site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यवसाय बढाएको माछापुच्छ्रे बैंकको नाफा सामान्य घट्यो 

काठमाडौं । व्यवसाय विस्तार हुँदा पनि आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी हुन नसक्नु तर प्रोभिजनमा भएको वृद्धि र सञ्चालन खर्च बढ्दा माछापुच्छ्रे बैंकको मुनाफा सामान्य घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिकोभन्दा २.३२ प्रतिशतले कम हो । बैंकले गत आथिक वर्षको यही अवधिमा ८२ करोड १८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले पुस मसान्तसम्ममा एक अर्ब ९८ करोड ८४ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिकोभन्दा ०.०८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा बैंकले एक अर्ब ९८ करोड ६८ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Argakhachi Cement Island Ad

यस्तै, समीक्षा अवधिमा बैंकले ५९ करोड ३१ लाख ९५ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गर्दा सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्थाको लागि गरेको प्रोभिजन २१ करोड ३२ लाख नौ हजार हजार रहेको छ । पुस मसान्तमा बैंकको खुद सञ्चालन आम्दानी दुई अर्ब ५० करोड ८० लाख ५५ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी ५२ करोड ६३ लाख ८३ हजार रहेको थियो भने बैंकले सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाको लागि १७ करोड ४८ लाख प्रोभिजन गरेको थियो । जसले गर्दा बैंकको खुद सञ्चालन आम्दानी दुई अर्ब ५३ करोड १६ लाख ६५ हजार रहेको थियो ।

समीक्षा अवधिमा बैंकले कर्मचारी र अन्य प्रशासनिक खर्चपछि एक अर्ब १५ करोड ५१ लाख ४३ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । जसबाट ३६ करोड ८३ लाख ४१ हजार कर बुझाउँदा बैंकको दुई करोड ३४ लाख २२ हजार डिफर्ड ट्याक्स रहेको छ ।

बैंकले समीक्षा अवधिमा उल्लेख्य रुपमा व्यवसाय विस्तार गरेको छ । बैंकले पुस मसान्तमा एक खर्ब १८ अर्ब २३ करोड ७० लाख ५७ हजार निक्षेप संकलन गरेर एक खर्ब तीन अर्ब ९२ करोड ८६ लाख ३८ हजार कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार निक्षेप संकलन गरेर ९२ अर्ब ५२ करोड ९२ लाख २७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १३.५८ प्रतिशतले निक्षेप बढाउँदा १२.३२ प्रतिशतले कर्जा विस्तार गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५.२४ प्रतिशत रहेको बैंकको स्प्रेड रेट समीक्षा अवधिमा ४.१९ प्रतिशत रहेको छ । यस्तै, बैंकको आधार ब्याजदर ९.६४ प्रतिशतबाट घटेर ७.५६ प्रतिशत कायम हुँदा कोभिड प्रभावले निष्कृय कर्जा बढेको छ । गत वर्षको सोही अवधिमा ०.४५ प्रतिशत रहेको निष्कृय कर्जा समीक्षा अवधिमा ०.७६ प्रतिशत कायम भएको छ । बैंकको सीसीडी रेसियो ७८.५३ प्रतिशत र पुँजीकोष अनुपात ११.९६ प्रतिशत रहेको छ ।

नौ अर्ब पाँच करोड ३० लाख ९५ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ४६ करोड २१ लाख ४८ हजार र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा ५५ करोड ३८ लाख ३७ हजार रहेको छ । पुस मसान्तसम्म बैंकले ४५ करोड २२ लाख ५३ हजार वितरणयोग्य मुनाफा आर्जन गरेको छ । बैंकले रेगुलेटरी रिजर्भमा  १८ करोड ३ लाख ५८ हजार छुट्ट्याएको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १६.०१ गुणा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्