रभाव कहाँ पर्यो भन्दा किसानहरुलाई भुक्तानी दिन सकिएको छैन । यसले किसानहरु प्लायन भएको अवस्था पनि छ । भुक्तानी नआएपछि उहाँहरुले दानाहरु घटाउनुभयो, गाइवस्तुको प्रोडक्सन घट्दै गयो, यसले समग्रमा दुधको प्रोडक्सनमा लङटर्ममा असर गर्दछ ।
किसानदेखि उद्योगसम्म असर परेको छ ।
जो बजारमा हुनुहुन्थ्यो, उहाँहरु गाउँ फर्कनुभयो । त्यसले उपभोग घट्यो । विद्यालयहरु बन्द भए । संस्थाहरु बन्द भए । दुध बिक्री हुने भनेको चिया पसलहरु थिए, त्यहाँ पनि मानिसहरुको आवतजावत, बाहिर गएर चिया खाने संस्कृति घट्यो ।
अर्बौँको संख्यामा स्टक भएको छ । यसले भुक्तानीमा समस्या हुन्छ । डेरी उद्योगमा दुइतीन वर्षयता बल्ल पोजिटिभ प्रभाव देखिएको थियो । अहिले कोभिडले ८–१० वर्ष पछि यो उद्योगलाई नै पछाडि धकेल्ने हो कि जस्तो देखिएको छ ।
डेरी उत्पादन स्टकमा बस्दाखेरि, उहाँहरुसँग स्टक राख्ने ठाउँ पनि छैन । उपभोग भएन भने कुहिएर पनि जाने भयो नि ।
राज्यले केही गरिदिएको भए हामी यसरी डिस्कसनमा बस्दैनथ्यौँ होला । तर, राज्य भनेको अभिभावक हो ।
अहिले सबैसँग स्टक भइरहेको स्थिति छ । हामीले के सहयोग खोजेका हौँ भने, अन्तर्राष्ट्रिय बजारमा राज्यले पहल गरिदिए हामी एक्स्पोर्ट गर्न तयार छौँ ।
स्थानीय स्तरमा अहिले बटर स्टकको एकदमै समस्या छ । पाउडरको स्टोरेज त हुन्छ । कोल्ड स्टोरको अभाव भएको महसुस गरेका छौँ । भण्डारणको समस्या छ । इन्डष्ट्रिलाई होल्ड गरिराख्न पनि सकिँदैन । होल्ड गर्दा भोलि गएर इन्डष्ट्रिआफैँलाई पुग्दैन । अर्कातर्फ किसानले भुक्तानी नपाउने समस्या छ ।
कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो ।
सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।
एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।